• ९ मंसिर २०८१, आइतबार

‘जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा’

blog

सोलुखुम्बु, भदौ  १२ गते। गत साउन ३२ गते शुक्रबार बिहानदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो। हिमाली भेग तुवाँलाेले ढाक्नाका साथै बर्सात भइरहेको बेला हुस्सु पनि लागेको हुन्छ। तीन हजार आठ सय मिटर उचाइमा पर्ने थामेमा करिब ६५ परिवार बसोबास गर्दै आएका छन्। 

थामे क्षेत्र सुन्दर र मनोरम उपत्यकाका र पर्यटकीय स्थलका रुपमा परिचित छ। गत साउन ३२ गते गाउँको माथिबाट ठूलो आवाज गर्दै लेदोसहितको बाढीपहिरो आयो। 

उच्च समस्थली भूभाग, थामेमा कृषि उत्पादन हुने गह्रामा बाढीपहिरोसँगै आएका ठूलाठूला ढुङ्गाहरु बसेका खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताउनुभयो।

“संयोग भन्नुपर्छ दिउँसोको समयमा घटना भयो। अफसिजन भएकाले पनि पर्यटक थिएनन्। त्यसैले मानवीय क्षति हुन पाएन। नाम्चेमा शुक्रबार हाट लाग्ने भएकाले दिउँसोको समयमा बाढी गएकाले स्थानीय नाम्चेबजार झरेका, कति गोठाला गएका थिए। बाढीपहिरोको कटानका कारण थामे बगरमा परिणत भएको छ। मन थाम्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो।

थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले यही भदौ ५ गते काठमाडौँस्थित सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुईवटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि गरेको थियो।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षाका कारण जलसतह बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको बताउनुभयो। त्यहाँको पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको  प्रारम्भिक अनुसन्धानले देखाएको उहाँले जानकारी दिनुभयो। 

हिउँ पग्लेकाले पानी र त्यसको केही छाल तल्लो तालमा गएर बजारिएर ठूलो रुप लिएको प्रमुख पोखरेलले उल्लेख गर्नुभयो। उहाँका अनुसार यस बाढीबाट बीसभन्दा बढी घरहरूमा क्षति पुगेको छ। थामे आधारभूत  विद्यालय, स्वास्थ्य चौकी र छात्रावास पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने बाँकी घरहरुमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा रहेको नौ सय ५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा सोही बाढले क्षति पुर्‍याउँदा करिब नौ सय घर अन्धकारमा बस्न बाध्य छन्।

बाढी आएको भोलिपल्ट सङ्घीय सरकारका रक्षामन्त्रीसहितको टोली थामे गाउँमा पुगी प्रतिघर रु. १५ हजारका दरले वितरण भएको रकम खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको प्रजिअ खत्रीले बताउनुभयो। “खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात् बाढी आएको थियो। अहिले एक सय बढी विस्थापितलाई तल्लो थामेमा अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो।

बाढी पुनः आउनसक्ने जोखिमलाई दृष्टिगत गरी तीनवटा सुरक्षा निकायको सहयोगमा आंशिक क्षति भएका घरहरूबाट अत्यावश्यक सामान निकाल्ने काम भइरहेको प्रजिअ खत्रीले जानकारी दिनुभयो। पूरै थामे क्षेत्रमा ढुङ्गा, गिट्टी र लेदो मिश्रित गेग्रान भरिएकाले अप्रत्यक्ष रूपमा गाउँ प्रभावित बनेको उहाँको भनाइ छ। 

थामे गाउँमा एक अर्बभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रजिअ खत्रीले बताउनुभयो। उहाँका अनुसार थामेको शिरमा पाँचवटा साना–ठूला हिमताल छन्। गत साउनमा दुईवटा हिमताल फुटेको भन्दै अरू पनि जोखिममा रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो। ६५ घरका करिब एक सय २० जना विस्थापित बनेका छन्। अहिले माथिल्लो थामे क्षेत्र (थामे थिङ)मा कोही आफन्तको घरमा, सामुदायिक भवन, गुम्बा र अन्यन्त्र बसिरहेका उहाँको भनाइ छ।

पालिकाको केन्द्रबाट थामे पुग्न करिब १० घण्टा हिँड्नुपर्छ । गाउँ र सहर आवतजावत गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थाको गाउँमा बाहिरबाट राहत लगेर बाँड्न सहज नभएको प्रजिअ खत्रीले बताउनुभयो। सिङ्गो गाउँ प्रभावित भएकाले आसपासका आफन्तले पनि धेरै दिन आश्रय दिनसक्ने अवस्था नरहेको भन्दै तत्काल बसोबासको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

