• २८ पुस २०८१, आइतबार

छोरीहरूको खातामा पालिकाको आठ लाख

blog

लीलाधर वली

घोराही, भदौ १३ गते । दाङको दङ्गीशरण गाउँपालिकाले छोरीहरूको खातामा आठ लाखभन्दा बढी रकम जम्मा गरेको छ । ‘छोरी सम्मान कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले दुई वर्षको अवधिमा २३२ जना छोरीको खातामा मासिक तीन सय रुपियाँका दरले आठ लाख ८९ हजार पाँच सय रुपियाँ जम्मा गरिदिएको हो । 

उच्च शिक्षा अध्ययनमा छोरीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले दङ्गीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ‘छोरी सम्मान कार्यक्रम’ सुरु गरेको थियो । दङ्गीशरण गाउँपालिकाका सूचना अधिकारी टेकबहादुर खत्रीले कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा १२३ जना र आर्थिक वर्ष २०८०/८१ मा १०९ जना गरेर २३२ जना छोरीको खातामा पैसा जम्मा गरिएको जानकारी दिनुभयो । अहिलेसम्म २३२ जना छोरीको खातामा छ लाख ३९ हजार तीन सय रुपियाँ जम्मा भएको छ । 

यसरी जम्मा भएको पैसा पालिकाको स्वीकृतिमा छोरीहरूले शिक्षाका लागि खर्च गर्न पाउने व्यवस्था गरिएको छ । दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक रूपमा विपन्न परिवारका छोरीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गर्ने उद्देश्यले छोरी सम्मान कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

गाउँपालिकाले १८ वर्षसम्म प्रत्येक महिना तीन सयका दरले खातामा पैसा जम्मा गरिदिन्छ । छोरीहरूको नाममा जम्मा गरिएको पैसा १८ वर्ष पुगेपछि छोरीहरूले मात्रै निकाल्न पाउने कानुनी व्यवस्था गरिएको अध्यक्ष गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी जम्मा गरिएको पैसाले आर्थिक रूपमा विपन्नका लागि पढाइमा सहयोगसँगै बालविवाह न्यूनीकरणमा सहयोग पुगोस् भन्ने हो ।” खातामा जम्मा गरेको पैसा अध्ययनका लागि बिचमै झिक्नुपर्ने अवस्था आएको खण्डमा पालिकासँग सल्लाह गरेर मात्र झिक्न पाउने व्यवस्था गरिएको छ ।