• ७ मंसिर २०८१, शुक्रबार

प्रथाजनित चाड ढ्वाङ्कुमो

blog

किराँत वाम्बुले राईहरूले यो वर्ष पनि २०८१ भदौ पहिलो साता थुम थुममा जुटेर ढ्वाङ्कुमो चाड मनाएका छन् । यो चाडको रौनक दसैँ पूर्णिमा (कोजाग्रत पूर्णिमा) को रातसम्म लम्बिने छ । भाद्रपूर्णिमा अर्थात् जनैपूर्णिमा तिथिमा पर्ने यो चाडलाई वाम्बुले राईले 

ढ्वाङ्कुमपुर्ने भन्दछन् । ढ्वाङ्कुमो मनाउने मूलथलो ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३, वामद्याल     (उँबुगाउँ) को ढ्वाङ्कुमटार हो । यस धार्मिक स्थलमा दुई दिन धुमधामसाथ ढ्वाङ्कुमो मनाउने परम्परा छ । यसै गरी वामद्याल आसपास तारकोम र फोकुल गाउँ तथा वडा नं. २ को वाक्सा र वडा नं. ५ को उदैपुर गाउँमा पनि यो चाड मनाइएको छ । दुधकोशीपारि खोटाङको हलेसीतुवाचुङ नगरपालिका–१, झाप्पागाउँमा विधिपूर्वक यो चाड मनाइएको छ । सुनसरीको धरान–१७, साकेला सांस्कृतिक पार्क, तेह्रथुमको सिम्ले र ललितपुरको सानो हात्तीवनमा विधिवत् रूपमा लिब्जुबाजेको पूजा गरेर धुमधामसाथ यो चाड मनाइयो । मोरङको पथरी, उदयपुरको कटारी र बेलायतमा भने पूजाआजा नगरी सामूहिक भेला भएर चाड मनाइएको छ । यसरी गाउँदेखि सहरसम्म, स्वदेशदेखि विदेशसम्म यो ढ्वाङ्कुमो चाडले वाम्बुले राईलाई संस्कृतिबद्ध तुल्याएको छ ।

परम्पराको निरन्तरता

वाम्बुले राई समाजमा ढ्वाङ्कुमो चाडलाई ढ्वाङ्कुम पनि भनिन्छ । भाद्रपूर्णिमा तिथि ढ्वाङ्कुमपुर्ने भनेर मनाइने सबैभन्दा ठुलो सामूहिक चाड हो । ‘ढ्वाङ्कुम’ को अर्थ प्रकृति भन्ने हुन्छ, जुन वर्षाऋतुको अन्त्यतिर पर्छ । बर्खे बालीनाली पाक्दै गएकाले यो नयाँ बालीको पूजा आरम्भ गर्ने चाड हो । पाक्दै गरेका अन्नबाली कागुनो, मकैको झुत्ता, काँव्रmा, जाँड, जिर्मा, विभिन्न परिकार आदि बनाएर मूलदेवता लिब्जु, भुम्जु, दिभुज र अन्य देवीदेवता, सिकारीबेखारीलाई चढाउने परम्परा छ ।

मूलथलोमा रहेका वाम्बुले राईले दुई महिनाअघि धुलेपुर्ने (ज्येष्ठपूर्णिमा) देखि ढ्वाङ्कुमपुर्नेको पूर्वतयारी गर्दै आएका हुन्छन् । थितिले बाँधेका राईपगरी, गौरुङ, कार्बारी, मुखे, तालुके, जिम्बुवाल छन् । उनीहरूले ढ्वाङ्कुमो सामाजिक प्रथाजन्य थितिहरू डो¥याउँदै आएका  छन् । ब्यागारी उठाउनेदेखि कामको बाँडफाँट गर्ने गर्छन् । हरेक टोलमा आआफ्ना रीत छुट्याइएको हुन्छ । कुन टोलले के र कस्तो सामग्री पु¥याउने भन्ने जिम्मेवारी बाँडफाँट गरिएको हुन्छ । टोलुम (थुम्से) मा एक एक घैला रक्सी या जाँड, ब्वाम्ला (विशेष रीत) लिएर पुग्नु पर्छ/पुग्ने गर्छन् ।

ढ्वाङ्कुमो गर्दा चार जना मुन्दुमी नाक्सो (कुलपितृ र प्रकृति पुजारी) रहन्छन् । उनीहरूलाई सिसी नाक्सो, ढ्वाङ्कुर्मो नाक्सो, काउर्मो नाक्सो र बुलु नाक्सो भनिन्छ । नाक्सोहरू पितृको इच्छा अनुसार समुदायले चुनेका सांस्कृतिक विशिष्टता प्राप्त विशेष व्यक्तित्वहरू हुन्, जो रीत पु¥याएर मुन्दुम गाउँछन् । समुदायले मुन्दुमी रीत लिएर परम्परा निरन्तरताको आग्रह गर्छन् । नाक्सोले परम्परागत नियम पालना गर्न सबैलाई सतर्क गराउँछन् । नाक्सोहरू उपवास बस्छन् । निराहार बस्ने चार नाक्सोको भूमिका यसरी उल्लेख गर्न सकिन्छ । 

