• १६ भदौ २०८१, आइतबार

अन्नपूर्णमा सम्पर्कविहीन एक स्पेनीको शव फेला

blog

सांकेतिक तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ ११ गते।  कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तीखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कविहीन स्पेनी पर्यटक ३७ वर्षीय इरिक कासानोभासको शव फेला परेको छ। भुरौदीखोलाको सुदामे भन्ने ठाउँमा मङ्गलबार दिउँसो साढे २ बजेतिर शव फेला परेको हो।

एरिकको टाउकोमा चोक देखिएको र झोला भेटिएभन्दा करिब एक किमी तल शव फेला परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटी चेकपोस्ट इन्चार्ज यामबहादुर गुरुङले जानकारी दिनुभयो। अन्नपूर्ण वडा नम्बर ९ को भरुङ्दी खोलाको पुलनजिक बेवारिसे अवस्थामा आइतबार साँझ दुई झोला भेटिएका थिए।

कासानोभाससँगै सम्पर्कविहीन हुनुभएकी ३२ वर्षीया मोलास जुन्का मेसीको भने खोजी जारी छ। आइतबार उहाँहरू म्याग्दीको पर्यटकीय स्थल घोरेपानीसम्म पदयात्रामा जाँदै हुनुहुन्थ्यो। सोमबार दिनभर खोजी गरे पनि उहाँहरूको अवस्था पत्ता लाग्न नसकेपछि मङ्गलबार गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीमा उहाँहरूले घोरेपानी जाने विवरण टिपाउनुभएको थियो। बाटोमा झोला झोला भेटिएको नजिकै सुन्दर छहरा भएकाले त्यही फोटो खिच्ने क्रममा उहाँहरू चिप्लिएको हुन सक्ने अनुमान गरिएको छ। 

बाटो छेउमा भेटिएका दुई झोलामा व्यक्तिगत सामग्रीसहित उहाँहरूका राहदानी, केही नगद फेला परेको थियो। प्रहरी चौकी वीरेठाँटीका इन्चार्ज कृष्ण दर्नालले खोजी कार्य जारी रहेको जानकारी दिनुभयो।