• १६ भदौ २०८१, आइतबार

तीजले प्रेम र सद्भाव बढाउँछ

blog

गोरखापत्र संस्थानको तीज कार्यक्रममा सहभागी कर्मचारी । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, भदौ १४ गते । गोरखापत्र संस्थानका महिला कर्मचारीले शुक्रबार ‘हरितालिका तीज (दरखाने) कार्यक्रम मनाएका छन् । कार्यक्रममा शुभकामना दिनुहुने वक्ताले तीजले पारिवारिक प्रेम, सद्भाव र आत्मीयता बढाउन सहयोग पुर्‍याएको विचार व्यक्त गर्नुभयो । साथै हिन्दु नारीको महान् पर्व तीजलाई नाच्ने, गाउने र मनोरञ्जन गर्ने मात्रैमा सीमित गर्न नहुनेमा जोड दिनुभयो । पत्रकार र कर्मचारी गरी संस्थानमा ११३ जना महिला कार्यरत हुनुहुन्छ । 

कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले तीज पर्वले पारिवारिक प्रेम र आपसी सद्भावलाई बढाउन सहयोग पुर्‍याएको बताउनुभयाे । तीजलाई नारीमा रहेको समर्पण र सहनशीलताको प्रतीकको रुपमा लिइन्छ भन्दै उहाँले संस्थानको प्रगतिमा महिला कर्मचारीको भूमिका विशिष्ट रहेको उल्लेख गर्नुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘आन्तरिक सुशासन र मितव्ययिता कायम गर्न महिला कर्मचारीले खेल्नुभएको भूमिका प्रशंसनीय छ ।’’ 

यसैगरी, महाप्रबन्धक लालबहादुर ऐरीले महाभारतमा नारीलाई संसारकै सर्वोत्कृष्ट प्राणीको रुपमा उल्लेख गरिएको चर्चा गर्दै नारीप्रतिको आस्था, सम्मान व्यक्त गर्न यो पर्वको महत्वपूर्ण भूमिका छ भन्नुभयो । उहाँले यस्ता कार्यक्रमले संस्थानको कार्य वातावरण अझ सद्भावपूर्ण र हौसला बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

कार्यक्रमका संयोजक एवम् संस्थानको सूचना प्रविधि विभागका प्रमुख रेखादेवी श्रेष्ठ, खरिद शाखाका प्रमुख मीना अधिकारी र पत्रकार सविता शर्माले तीज पर्वका विभिन्न पक्षमा प्रकाश पार्नुभएको थियो । श्रमसँग मनोरञ्जनलाई जोड्दा कार्यमा अझ ऊर्जा बढ्ने, हार्दिकता साट्न र तिक्तता फाल्न यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँहरूको विश्वास   छ ।