• १६ भदौ २०८१, आइतबार

‘सम्पूर्ण देशभक्त शक्ति गोलबन्द हौँ’

blog

आम जनता पार्टीका अध्यक्ष प्रभु साह मङ्गलबारदेखि सुरु भएको पार्टीको दुई दिने केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ, भदौ ११ गते । आम जनता पार्टीले देशलाई विकास र समृद्धिको पथमा लैजान सम्पूर्ण नेपाली एकताबद्ध भएर  लाग्नुपर्ने आवश्यकता औँल्याएको छ ।

उक्त पार्टीको मङ्गलबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा त्यसका लागि पार्टीको सङ्गठनात्मक क्षमतामा गुणात्मक विकास गर्नपर्नेमा जोड दिइएको छ ।

पार्टीद्वारा अघि सारिएका रुपान्तरणकारी एजेण्डा कार्यान्वयन गर्न सङ्गठन सुदृढीकरणको विकल्प नरहेको जनाउँदै परिवर्तनकारी जनता पहिचान गरी सङ्गठनमा गोलबन्द गर्नु आजको आवश्यकता आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा संवैधानिक व्यवस्था, राजनीतिक नेतृत्वको चरित्र, राजनीतिक, आर्थिक, सामाजिक अवस्थाको विश्लेषण तथा पार्टीले अघि बढाइरहेका कार्यक्रमको समीक्षा, भ्रष्ट्राचारविरुद्धको आन्दोलन लगायतका विषयवस्तु समेटिएका छन् ।

बैैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष प्रभु साहले राष्ट्र र राष्ट्रियता बलियो तुल्याउन सम्पूर्ण देशभक्त शक्तिलाई गोलबन्द हुन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा परिवर्तन चाहने शक्ति एवम् पार्टीसँग सहकार्य गर्नुपर्छ, अग्रगामी सोच भएका दलसँग संवाद, सहकार्य र एकताको माध्यमबाट अघि बढन जरुरी छ ।”

बैठकमा समसामयिक राजनीति, मुलुकको अर्थतन्त्र, शिक्षक दरबन्दीलगायतका दलले विगतदेखि उठाउँदै आएका मुद्दाबारे पार्टीको धारणा समेटिएको विशेष प्रस्ताव पेस गरिएको छ । बैठकले मनसुनजन्य प्राकृतिक प्रकोप तथा विभिन्न  दुर्घटना भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । रासस