गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ६ गते । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
स्व. गौतमको दोस्रो स्मृृति दिवस आगामी असोज २ गते (सेप्टेम्बर १८) का अवसरमा पुरस्कार प्रदान गरिने बताइएको छ । दुई प्रतिष्ठित व्यक्तित्व गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई सो अवसरमा प्रशंसापत्र प्रदान गरिने प्रालि.का अध्यक्ष प्रदीपा गौतमले बताउनुभयो ।
पुरस्कृत हुनुहुने श्रेष्ठ विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । गेहेन्द्रमान अमात्य नेपाली छापा प्रकाशनको इतिहासमा बिर्सन नसकिने व्यक्तित्व हुनुहुन्छ ।
यस्तै, रघु घिमिरेले पनि नेपाली पत्रकारितामा अतुलनीय योगदान दिनुभएको छ । देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको राशी एक लाख रुपियाँ छ । प्रशंसापत्रका साथमा जनही ५० हजार रुपियाँ रहेको अध्यक्ष गौतमले बताउनुभयो ।