• १६ भदौ २०८१, आइतबार

सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : परराष्ट्रमन्त्री डा. राणा

blog

गौरा पर्व मनाउन बुधबार धनगढी पुग्नुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ।

काठमाडौँ, भदौ १२ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गौरा पर्व मनाउन बुधबार धनगढी पुग्नुभएकी परराष्ट्रमन्त्री डा. राणाले आफू सो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै सो क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग पनि कुरा उठाएको बताउनुभएको हो । 

धनगढी उपमहानगरपालिका वडा नं. ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको उद्घाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा यहाँको गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने गरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको जानकारी पनि उहाँले दिनुभयो । 

मन्त्री डा. राणाले भन्नुभयो,  “केही वर्ष अघि पनि तत्कालीन प्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवा भारत भ्रमण गएका बेला यो नाकाका बारेमा कुरा राख्नुभएको थियो । यो नाका हाम्रो सुदूरपश्चिम क्षेत्रकै एक ‘लाइफ लाइन’ नै हो । त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रा तर्फबाट यस विषयमा कुरा राखेको छु । भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव आओस् भन्ने कुरा आएको छ । हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाउने छौँ ।”

त्यसैगरी भारत भ्रमणकै क्रममा धनगढीको फाप्लुमा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि आफूले कुरा उठाएको उहाँले जानकारी दिनुभयो । उहाँले विगत लामो समयदेखि नै नेपाली कांग्रेसको नेतृत्वको सरकारले नेपालमा विकास निर्माणका कामहरू गर्दै आएको स्मरण गर्दै स्थानीय सरकारलाई बलियो बनाउने गरी संवैधानिक व्यवस्था गर्ने, स्थानीय सरकारलाई सशक्त र सुविधा सम्पन्न बनाउने एवं महिलाको प्रतिनिधित्वसहित समावेशी प्रकृतिको स्थानीय सरकार बनाउने अभियानको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको चर्चा गर्नुभयो ।   


भवन तथा अन्य संरचनाहरूको निर्माण पनि एक प्रकारको विकासको सूचक हो भन्दै तर निर्माण भएका यी सरकारी सम्पत्तिको संरक्षण गर्न तथा समय समयमा तिनको मर्मत सम्भार गर्न पनि उहाँले सम्बद्ध व्यक्ति तथा पदाधिकारीलाई सुझाव दिनुभयो । उहाँले कुनै पनि संरचना निर्माण गरेर मात्र नहुने र ती भवन अथवा संरचनाहरूबाट नागरिकले स्थानीय स्तरमा दिइने सेवा सुविधाहरू प्राप्त गर्न पाउनुपर्ने धारणा पनि राख्नुभयो । 

धनगढी उपमहानगरपालिकामा विकास निर्माणका कामहरू भइरहेका बताउँदै मन्त्री डा. राणाले भन्नुभयो “विकास निर्माण एक प्रक्रिया हो  र यो बिस्तारै हुँदै जान्छ । यस उपमहानगरमा यहाँका मेयरको नेतृत्वमा विकासका कामहरू भइरहेका छन्, मलाई खुसी लागेको छ ।”   

गौरा पर्व मनाउन आज बिहान धनगढी पुग्नुभएकी मन्त्री डा.राणाले धनगढीस्थित आफ्नो निवासमा पूजा गर्नुभएको थियो । बिहान उहाँलाई धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू, सो प्रदेशका उच्च सरकारी अधिकारी तथा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरूले स्वागत गर्नुभएको थियो ।