• ८ मंसिर २०८१, शनिबार

उखुको अनुदान माग

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ ६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग उखु किसानलाई तत्काल अनुदान रकम वितरण गर्न किसानका अगुवाले माग गरेका छन् ।  

उखु क्रसिङ सिजन २०८०/८१ मा चिनी उद्योगलाई उखु बिक्री गरेको पाँच महिना बितिसक्दासमेत किसानले अनुदान रकम पाउन सकेका छैनन् । उखु खेती धेरै हुने सर्लाही र रौतहटबाट बुधबार कृषि मन्त्रालय पुगेका नेपाली कांग्रेसका नेताको टोलीले उखु किसानका लागि तत्काल जिल्लामा अनुदान रकम निकासाको व्यवस्था मिलाइदिन माग गरेको हो । 

उखुको अनुदानका लागि यथाशीघ्र कदम चालिदिन आग्रह गर्दै मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाइएको मन्त्रालय पुग्नुभएका जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री अधिकारीसँग उखु किसानलाई राहत पुग्ने गरी अनुदानबाहेक अन्य कार्यक्रम ल्याइदिन आग्रहसमेत गरिएको छ । 

ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले उखु किसानको अनुदान रकम जतिसक्दो चाँडो निकासाका लागि पहल भइरहेको बताउनुभयो । किसानले ल्याएर बिक्री गरेको उखु पेलेर चिनी उद्योग माघ/फागुनमै बन्द भए पनि किसानले पाउने अनुदान रकमबारे भने भदौ लागिसक्दासम्म पनि अन्यौलता नै छ । 

किसान दसैँतिहारअघि नै अनुदान रकम आउने र त्यही रकमले चाडपर्व मनाउने आसमा बसेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको अनुदान रकम चाडबाडअघि नै किसानको खातामा आइसक्ने व्यवस्था मिलाउन लागिपरिरहेको बताउनुभएको छ । 

सरकारले गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण गर्दा चिनी उद्योगले ५६५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने उल्लेख छ ।