सिसी नाक्सो 

ढ्वाङ्कुम पूजाका निम्ति सबैभन्दा प्रमुख सिसी नाक्सोलाई मानिन्छ । तिनले धनु, काँड भिरेका हुन्छन् । प्रकृतिलाई बोलाउने र पुकार्ने गरिन्छ । सिसी नाक्सोले धनु र काँड भुइँमा गाडेपछि कसैले छुन हुँदैन । प्रकृतिको संवाहक तŒवलाई बोलाएर बसाइएको हुन्छ । 

बुलु नाक्सो 

कुलपितृको मानमनितो गर्ने मुन्दुमीलाई बुलु नाक्सो भनिन्छ । यिनले पुर्खाको नामसमेत फलाकेर सामूहिक रूपमा बोलाउने, उनीहरूको भागभुरो दिने र आशिष÷भर माग्ने गर्छन् । नयाँ बाली पाकेपछि दिइने भागभुरो चढाउँछन् । 

ढ्वाङ्कुर्मो नाक्सो 

ढ्वाङ्कुम प्रकृति हो । प्रकृतिलाई पूजा गर्ने र प्रकृतिसित अन्तरनिर्भर गर्ने जीवजीवात्माको सुखशान्तिका निम्ति 

ढ्वाङ्कुर्मो नाक्सोले मुन्दुम पुकार्ने गर्छन् ।

काउर्मो नाक्सो 

जिमीभूमि, प्रकृतिको अर्को नाम काउर्मो हो । प्रकृतिसित सम्बन्ध राख्ने सबै दृश्य, अदृश्य शक्तिको शुभ रहोस् भन्ने कामना मुन्दुमी वाक्यबाट पूरा गर्ने काम काउर्मो नाक्सोले गर्छन् । 

मूलथलो ओखलढुङ्गामा दुई दिन ढ्वाङ्कुमपुर्ने चाड मनाएसँगै विशेष सांस्कृतिक नाच नाच्ने र सङ्गीना लोकभाका गाउने बाटो खुला हुन्छ । ढ्वाङ्कुमपुर्नेमा सुरु हुने सङ्गीना चाम्दो दुई महिना अर्थात् आश्विन शुक्ल पूर्णिमासम्म सामूहिक रूपमा गाउने, नाच्ने गरिन्छ । गाउँघरमा कसैको ठुलो आँगन तथा तोकिएको स्थलमा साँझपख सबै भेला हुन्छन् । महिला र पुरुष गोलाकार पङ्क्तिबद्ध भएर तथा दायाँ समूह र बायाँ समूह रहेर गाउँछन्, नाच्छन्, मादल बजाउँछन् । पुरुषले बाँसुरी बजाउँछन् ।

हिन्दु पात्रो अनुसार जनैपूर्णिमा तिथिमै ढ्वाङ्कुमो चाड मनाइने भए पनि यसको मूल्यमान्यता फरक छ । किराँत धर्म र मुन्दुम अनुसार यो चाड मनाइन्छ । ढ्वाङ्कुमो किराँत वाम्बुले राई समुदायको प्रथाजनित कानुनमा आधारित चाड हो । प्रथा शब्दलाई पितापुर्खाका पालादेखि वर्तमानसम्म चल्दै आएको र जनजीवनलाई प्रभावित पार्दै आएको रीतिरिवाज, पहिलेदेखि चलिआएको चालचलन, परम्परागत परिपाटी, बुढीरूढि भनेर अथ्र्याइएको छ । प्रथालाई कानुनको मूल स्रोतका रूपमा लिइन्छ ।  ढ्वाङ्कुमो समुदाय जुटेर सामूहिक रूपमा मनाइने चाड हो । प्रत्येक घरपरिवारले यो चाडको आर्थिक, भौतिक, नैतिक, सांस्कृतिक हिस्सा बेहोर्नुपर्ने हुन्छ । समाजले गरेको सामूहिक निर्णयको पालना नगर्ने परिवार र व्यक्ति समाजबाट अलग्गिन सक्छ । समुदायको सहयोगबाट वञ्चित हुन सक्छ । त्यसैले यसलाई प्रथाजनित चाड भनिएको हो । 

ढ्वाङ्कुमो गर्दा लिब्जुउपो, भुम्जुउपो, दिब्जुउपो भनेर तीन पहाडको पूजा गर्ने गरिन्छ । ढ्वाङ्कुमोमा मुख्यतः लिब्जुउपोको पूजा गर्दा राँगा, सुँगुर र कुखुराको बलि दिने, नयाँ अन्नबाली चढाइने गरिन्छ । मुन्दुमी नाक्सोले लिब्जु पूजा गर्दा मुन्दुम फलाक्दै भन्छन्, “लिब्जु उपो (बाजे) उहिले त्यस्तो थिएन । हामीले मालेगोरु काटेर बलि दिन्थ्यौँ । राजा, काजी र हिन्दु धर्म आएपछि राँगाको बलि दिँदै आएका छौँ । लिब्जुउपो नसराप्नू । हाम्रो फलिफाप गर्नू । हामीलाई आशीर्वाद  दिनू ।” राज्यसत्ताको उत्पीडनमा परेको चाड हो ढ्वाङ्कुमो । वाम्बुले राईले मालेगोरु बलि नदिए पनि बाच्छा, बहर लिब्जुउपोको थानमा लगेर साँढे छाड्ने चलन आज पनि कायम छ । 

