• १६ भदौ २०८१, आइतबार

साफ यु–२० च्याम्पियनसिप

नेपालसमक्ष सात वर्षपछि उपाधि जित्ने अवसर

blog

काठमाडौँ, भदौ १२ गते । नेपाल लामो समयपपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ । नेपालले बुधबार बङ्गलादेशसँग साफ यु–२० च्याम्पियनसिपको उपाधि भिडन्त गर्दै छ । पहिलो दुई संस्करणको विजेता नेपाललाई त्यसपछि सधैँ साफ उमेर समूहको फुटबलको उपाधिले लोभ्याइरहेको छ । नेपाल सात वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्दै छ । सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि रक्षा गरेको थियो ।

नेपालका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले मङ्गलबार फाइनलअघिको पत्रकार सम्मेलनमा फाइनल खेल्ने दुवै टिम राम्रो भएकाले खेल प्रतिस्पर्धात्मक हुने बताउनुभयो । “बङ्गलादेशले गत विजेता भारतलाई हराएर फाइनलमा स्थान बनाएको छ । त्यसैले बङ्गलादेशले उच्च मनोबलमा खेल्ने छ  तर हामी तयार छौँ । हाम्रो लक्ष्य उपाधि जित्नु हो र खेलाडीले रणनीतिअनुरूप खेलेमा हाम्रो जित पक्का छ,” प्रशिक्षक श्रेष्ठले भन्नुभयो । यस प्रतियोगितामा नेपाल र बङ्गलादेश एकै समूहमा परेका थिए । समूह चरणमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएको थियो । उहाँले फाइनलमा पनि बङ्गलादेशलाई हराएर उपाधि जितेर घरेलु समर्थकलाई खुसी पार्ने छौँ भन्नुभयो । 

यस प्रतियोगिताको फाइनल दशरथ रङ्गशालामा हुने तय गरिएको थियो तर लगातार पानी परेकाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फाइनल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने बताएको छ । यसमा घरेलु टिमका प्रशिक्षक श्रेष्ठ खुसी बन्नुभएको छ । “यसै मैदानमा हामीले विगत लामो समयदेखि प्रशिक्षण गरेका छौँ । त्यसैले एन्फा मैदानमा खेल्दा हामीलाई सहज हुने छ । दशरथ रङ्गशालामा फाइनल भएको भए हजारौँ दर्शकको समर्थन पाइन्थ्यो तर सो मैदानमा खेल्ने अवसर नपाएकाले स्वाभाविक प्रदर्शन हुन नसक्ने डर पनि उत्तिकै हुन्थ्यो,” प्रशिक्षक श्रेष्ठको भनाइ छ । नेपाली टिमका कप्तान कुशल देउवाले फाइनलका लागि आफू र आफ्नो टिम तयार भएको बताउनुभयो । उहाँले फाइनलमा विपक्षीको कमीकमजोरीलाई अध्ययन गरेर र आफ्नो कमीकजमोरी सुधारेर राम्रो खेल खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले फाइनलमा आफू नेपालको तेज फरवार्ड लाइनबाट चिन्तित भएको बताउनुभयो । प्रशिक्षक हक भन्नुहुन्छ, “नेपालका अग्रपङ्क्तिका खेलाडीहरू ‘स्पिडी’ छन्, हामीले उनीहरूलाई रोक्न विशेष ध्यान दिएका छौँ । यसबाहेक नेपाल घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी हो । उनीहरू मैदानसँग अभ्यस्त छन् । अहिलेसम्म हारको सामना नगरी फाइनलमा पुगेका छन् ।” उहाँले आफ्नो टिमको फाइनलसम्म यात्रामा धेरै उतारचढाव भएको जानकारी पनि दिनुभयो । यद्यपि उहाँ भन्नुहुन्छ, “हामी तयार छौँ । भारतलाई हराएर हामी फाइनल पुगेका छौँ, तर भोलि नयाँ दिन हुने छ ।”

समूह ‘ए’ मा समूह विजेता बन्ने क्रममा नेपालले श्रीलङ्का र बङ्गलादेशलाई पराजित गरेको थियो । पहिलो खेलमा नेपालले श्रीङ्कालाई १–० ले पराजित गरेको थियो । त्यसपछि नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराएको थियो । समूह चरणमा श्रीलङ्कालाई २–० ले हराएपछि बङ्गलादेशले फाइनल पुग्न भारतलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो । बङ्गलादेश तेस्रो पटक फाइनल खेल्दै छ । यसअघि सन् २०१९ र २०२२ मा बङ्गलादेश फाइनल पुगेको थियो तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बङ्गलादेश उपविजेता बनेको थियो । यद्यपि सो संस्करण राउन्डरोविन लिगमा भएको थियो ।