• ९ मंसिर २०८१, आइतबार

बढे डेङ्गुका बिरामी

blog

रमेश पौडेल

पोखरा, भदौ ८ गते । कास्कीमा डेङ्गुका बिरामीको सङ्ख्या वृद्धि भएसँगै पोखरामा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । सहरी क्षेत्रमा डेङ्गु पोजेटिभ बढी देखिएपछि सचेतनामूलक कार्यक्रम तीव्र पारिएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवारोग हो । यस्ता प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने हुँदा लार्भा नै नष्ट पार्नुपर्ने पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बताउनुभयो ।

शुक्रबार पोखरा महानगरपालिका–५ र ८ मा डेङ्गु रोग सङ्क्रमण बढी देखिएका क्षेत्रमा खोजी गरी नष्ट गर्ने अभियान अन्तर्गत विशेष सरसफाइ कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा र सशस्त्र प्रहरी कालिका गणलगायत स्थानीय टोल विकास समितिहरूसँगको सहभागितामा जनचेतनामूलक सामग्री वितरण गर्दै सचेतना कार्यक्रम गरिएको गणका गणपति अरुण पौडेलले बताउनुभयो ।

डेङ्गु रोग सङ्क्रमण बढ्दै गएपछि पालिकाहरूलाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । उहाँले सरकारी कार्यालयदेखि लिएर हरेक टोलमा सरसफाइका कार्यक्रम तीव्र पार्न पालिकालाई आग्रह गरिएको बताउनुभयो ।

कास्कीमा मात्रै एक महिलासहित दुई जनाको डेङ्गु रोगका कारण मृत्यु भएको छ । त्यस्तै तनहुँबाट डेङ्गु रोग सङ्क्रमण भई पोखरामा उपचारका क्रममा आएका एक जनाको पनि मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख नेपालीले बिहीबार बेलुकासम्म ९९९ जनामा यो रोगको प्रकोप देखिए पनि एक हजारभन्दा बढी डेङ्गुका बिरामी रहेका बताउनुभयो ।

सरकारी तथ्याङ्कबाहेक दैनिक अस्पताल र स्वास्थ्य प्रयोगशालामा आउने बिरामी पनि वृद्धि भएको लाइफ केयर डाइग्नोस्टिक तथा रिसर्च सेन्टरका प्रबन्ध निर्देशक शुक्र कँडेलले बताउनुभयो । उहाँले आफ्नो प्रयोगशालामा मात्र दैनिक १० देखि १२ जनामा डेङ्गु पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

यसै गरी कास्कीसहित गण्डकी प्रदेशमा डेङ्गुका बिरामी वृद्धि भएसँगै निजी क्षेत्रका प्रयोगशालालाई निश्चित शुल्कमा डेङ्गु परीक्षण गर्न गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाले परिपत्र जारी गरिसकेको छ । हाल प्रदेशमा डेङ्गुको महामारी रहेकाले विभिन्न माध्यमबाट निजी प्रयोगशालाले डेङ्गुको द्रुत परीक्षण किट प्रयोग नगरेको र यसको शुल्क छ सय रुपियाँभन्दा बढी लिएको जनगुनासो आएसँगै प्रयोगशालाले छ सय रुपियाँभित्र डेङ्गु परीक्षण गर्न सूचना जारी गरेको हो । 

प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाको विशेष उपस्थितिमा प्रादेशिक डेङ्गु रोकथाम तथा नियन्त्रण निर्देशक समितिको बैठकले उक्त निर्णय पालना गर्न निर्देशन दिएको छ । कानुनबमोजिम नगरे कारबाही गरिने प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्रले बताउनुभयो ।

सरकारी तथा निजी अस्पतालमा परीक्षण गरिएको डेङ्गु सङ्क्रमणमा कास्कीका पाँच पालिकामध्ये सबैभन्दा धेरै पोखरा महानगरमा करिब ८५० भन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् भने मादी गाउँपालिकामा हालसम्म यस सिजनमा डेङ्गुका बिरामी भेटिएका छैनन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), गण्डकी मेडिकल कलेज, मेट्रोसिटी, फिस्टेल, रिजनल, मणिपाल शिक्षण अस्पताललगायतमा डेङ्गु सङ्व्रmमणका बिरामी उपचाररत छन् ।