इतिहास तथा मुन्दुम अध्यता भोगीराज चाम्लिङका अनुसार लिब्जु र भुम्जुसँग सम्बन्ध रहेको ढ्वाङ्कुमो चाडले इतिहासका पाँच तह समेटेको छ । यसमा सिकारी र कृषि जीवन, प्राचीन किराँतकाल, सेन र शाह शासनकाल पर्छन् । 

‘लिब्जु : इतिहास र सांस्कृतिक प्रतिरोध’ शीर्षकमा चाम्लिङले लेख्नुभएको छ, “लिब्जुमा मालेगोरु काटेर भोग दिने प्रचलन विसं १८६० यता रोकिएको  हो । भन्नुको अर्थ लिब्जुमा मालेगोरु भोग चढाउन छाडेको २०७९ सालमा २१९ वर्ष पुग्यो 

(इक लिब्जु–भुम्जु त्रैमासिक, लिब्जु–भुम्जुको ९१ औँ शृङ्खला, २०७९ कात्तिक–पुस) ।” 

लिब्जु, भुम्जु र दिब्जु

अहिले ‘लिब्जु’ भन्नाले ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–२, वाक्सा र वडा नं. ३ वामद्याल गाउँको शिर रहेको समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको घना जङ्गलले घेरिएको पहाडको नाम हो । खासमा लिब्जुको उत्पत्ति कथामा सिकार खेलेर जीविकोपार्जन गर्ने पुर्खाको कुरा उल्लेख हुने भएकाले लिब्जुलाई सिकारी युगको पुर्खा मानिन्छ । लिब्जु पहाडको उत्तरतर्फ वडा नं. ४ केतुके गाउँ जोडिएको छ । ‘भुम्जु’ भन्नाले खोटाङ जिल्लाको हलेसीतुवाचुङ नगरपालिका–१ र २ सीमा शिरमा उभिएको समुद्री सतहदेखि करिब १९ सय मिटर उचाइमा रहेको पहाडको नाम हो । लिब्जुसँगै करिब चार किलोमिटर दक्षिणमा सानो पहाड दिब्जु रहेको छ । वाम्बुले राईले यी तीन पहाडलाई लिब्जुउपो, भुम्जुउपो र दिब्जुउपो भनेर कुलदेवताका रूपमा पूजा गर्छन् । आध्यात्मिक शक्तिदेवताका रूपमा मान्दछन् । यसै गरी यस भेगमा बस्ने अन्य भाषी राई, क्षेत्री, बाहुन, तामाङ, मगर, कामी, सार्की समुदायका लागि पनि उत्तिकै श्रद्धेय शक्तिदेवताका रूपमा लिब्जुउपो सामा (लिब्जुबाजे देवता) स्थापित छ । 

वाम्बुले राई

किराँत राई जाति २६ भन्दा बढी भाषा बोल्ने समुदाय हो । इतिहासमा उल्लेख वल्लो किराँत तथा वर्तमान सङ्घीय नेपाल कोशी प्रदेश ओखलढुङ्गा जिल्लाको दक्षिण लिब्जु पहाड आसपासको भूमिलाई वाम्बुले राईले आफ्नो उत्पत्ति थलो मान्दछन् । परापूर्वकालमा ओखलढुङ्गाको दक्षिणी भेगमा एक जना वाङ्बाहाङ नामका राजाले शासन गर्थे । सोही क्षेत्रलाई वामद्याल भनियो । वामद्याल अपभ्रंश भई उ“बुगाउ“ हुन पुग्यो । वाङ्बाहाङका सन्तान र राई जातिका रैतीलाई वाम्बुले राई भनिएको हो भन्ने कथन छ । अर्कोतर्फ वामद्यालमा बसोबास गर्ने राईलाई ‘चौरासे’ भनेर पनि चिनाइन्छ । किपट व्यवस्था अनुसार यस भेगमा ८४ रुपे मालअड्डामा रैकर तिर्नु पथ्र्यो । चौरासी रुपे क्षेत्रलाई चौरास भनिएको र यहा“का राईलाई चौरासे राई भनिएको भन्ने छ । यस भेगबाट अन्यत्र बसाइँ सरेर गएकाले आफूलाई ‘चौरासे राई’ भनेर चिनाएको पाइन्छ । 

‘वाम्बुले’ राईहरू आफूलाई ‘वाम्बुले राडु’ भनेर चिनाउ“छन् । वाम्बुले राईभित्र २५ भन्दा बढी पाछा (उपथर) रहेका छन् । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार वाम्बुले भाषा बोल्नेको जनसङ्ख्या १५ हजार २८५ रहेको छ । वाम्बुले राईको जनसङ्ख्या करिब एक लाख हुन सक्ने वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको दाबी छ ।

Author

गणेश राई