बेलायती साहित्यकार जेम्स हिल्टनद्वारा लिखित उपन्यास ‘लस्ट होरिजन’ मा वर्णन गरिएको काल्पनिक संसारको नाम हो ‘साङ्ग्रिला’ । उपन्यासमा हिल्टनले साङ्ग्रिलालाई रहस्यमयी, सुन्दर र पृथ्वीको स्वर्गका रूपमा चित्रित गरेका छन् । सयौँ वर्ष बाँच्ने साङ्ग्रिलावासी सधैँ खुसी र सुखी रहने उपन्यासमा उल्लेख छ । हिल्टनले कल्पना गरे जस्तै साङ्ग्रिला यस पृथ्वीमा होला, नहोला तर नेपालमै केही यस्ता स्थान छन्, जो हिल्टनको साङ्ग्रिलाभन्दा कम लाग्दैन । यसरी आफ्नो प्राकृतिक छटाले हरमानवलाई मन्त्रमुग्ध पार्ने एक साङ्ग्रिला हो सभापोखरी ।
उत्पत्तिबारे किंवदन्ती
किंवदन्ती अनुसार अठार पुराण लेखनका लागि शान्त र स्वच्छ स्थानको खोजी गर्दै जाँदा लुम्बासुम्बा हिमालको हिउँ पग्लिएको पानीको मुहान मानेर महर्षि वेदव्यास हालको सभापोखरी रहेको क्षेत्र आइपुगेका थिए । अठार पुराणको रचना पूरा गरेपछि वेदव्यासले देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा आदिलाई बोलाएर ती ग्रन्थको समीक्षा गर्न बृहत् देव सभाको आयोजना गरे । यसरी वेदव्यासले देव सभा गरेको पोखरीको नाम सभापोखरी रहन गयो । अर्को किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनाश रोक्न देवताले सभा बसी योजना बनाएको हुनाले सो पोखरीको नाम सभापोखरी रहेको हो । उत्पत्तिबारेका किंवदन्तीमा केही भिन्नता पाइए पनि अग्ला अग्ला चट्टाने पहाडको फेदमा रहेको सभापोखरी जति शान्त छ, झनै सुन्दर पनि । धार्मिक दृष्टिले मात्र महत्वपूर्ण नभई प्रकृतिप्रेमी पैदलयात्रीका लागि समेत यो पोखरी एउटा अत्यन्तै उत्कृष्ट गन्तव्य स्थल बनेको हो ।
अवस्थिति
सङ्खुवासभा जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित सभापोखरी पूर्वी नेपालकै प्रसिद्ध धार्मिक स्थल हो । यस विशाल प्राकृतिक पोखरीकै नामबाट गाउँपालिकाको नामकरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा पर्छ सभापोखरी । पोखरी करिब एक सय मिटर चौडा र दुई सय मिटर लामो छ । सभापोखरीबाट मकालु र कञ्चनजङ्घा हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सभापोखरी जिल्लाका प्रख्यात सभाखोलाको उद्गम पनि हो । अग्ला अग्ला चट्टाने पहाडबिच घेरिएकाले छेवैमा पुग्दासमेत नदेखिने सभापोखरी चार हजार दुई सय मिटरको उचाइमा छ । यसको सुन्दरता वर्णन गरिसाध्य छैन ।
कसरी पुग्ने ?
