बागलुङ जिल्लाका साबिकका तीन गाउँ विकास समिति बोङ्गादोभान, तमान र खुङ्गखानी समावेश गरेर बनाइएको तमानखोला गाउँपालिकामा हाल छ वटा वडा छन् । यहाँ भौगोलिक रूपमा दुर्गम र विकट बस्ती छन् । यहाँ सडक विस्तार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रको विकासका लागि उल्लेख्य प्रयास भएको छ । दलित र जनजाति समुदायको बाहुल्य रहेको यहाँ जोकलाल बुढामगर गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । अध्यक्ष बुढामगरसँग गोरखापत्रका बेनी समाचारदाता ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
पालिकामा के कति काम भएको छ ?
हाम्रो गाउँपालिका जिल्लाकै दुर्गम र विकट पालिका हो । गरिब, दलित र जनजातिको बसोबास रहेको यहाँ सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्था नाजुक थियो । अहिले विकासका पूर्वाधार बन्दै छन् । हामीले सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीमा जनताको पहुँच वृद्धि गरेका छौँ । सबै वडालाई सडक सञ्जालसँग जोडेका छौँ । ९५ प्रतिशत घरधुरीमा खानेपानीको सुविधा विस्तार भएको छ । पालिकाभित्र १९ वटा विद्यालयमा भवन निर्माण भएका छन् । कृषि र पशुपालनलाई आधुनिकीकरण गर्दै किसानलाई व्यावसायिक बनाउने कामको थालनी भएको छ । नागरिकलाई स्थानीय सरकारको अनुभूति हुने गरी काम गरेका छौँ ।
शिक्षा क्षेत्र सुधारको प्रयास भएको छ ?
शैक्षिक गुणस्तर वृद्धि, पूर्वाधार निर्माण र प्रविधिमैत्री शिक्षण सिकाइलाई जोड दिइएको छ । तीन वटा विद्यालयबाट प्रविधिमैत्री शिक्षण सिकाइको सुरुवात भएको छ । दरबन्दीविहीन विद्यालयमा पालिकाले शिक्षक उपलब्ध गराएको छ । अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले सम्पूर्ण खर्च बेहोरेर पालनपोषणसहित पढाउने काम सुरु गरेको छ । अहिले अभिभावकविहीन १७ बालबालिकाले पालिकाको खर्चमा पढिरहेका छन् । सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउने व्यवस्था गर्ने, कम्प्युटर शिक्षा र त्यसका लागि दरबन्दी व्यवस्थापन गर्ने काम पनि पालिकाले गरेको छ ।
स्वास्थ्य सेवा सहज बनाउनुभएको छ ?
आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि गरेका छौँ । सबै वडामा स्वास्थ्य संस्था बनेका छन् । भौगोलिक रूपमा विकट चार वटा बस्तीमा स्वास्थ्य परामर्श केन्द्र स्थापना गरेका छौँ । बोङ्गादोभान स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा विकास गरिएको छ । यहाँ हामीले एक जना मेडिकल अधिकृतसहितको दरबन्दी व्यवस्थापन गरेर सुरक्षित सुत्केरी र आधारभूत तहका सबै उपचार सेवा नागरिकलाई प्रदान गरेका छौँ । चार वटा बर्थिङ सेन्टर स्थापना गरेका छौँ । सबै स्वास्थ्य चौकीमा ल्याब र एक्सरे सेवा उपलब्ध गराएका छौँ । गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गरेर नागरिकलाई सेवा दिएको छ । स्वास्थ्य शिक्षामा पनि जोड दिइएको छ ।
सडक पूर्वाधारमा पनि प्रगति भएको हो ?
