• १६ भदौ २०८१, आइतबार

निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात

blog

काठमाडौँ, भदौ ११ गते । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले निर्यात गरेर प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा २१ अर्ब ६६ करोड ९० लाख ४९ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास) आयात भएको छ । जबकि साउनमा नेपालले करिब १२ अर्ब रुपियाँको मात्रै वस्तु निर्यात गरेको छ । 

निर्यातको तुलनामा पेट्रोलियम पदार्थको आयात बढी देखिए पनि समग्रमा पेट्रोलियम आयात भने घटेको छ । विभागका अनुसार गत साउनको तुलनामा नेपालले करिब ३० करोड रुपियाँभन्दा कम पेट्रोलियम आयात गरेको छ । गत साउनमा नेपालले २१ अर्ब ९८ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । 

चालु आवको पहिलो महिनामा सबैभन्दा धेरै छ अर्ब ९८ करोड ७१ लाख रुपियाँ बराबरको ७२ हजार किलोलिटर डिजेल आयात भएको छ । त्यस्तै पाँच अर्ब ६९ करोड रुपियाँ बराबरको ५९ हजार ६४४ किलोलिटर पेट्रोल आयात भएको तथ्याङ्क छ । 

चार अर्ब ८२ करोड रुपियाँ बराबरको ४५ हजार ७३५ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात हुँदा एक अर्ब २० करोड रुपियाँको १२ हजार ४७२ किलोलिटर हवाई इन्धन आयात भएको छ । यस्तै ६३ करोड ४३ लाख रुपियाँ बराबरको ६५६ किलोलिटर मटितेल आयात भएको विभागले जनाएको छ । 

डिजेल/पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधन, ग्यासबाट चल्ने चुलो र हिटरको सट्टा विद्युतीय चुलो र हिटर, एसीलगायतका कारण नेपालमा पेट्रोल र ग्यासको खपत घट्दै गएको तथ्याङ्कले देखाएको छ । साउनमा पेट्रोलियम पदार्थ आयात गरेर आठ अर्ब २७ करोड ८९ लाख राजस्व सङ्कलन भएको छ । 

पेट्रोलियम पदार्थको आयातले व्यापार घाटा बढ्ने गर्छ । साउनमा  कुल व्यापार घाटा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँ रहेकोमा सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ रहेको छ । मुलुकमा उत्पादन नहुने पेट्रोलियम पदार्थ छिमेकी मुलुक भारतबाट आयात हुने गर्छ । नेपालले साउनमा गलैँचा, टेक्सटाइल, फलाम, स्टिलजन्य उत्पादन, चिया, कफी निर्यात गरेको छ ।