गाउँका अधिकांश पुरुष पर्यटन व्यवसाय, वैदेशिक रोजगारीका क्रममा गाउँबाहिर छन । यहाँ धेरैजसो महिला र बालबालिका बस्छन्। जीवनभर दुःख गरेर जोडेको सम्पत्ति, घरघडेरी, लत्ताकपडा, गरगहनासहितका सामग्री बाढीले बगाएको स्थानीय तारा शेर्पाले दुखेसो पोख्नुभयो।

तत्कालका लागि वासस्थान र भविष्यमा काम गर्ने वातावरण मिलाइदिन थामेका स्थानीयले सरकारसँग माग गरेका छन्। “सबैथोक गुमाएपछि हामीलाई जीविकोपार्जनमा समस्या भएको छ। आफन्तसँग आश्रय लिएर कति दिन बस्ने ?”, ताराले प्रश्न गर्नुभयो। 

तापक्रम वृद्धि हिमपोखरी फुटनुको प्रमुख कारण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र यसले अनिष्ट निम्त्याउने सङ्केत देखिएको अनुसन्धानका क्रममा स्थानीयले बताएका उल्लेख गर्नुभयो। “हिमताल फुट्नुका कारण तापक्रम बढ्नु हो। जुलाई र अगस्तमा तापक्रम बढी भएकाले पनि यस्तो भएको हो”, उहाँले भन्नुभयो।

थामेको शिरमा रहेका ताल विस्फोट भएर तल्लो तटीय क्षेत्र खण्डहर हुनुमा जल तथा मौमम विज्ञान विभागले दुईवटा कारण औँल्याएको छ। हिमताल दुईभन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह (ग्राउन्ड सर्फेस) मा आएको भूक्षय, भूपरिवर्तन (कम्पाउन्ड क्यासकेडिङ इफेक्ट) ले हिमताल विस्फोट भई तटीय क्षेत्र खण्डहर तुल्याएको विभागका वरिष्ठ जलवायुविज्ञ सुनील पोखरेलले उल्लेख गर्नुभयो। 

विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलसहित जलवायुविज्ञहरू निराकार थापा, मौसम भण्डारी, जोसन महर्जन र सुमित अधिकारीले उक्त घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्नुभएको छ। पछिल्ला दिनमा हिमाल पग्लिने क्रम सुरु भएसँगै हिमतालको आकार र सङ्ख्या वृद्धि भइरहेको अनुसन्धानले देखाएको उहाँको भनाइ छ।

“हिमतालको पानी निकास गर्न ठूलो धनराशि जुटाउनुपर्ने हुन्छ। हिन्दू–कुश हिमालय क्षेत्रमा जोखिममा रहेका ४७ हिमतालमध्ये २१ वटा नेपालमा छन्। सन् २०१६ मा सगरमाथा क्षेत्रको पाँच हजार मिटरको उचाइमा अवस्थित इम्जा हिमतालमा पानीको सतह घटाउन सात दशमलव दुई मिलियन अमेरिकी डलर खर्च भएको थियो। राष्ट्रसङ्घीय वातावरण कोषको सहयोगमा पानी घटाइएको इम्जा हिमतालको जोखिम अहिले पनि छ”, जलवायुविज्ञ पोखरेलले भन्नुभयो।

वैज्ञानिकहरूले जोखिममा रहेका भनिएका नेपालका २१ हिमतालमध्ये ठुलागी, होङ्गु, तल्लो वरुण र लुम्दिङ छोको पानी तत्कालै निकास गर्नुपर्ने बताएका छन्। पानी तत्कालै निकास गर्न ठूलो धनराशिको आवश्यक पर्ने बताउँदै जोखिम कम नगरे त्यसले निम्त्याउने असर विकराल हुने आङ्कलन गरिएको जल तथा मौममविज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलले बताउनुभयो।

कसरी आयो बाढी ?

खुम्बु क्षेत्रमा गत साउन २५ गतेदेखि दैनिक औसत तापक्रम वृद्धि भएर ९.७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको थियो। साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियसम्म पुगेको थियो भने त्यहाँका हिमतालको आकार बढ्दै गएको थियो। 

खुम्बु क्षेत्रको हिमतालबारे अध्ययनमा समेत संलग्न जलवायु परिवर्तन विज्ञो भने त्यहाँका हिमतालको आकार बढ्दै गएको थियो।