• २२ पुस २०८१, सोमबार

जाइकाको प्रमुख प्रतिनिधिमा मात्सुजाकी

blog

काठमाडौँ, भदौ ८ गते । नेपालको प्रमुख अन्तर्राष्ट्रिय विकास साझेदार जाइका नेपालको नयाँ प्रमुख प्रतिनिधिका रूपमा मात्सुजाकी मिजुकी आउनुभएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक समारोहबिच उहाँलाई नेपालमा स्वागत गरिएको छ । 

स्वागतलगत्तै उहाँले नेपालसँग आफ्नो पुरानो निकटता रहेको बताउनुभयो । जाइका नेपालको प्रमुख प्रतिनिधिका रूपमा नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्न आतुर रहेको उहाँले प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा रहँदा यहाँको विकास र समृद्धिलाई बढावा दिने जाइकाको उद्देश्य अनुसार विकासको लक्ष्य हासिल गर्न नेपाली जनता र सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहने छु ।” यस वर्ष जापानको विकास सहायता विस्तारको ६० औँ वर्षगाँठ मनाइँदै छ । थप विकास प्रयासलाई निरन्तरता दिँदै कोसेढुङ्गामा परिणत गर्ने विश्वास पनि उहाँले सो क्रममा व्यक्त गर्नुभयो । फिलिपिन्स, अफ्रिकालगायतका देशको विकास तथा जापानको विभिन्न मन्त्रालयमा समेत लामो अनुभव रहेको उहाँले आफ्नो अनुभवलाई नेपालमा उपयोग गर्दै दुई देशको सम्बन्धलाई उचाइमा पु¥याउन सघाउने प्रस्ट्याउनुभयो । 

सो क्रममा नेपालबाट बिदाइ भएर फर्कन लाग्नुभएका निवर्तमान प्रमुख ओकुबो अकिमित्सुले नेपालमा रहँदाको अनुभव साट्नुभयो । उहाँले नेपाल सुन्दर र सांस्कृतिक सम्पदाले भरपूर देश रहेको स्मरण गर्दै नेपालमा रहँदाको अनुभवको राम्रा पक्षलाई आफ्नो देशमा लागु गर्न पहल गर्ने बताउनुभयो ।