• १६ भदौ २०८१, आइतबार

‘संविधान संशोधनमा प्रतिपक्षको पनि सहमति आवश्यक छ’

blog

नेपाली कांग्रेसका सांसद नारायणप्रसाद साउद सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, भदौ ११ गते । सांसद नारायणप्रकाश साउदले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सरकार निर्माणका क्रममा भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्यवन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साउदले भन्नुभयो, “हामीले २०७२ सालमा संविधान ल्याइसकेपछि पटक पटक सरकार परिवर्तन भएका छन्, स्थिरताभन्दा पनि अस्थिरता छाएको छ, यो शृङ्खला प्रदेशमा पनि देखिएको छ ।”

संविधान संशोधनका लागि राजनीतिक स्थिरताको आवश्यकता पर्ने बताउँदै संशोधनका लागि विभिन्न पार्टी र पार्टिभित्रका दलहरुबिच, सरकार र प्रतिपक्षबिचमा पनि राष्ट्रिय सहमति हुनुपर्ने उहाँको भनाइ  छ । सांसद साउदले महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्तिलगायत सदियौँदेखि उत्पीडनमा पारेको समुदायले पाउँदै आएको अधिकार कमजोर नहुने गरी संविधान संशोधन गनुपर्ने बताउनुभयो ।

लोकतन्त्र, समावेशिता, अग्रगमनको सवालमा कसैले कसैलाई दोषारोपण गर्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै सांसद साउदले संविधान संशोधनको सवालमा सबै दलहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । संविधानभित्र भएका जटिलतालाई समाधान गर्नेबारे प्रतिपक्ष राजनीतिक दल पनि सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

यस्तै, सांसद रघुजी पन्तले प्रतिपक्षी दलले प्रतिशोध साँध्नेभन्दा पनि सकारात्मक ढङ्गबाट सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले कांग्रेस र एमाले मिलेर सरकार गठन भए पनि सबै दलको सल्लाह, सुझाव र सहमतिको आधारमा संविधान संशोध गर्नुपर्ने बताउनुभयो ।

“संविधान संशोधनको विषय कांग्रेस र एमालेबिच सरकार गठनको समयमा सहमति हुँदा मात्रै भएको होइन, संविधान संशोधनको विषय त्योभन्दा अघि नै आमजनता, नागरिक समाजले उठाएको विषय हो, त्यसैले संविधान संशोधनको विषयमा प्रतिपक्षलगायत सम्पूर्ण दलबीच एक मत हुनेछ”, उहाँले भन्नुभयो । रासस