• १६ भदौ २०८१, आइतबार

हायु बस्तीमा धाँजा फाटेर घर जोखिममा

blog

कमलामाई नगरपालिका–१ कोप्चेमा जमिन धाँजा फाटेर जोखिममा परेका परिवारलाई स्थानान्तरण गर्न त्रिपाल टाँगिँदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, भदौ १० गते । कमलामाई नगरपालिका–१ कोप्चे सिम्लेगाँउ निवासी ३४ वर्षीया मोतीमाया हायु बस्दै आएको घरको मझेरी वर्षाका कारण चिरा पर्दा चिन्तित हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘भएको सबै सम्पत्ति नै यही घर र पाखोबारी हो, यहाँबाट अन्त जाने उपाय छैन । भएका चार जनाबालबच्चा लिएर कता जाऔँ ?’ भदौ ७ गते राति परेको अविरल वर्षाले आफ्नो घरलाई क्षति गरेको उहाँले सुनाउनुभयो । वर्षाले उहाँको घरभित्रको जमिन (मझेरी) चिरा परेर धाँजा फाटेर बस्नै नहुने बनाएको छ ।

उहाँले आफ्नो श्रीमानको सात वर्षअघि मृत्यु भएको र गाँउघरमा नै बनिबुतो गरेर जीवन निर्वाह गर्दैआएको गुनासो गर्नुभयो । सो वर्षाले लोपोन्मुख हायु समुदायको बस्ती रहेको कोप्चे सिम्लेगाँउ धाँजा फाटेर बस्नै नहुने गरी जोखिम बढाएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कोप्चे सिम्लेगाँउमा हायु समुदायको १५ घर रहेको छ । तीमध्ये पाँच जनाको घर वर्षाका कारण क्षति भएको छ । उहाँहरूको घरको जगको जमिन मुनिबाट पानी बग्दा जमिन भासिएर घर भत्किएर क्षति गरेको हो ।  

दुई तले कच्ची घर भत्किएर अमरबहादुर हायु, पदमबहादुर हायु, बागमती  हायु, ज्ञानबहादुर हायुको पाँच–पाँच लाख रुपियाँ बराबरको र कालुमान हायुको चार लाख रुपियाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ । हाललाई अन्य घरमा क्षति नभए पनि पुनः अविरल वर्षा भएमा जोखिम बढ्ने भएकाले प्रहरी र वडा कार्यालयको पहलमा बस्तीबाट करिब पाँचसय मिटर टाढा रहेको चौरमा पाल टाँगेर स्थानान्तरण गर्ने काम भइरहेको प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

हायुबस्ती जोखिममा पर्दा १५ घरका करिब ९० जना प्रभावित भएको उहाँले सुनाउनुभयो । प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयो, ‘जोखिममा परेको परिवारलाई राहत सहयोगका लागि त्यहाँको सबै रिपोर्टहरू लिएर हाम्रो च्यानलबाट माथिसम्म फवार्ड गरेको छु । त्यसका लागि अन्य निकायसँग पनि समन्वय गर्ने काम भइरहेको छ ।’

अर्का स्थानीय रत्नबहादुर हायुले भाइ बुहारीको घरको भान्सामा मानिस नै छिर्न सक्नेगरी धाँजा फाटेकाले नजिकैको गोठमा आश्रय लिएर बसेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भान्साको धाँजा फाटेको ठाउँमा माटोले पुरेर केटाकेटी छिर्न नसक्ने बनाइएको छ । ‘गाउँको पुछारमा खोला छ, त्योभन्दा माथि ठाडो भिर छ’ उहाँले थप्नुभयो, ‘ठाडो भिरमाथि गाउँ भएकाले पूरै बग्ने हो कि डर छ ।’