• १६ भदौ २०८१, आइतबार

हिले–जलजले पर्यटकीय ताल निर्माण अन्तिम चरणमा

blog

काभ्रेपलाञ्चोक, भदौ ११ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वन क्षेत्रमा ‘पर्यटकीय ताल’ निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा विसं २०७९ मङ्सिरमा ताल निर्माण सुरु गरिएको थियो ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले वनमा ताल निर्माण गर्न थालिएको जनाइएको छ । शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलमा बन्न लागेको तालमा ८२ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनाभित्र निर्माण सक्नेगरी काम भइरहेको निर्माण कम्पनी विजय–लोटस–तेजस्वी जेभीका गणेश मोक्तानले बताउनुभयो । “अविरल वर्षाका करण केही दिनबाहेक काम भइरहेको छ, निर्धारित समयमै काम सक्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो,“निर्माणाधीन तालको हाल भुइँमा ढलान तथा ताल वरपर पर्खाल लगाउने काम सकिएको छ भने ‘फिनिसिङ’ गरी तालमा पानी थुन्ने काम बाँकी छ ।”

ओखरे र थुम्कीखोला मिसिएर बग्ने स्युरोखोलामा तालको बाँध बाँधिएको छ । तल निर्माणका लागि पाँच करोड ८९ लाख ५१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । तालसहितका अन्य संरचना निर्माण गर्न १६ करोड ९४ लाख ५० हजार रुपियाँ लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्ब्याइएको छ ।

ताल निर्माणका लागि डिभिजन वन कार्यालय धुलिखेलले वन क्षेत्रको एक सय २९ रूख कटानको स्वीकृति दिएपछि ताल निर्माण थालिएको थियो । यस्तै, त्यसअघि प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो । डिपिआरमा तालमा डुङ्गा सञ्चालन तथा आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यीकरणका काम हुने जनाइएको छ ।

यस्तै, तालमा परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्नेगरी योजना बनाइने र ताल क्षेत्र वरपरका रूखमा ‘ट्री हाउस, ट्री सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ । दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घरलगायत अन्य पूर्वाधार निर्माण गरिनेसमेत गुरुयोजनामा उल्लेख गरिएको छ । ताल निर्माण सम्पन्न गरिएपछि सङ्घीय राजधानी काठमाडौँ नजिकको एक पर्यटकीय गन्तव्य तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने अपेक्षा गरिएको छ ।

जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको र हाल बहुउद्देश्यीय परियोजनाका रुपमा क्रमागत विकास अगाडि बढाइएको यहाँबाट निर्वाचित प्रतिनिधिसभा सांसद गोकुल बाँस्कोटाले बताउनुभयो । उहाँकानुसार बनेपाको वासुकी क्षेत्र र हिले–जलजलेलाई पर्यटकीय तथा समृद्धिको आधार बनाउन संरचना निर्माण गर्न लागिएको हो ।

सानो पोखरीमा अवस्थित हिले–जलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व छ । नगरकोटस्थित महादेव पोखरी र यस ताल क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किंवदन्ती छ । यस्तै, वासुकी नाग हिले–जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास छ । हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही)को दिन पनौतीमा लाग्ने जात्रामा हिले–जलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने गर्दछ ।

वासुकी नाग जाँदा हावाहुरीबाट लडेका मकै तथा अन्य खाद्यबाली नाग फर्कंदा पहिलाकै अवस्थामा आउने किंवदन्ती पनि पाइन्छ । वासुकी नागले पनौतीको भ्रमण गरेको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आइएको छ । रासस