प्रदेशको साझेदारीमा रणनीतिक सडकको स्तरोन्नति सुरु भएको छ । यसले गाउँपालिका केन्द्रदेखि वडा नं. ४ को सोलेडाँडा हुँदै छिमेकी जिल्ला म्याग्दीलाई जोड्छ । यो सडक स्तरीय बनाएर बाहै्र महिना आउजाउको व्यवस्थापन गर्ने लक्ष्य छ । यो सडकले तमान र लामेलाका किसानले उत्पादन गरेका कृषि उपजलाई सजिलै बजार पठाउन सकिन्छ । साथै सबै वडा सडक सञ्जालले जोडिएका छन् । सडक स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालन गर्न सक्ने बनाउन लागिपरेका छौँ । पालिकामा धेरै खोलानाला भएकाले वर्षाको समयमा आवागमनमा कठिनाइ भएको छ । प्रदेशसँगको सहकार्यमा सडक पुल बनाउने योजना पालिकाले बनाएको छ । हालै मात्र पालिकाको आफ्नै लगानीमा एउटा सडक पुल निर्माण गरेका छौँ ।
कृषि क्षेत्रको विकासलाई महत्व दिनुभएको छ ?
यहाँ आलु उत्पादन राम्रो हुन्छ । लाममेलाको आलु प्रख्यात छ । कृषि पेसालाई आधुनिकीकरण गर्दै कृषि उत्पादन वृद्धि गर्ने पालिकाको लक्ष्य छ । किसानलाई तालिम, बिउबिजन, कृषि उपकरणलगायतमा अनुदानको व्यवस्था मिलाएका छौँ । कृषि उत्पादनको बजारीकरणमा पालिकाले सहयोग गरेको छ । कृषि सङ्कलन केन्द्र तथा कोल्ड स्टोर पनि बनाएका छौँ । सोलेडाँडामा जडीबुटी सङ्कलन तथा प्रदर्शनी केन्द्र बनाउने योजना छ । काम पनि सुरु भइसकेको छ । गाउँपालिकामा पाइने जडीबुटी सूचीकृत गर्ने, संरक्षण गर्ने र अध्ययन अनुसन्धान गर्न चाहने जोकोहीका लागि स्रोत केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ । अहिले जडीबुटी सङ्कलन र बिक्रीमा कानुनी जटिलता छ । पालिकाले कानुन बनाएर त्यसको सहजीकरण गर्ने र राष्ट्रिय तहमा पनि यो अवधारणा प्रचार गर्ने लक्ष्य छ ।
स्वरोजगारका योजना पनि छन् ?
स्वरोजगारका लागि महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरेका छौँ । पालिकाका छ वटै वडाका महिलालाई सिप सिकाएर उद्यमशील बनाउन थालेका छौँ । महिलालाई सिप र औजार उपलब्ध गराएर कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायतका काम भएका छन् । यहाँका महिलाले झोला, सल, स्वेटर, टोपी उत्पादन गरेका छन् । अहिलेसम्म २५० महिलालाई तालिम र सिप दिएका छौँ । महिलालाई उद्यमी बनाउने हाम्रो योजना छ ।
पर्यटनको सम्भावना पनि छ ?
तमानखोला पर्यटनमा पनि राम्रो सम्भावना भएको पालिका हो । सोलेडाँडा, वराहताललगायतका केही स्थानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम थालेका छौँ । सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण भएका छन् । यहाँको जीवनशैली, मौलिक रहनसहन र संस्कृति पर्यटनका आधार हुन् ।
चुनौतीको सामना गर्नुभएको छ ?
हाम्रो गाउँपालिका भौगोलिक रूपमा विकट छ । प्रदेश र सङ्घ सरकारले हाम्रो मागको सुनुवाइ गर्दैन । सीमित स्रोतसाधनले जनताको अपेक्षा पूरा गर्न कठिन छ । सडक सञ्जालले ढोरपाटन जोड्ने योजना आरक्षका कारण पूरा भएको छैन । सिकार आरक्ष सङ्घीय सरकारको मातहतमा हुने भएकाले प्रव्रिmया लामो र झन्झटले बोङ्गादोभान हुँदै खुङ्खानी, गुर्जाघाट ढोरपाटन सडक पूरा हुन सकेको छैन । छरिएको बस्तीमा विकासका योजना सञ्चालन गर्न समस्या छ । सङ्घ र प्रदेशबाट स्थानीय तहको आवश्यकता र मागबमोजिम बजेट नआउने पक्षचाहिँ मुख्य चुनौती हो ।