• ८ मंसिर २०८१, शनिबार

सीमा क्षेत्रबाट चाँदीका गहना बरामद

blog

सीमा क्षेत्रबाट महोत्तरी प्रहरीले बरामद गरेको चाँदीका गहना । तस्विर– रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ ८ गते । एकडारा–४ स्थित सीमावर्ती गाउँ हलखोरीबाट प्रहरीले भारतबाट सीमा छली ल्याउँदै गरेको अवस्थामा ठुलो परिमाणको चाँदीका गहना बरामद गरेको छ । 

प्रहरीले ६ किलो ५६४ ग्राम तौल बराबरका चाँदीका पायल र सिक्री लगायतका तयारी गहना बरामद गरेको हो । बरामद गहनाको बजार मूल्य साढे ६ लाख रुपियाँभन्दा बढी रहेको स्थानीय स्वर्ण व्यवसायीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवालका अनुसार सीमावर्ती गाउँ हलखोरीनजिकको सडकमा प्रहरीले शनिवार सवारी चेकजाँच गरिरहेको अवस्थामा दक्षिणतर्फबाट आउँदै गरेका गहना तस्कर मोटरसाइकल छाडी भागेपछि प्रहरीले केहीबेर लखेटे पनि खेत र कान्ला हुँदै दशगजा पार गरेका थिए । 

गहना तस्करले छाडी गएको ज ९ प १७७२ नम्बरको मोटरसाइकल तलासी गर्दा कालो झोलाबाट उक्त गहना पक्राउ परेको जैसवालले बताउनुभयो । जिल्ला प्रहरीले मोटरसाइकलसहित बरामद गहनाको प्रतिवेदन मूल्य ६ लाख ६४ हजार ५२९ रुपियाँ कायम गरी आवश्यक कारबाहीका लागि जलेश्वर भन्सारलाई बुझाउने तयारी भएको उहाँले बताउनुभयो ।