• १६ भदौ २०८१, आइतबार

बलियो सञ्चार नीति आवश्यक

blog

इलाम समाचारदाता

इलाम, भदौ १२ गते  । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले स्थानीय र प्रदेश सरकारले बलियो सञ्चार नीति बनाउन आवश्यक रहेको बताउनुभएको छ । पछिल्लो समय जिल्लामा रहेका सञ्चार माध्यम आर्थिक रूपमा धराशायी बन्दै गएको र व्यावसायिक पत्रकारितासमेत धरापमा रहेकाले अब सञ्चार क्षेत्रलाई बचाउन पनि हरेक स्थानीय तहले बलियो सञ्चार नीति बनाउन आवश्यक रहेको बताउनुभयो । 

मङ्गलबार इलाममा आयोजित सञ्चार क्षेत्रको विकासमा प्रदेश सरकारको भूमिका विषयक अन्तव्रिर्mयामा बोल्दै मन्त्री रानाले हरेक जिल्लाका सरकारी कार्यालयमार्फत वार्षिक रूपमा करिब आठ–दस करोड रुपियाँका विज्ञापन बाहिरका सञ्चार माध्यममा जाने र जिल्लामा रहेका सञ्चार माध्यमलाई विज्ञापन नै नदिने चलन रहेको बताउनुभयो । “जिल्लाबाट बाहिरिने विज्ञापनलाई जिल्लामै सञ्चालन भएका सञ्चार माध्यममा दिने नीति नभएसम्म जिल्लाको सञ्चार माध्यम बलियो हुँदैन,” मन्त्री रानाले भन्नुभयो, “स्थानीय तहले केन्द्रको नीति अनुसार चल्नुभन्दा आफ्नै सञ्चार नीति बनाएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सबै स्थानीय तहले नीति बनाउनुहोस्, प्रदेश सरकारले पनि सञ्चार नीति बनाउँछ ।” आफ्नो ठाउँको सञ्चार क्षेत्र बलियो भयो भने हरेक स्थानीय तह र समाजमा सुशासन कायम हुन सक्ने रानाको भनाइ छ । 

मन्त्री रानाले कोशी प्रदेशले १४ वटै जिल्लामा नेपाल पत्रकार महासङ्घका भवन निर्माणसहित विभिन्न कार्यक्रमका लागि पनि सहयोग गरिरहेको बताउनुभयो । उहाँले नेपाल पत्रकार महासङ्घ इलाम शाखाले प्रकाशन गरेको ‘इलाम’ नामक पुस्तकको विमोचनसमेत गर्नुभएको छ । इलामको सञ्चार, सामाजिक, धार्मिक र राजनीतिक क्षेत्रका विषयमा आलेखहरू पुस्तकमा समेटिएको छ । 

पुस्तकबारे साहित्यकार प्रकाश थाम्सुहाङले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा इलाम नगरपालिकाका उपप्रमुख विष्णु दाहाल, महासङ्घ इलाम शाखाका संस्थापक सभापति धर्म गौतम, पूर्वअध्यक्ष सोम सुसेली, सटेन्द्र जबेगू, अग्रज पत्रकार डाक्टर देवी क्षेत्री दुलाल, साहित्यकार देवीप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।