सदरमुकाम खाँदबारीदेखि सडक यात्रा र केही दिनको पैदलयात्रापछि सभापोखरी पुग्न सकिन्छ । खाँदबारीबाट सभापोखरी गाउँपालिकाको धुपू, बाह्रबिसेसम्म सडक यात्रा र त्यसपछि फुकाम हुँदै सभापोखरी जाने मार्ग प्रचलित र छोटो छ तर यो मार्ग तुलनात्मक रूपमा अप्ठ्यारो छ । यसका अतिरिक्त अर्का दुई मार्गले पनि सभापोखरीसम्मको यात्रा तय हुन्छ । खाँदबारीबाट चिचिला गाउँपालिकाको देउराली, माङ्सिमा पाँचपोखरी भएर खास गरी सङ्खुवासभाको उत्तर पश्चिमी क्षेत्र तथा भोजपुरको उत्तरी क्षेत्रका तीर्थालु सभापोखरी पुग्छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिका र सो आसपासका क्षेत्रका लागि भने भोटखोलाको किमाथाङ्का, रिदाक र तीनपोखरी मार्ग उपयुक्त हुन्छ ।
चल्तीको मार्ग
तेह्रथुमको वसन्तपुरबाट सङ्खुवासभाको चौकी हुँदै गुफापोखरीसम्म सडकमार्ग र त्यसपछि मिल्के–गिद्धे–जलजलेको पदमार्ग हुँदै सभापोखरी पुग्न सकिन्छ । यो सबैभन्दा सजिलो र चल्तीको बाटो हो । यस पदमार्ग पश्चिमतर्फ सङ्खुवासभाको मादी, चैनपुर र पाँचखपन नगरपालिका तथा पूर्वतर्फ तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका तथा ताप्लेजुङको मैवाखोला गाउँपालिकाको सीमावर्ती क्षेत्र प्रायः डाँडैडाँडा भएर अगाडि बढ्छ । ताप्लेजुङको अधिकांश क्षेत्रका साथै तेह्रथुम, धनकुटालगायत तराईका जिल्ला र काठमाडौँबाट जाने पदयात्री तथा तीर्थालुले यही मार्ग प्रयोग गर्छन् । यस मार्गमा जब मिल्केबाट यात्रा उकालोतर्फ अगाडि बढ्छ, अनुभूतिहरू झनै सुन्दर बनिदिन्छ । फाँटिला खर्क र गोठहरू हुँदै अनि सानाठुला अनेकन् कुण्ड र पोखरी छिचोल्दै अगाडि बढ्ने यस यात्राबाट जोकोहीले अपूर्व अनुभूति सँगाल्दछन् । बाटोमा चौँरीका बथान छिटपुट भेटिन्छन् भने भेडीगोठ माथिल्लो क्षेत्रसम्मै फेला पर्छन् ।
प्रकृतिको स्पर्श
जुनसुकै मार्ग भएर सभापोखरी गए पनि निश्चित उचाइ वा क्षेत्रभन्दा माथि कुनै मानव बस्ती छैन । अझ माथिल्लो क्षेत्रमा त रुखबिरुवासमेत छैनन् । ससाना केही पोथ्रा मात्र देखिने ठुलठुला चौर र पाखा विभिन्न रङ्गीबिरङ्गी फूल फुलेर ढकमक्कै सजिएका हुन्छन् । यस्ता अनेक फूल र सुनपाती, भैरुङपातीको सुगन्धले पूरै चौर र गोरेटो मगमगाइरहेको हुन्छ । कतै टोपी खस्ने उकालो, कतै चट्टानै चट्टानको बिच भएर जाने सानो गोरेटो । यात्रा कष्टसाध्य त होला तर त्योभन्दा बढी रोमाञ्चक र अद्भुत पनि । बाटोमा भेटिने तीर्थालुले यात्राबारे व्यक्त गरिरहेका अनुभव र अनुभूतिले सबैलाई थप रोमाञ्चित बनाउँछ, यात्राको थकान बिर्साउँछ । मुख्यतया नागपञ्चमीदेखि भाद्र कृष्णपञ्चमीसम्म भक्तजन सभापोखरी यात्रामा निस्कन्छन् । यसमध्ये पनि जनैपूर्णिमाका दिन सभापोखरीमा भक्तजनको घुइँचो लाग्दछ । मागेको वर पूरा भएपछि दर्शन गर्न सभापोखरी जाने प्रचलन छ । यसका साथै पोखरीमा स्नान गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ । त्यतिका उचाइको क्षेत्र भएर यात्रा गर्नु कतिपय अवस्थामा स्वास्थ्यका दृष्टिले पनि प्रतिकूल हुन्छ तर निकै पाको उमेरका लाग्ने तीर्थालु पनि उत्तिकै उत्साह र जोसका साथ ठमठम्ती हिँडिरहेको यात्राका क्रममा भेटिन्छन् । खानपान र मौसमको ख्याल गरेको खण्डमा यात्रामा कुनै कठिनाइ महसुस हुन्न । बरु केही समय मात्र मानवीय चहलपहल हुने उक्त जैविक मार्गको यात्राले जीवनले थप आरोग्यता प्राप्त गर्दछ ।
यात्राको तयारी
कुनै पनि मार्ग भएर सभापोखरी गए पनि कम्तीमा दुई दिनसम्म मानव बस्ती छाडेर हिँड्नुपर्ने हुन्छ । पदमार्ग चार हजार छ सय मिटरको उचाइसम्म पुग्छ । बढी उचाइका कारण लेक लाग्न सक्ने भएकाले पूर्वतयारी महत्वपूर्ण छ । ओडार र गोठमा बास बस्नुपर्ने हुँदा त्रिपाल तथा ओढ्ने ओछ्याउने र न्यानो कपडाका साथै यात्रा अवधिभरका लागि आवश्यक खानेकुरा बोक्नुपर्ने हुन्छ । यसका अतिरिक्त लेक लाग्ने सम्भावना धेरै नै हुने भएकाले यस्तो बेला खानुपर्ने खानेकुराको जोहो र सावधानी जरुरी छ । पदमार्गको माथिल्लो क्षेत्रमा छिनछिनमै मौसम परिवर्तन भई कहिले कुहिरो त कहिले घाम लाग्ने हुन्छ । कुहिरो लागेका बेलामा बाटो हराउन सक्ने भएकाले साथमा पथप्रदर्शक अनिवार्य छ । पछिल्लो समय विभिन्न संस्थाले बाटो तथा ओडारको मर्मत गरिदिएकाले यात्रा गर्न र बास बस्न सहज भएको छ । दृश्यावलोकन, साहसिक यात्रा, धार्मिक, पर्यटन, जैविक एवं भौगोलिक विविधताको अनुपम सङ्गम रहेको सभापोखरी यात्राले जोकोहीको मनमा साँच्चै अमिट स्मृति कोर्ने छ ।
प्रवर्धनको प्रयत्न र चुनौती
सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायका साथै स्थानीय पालिकाले पनि सभापोखरीको धार्मिक एवं पर्यटन प्रवर्धनका लागि प्रयत्न गरिरहेका छन् । मानव बस्तीदेखि धेरै टाढा भएकाले त्यहाँसम्म पुग्नका लागि पहिले पहिले स्थायी गोरेटोसमेत हुँदैनथ्यो । अहिले भने पदमार्ग तथा अप्ठ्यारो स्थानमा खुड्किलो र रेलिङ निर्माण भएका छन् । बास बस्नका लागि थप फराकिला पाटीहरू निर्माण गरिएको छ ।
दिगो योजनाको अभावमा नेपालका अधिकांश पर्यटकीय तथा धार्मिक गन्तव्यको जैविक, सांस्कृतिक तथा प्राकृतिक स्वरूप र महìव विनाश भइरहेका छन् । अहिलेसम्म सभापोखरी मात्र यस्तो गन्तव्य हो, जसको जैविकता र प्राकृतिक विविधता हालसम्म कायमै छ । तीर्थालुको सहजताका लागि थप काम गर्नु जरुरी छ र यसका लागि प्रयासहरू पनि भइरहेका छन् । यो सकारात्मक कुरा भए पनि सुविधा र विकासका नाममा सभापोखरीप्रतिको आस्था र विश्वास कायम राख्नु मुख्य चुनौती हो ।