• ८ मंसिर २०८१, शनिबार

नेपालगन्जका चोकचोकमा जुम्लाका स्याउ

blog

नेपालगञ्ज, भदौ  ९ गते ।  जुम्लामा उत्पादन भएको स्याउ नेपालगन्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगन्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो रु एक सय ६० मा खरिद गर्न पाइने स्थानीय बताउँछन् । 

कोहलपुर नगरपालिका–१२ की शर्मिला कार्कीले प्रतिकेजी स्याउमा रु २० नाफा गरेर जुम्लाको स्याउ बेचिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जुम्लाबाट आएको स्याउ ताजा, रसिलो र स्वादिष्ट छ, त्यसैले छिटो बिक्री हुने गरेको छ ।”

एकै पटकमा जुम्लाबाट धेरै परिमाणमा स्याउ आउँछ र कोहलपुरका विभिन्न सटरमा भण्डारण गर्ने गरिएको कार्कीले बताउनुभयो । कोहलपुरबाट किनेर ल्याइ नेपालगन्जमा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “जुम्लाबाट आउने स्याउ अर्ग्यानिक र रसिलो भएकाले धेरैले यो स्याउ मन पराउँछन्”, उहाँ भन्नुहुन्छ । 

नेपालगन्जका स्थानीय ठेला व्यापारी रामदास कोइरीले स्थानीय तरकारी मन्डीबाट जुम्लाको स्याउ खरिद गरी बिक्री गरिरहेको बताउनुभयो । उहाँका अनुसार भारतको सिमलालगायत क्षेत्रबाट नेपालगन्जमा स्याउ ल्याएर बिक्री गरिन्छ । जुम्लाको स्याउभन्दा भारतबाट ल्याएको स्याउ हेर्दा आकर्षक हुने भएकाले त्यसको मूल्य बढी हुने गरेको कोइरीको भनाइ छ । जुम्लाको स्याउको मूल्य प्रतिकेजी रु एक सय ६० छ भने भारतबाट आयात गरिएको स्याउ रु दुई सयदेखि दुई सय ५० सम्म रहेको छ । जुम्लाबाट दैनिक चार ट्रक स्याउ आउने गरेको थोक व्यापारीहरू बताउँछन् । जुम्लाबाट एकै जातको स्याउलाई तीन वर्गमा विभाजन गरी नेपालगन्ज ल्याउने गरिएको छ ।

नेपालगन्ज आएको जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्‍याउने गरिएको छ । जुम्लाको स्याउ अहिले बजारमा ठुलो, मझौला र सानो गरी तीन प्रकारले ‘ग्रेडिङ’ गरी बिक्री हुँदै आएको छ । कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट पनि नेपालगन्जमा स्याउ बिक्रीका लागि ल्याउने गरिएको व्यापारी बताउँछन् । रासस