• १६ भदौ २०८१, आइतबार

बेनीमा नागनागिनी नृत्य

blog

बेनीमा देखाइएको नागानगिनी नृत्य । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ ४ गते । 
म्याग्दीको बेनीमा नेवार समुदायले जनै पूर्णिमाको अवसरमा सापारु तथा  नागनगिनी नृत्य देखाएका छन् । नेवार समुदायमा एक वर्षको अवधिमा स्वर्गारोहण भएका व्यक्तिहरूको दिवङ्गत आत्माको चीरशान्तिको कामनाका लागि सोमबार र मङ्गलबार दुई दिन सापारु तथा नागानगिनी नाच प्रदर्शन गरेका हुन् । बेनीमा नेवार समुदायको बसोबास भएदेखि नै यो नाच देखाइँदै आएको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

नेवार समुदायले विधिवत् रूपमा पूजाअर्चना गरेर सापारु र नागानगिनी नृत्य सुरु हुने उहाँले बताउनुभयो । नागानगिनी नृत्य नेवारी समुदायको करिब तीन सय वर्ष पुरानो मौलिक कला संस्कृतिमा रूपमा रहेको छ ।

नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत भएकाहरूको सम्झनामा जनै पूर्णिमाका दिन र  भोलिपल्ट नागानगिनी नृत्यसहित सापारु निकाल्ने प्रचलन रहेको नेवार समुदायका अगुवा प्रमोद श्रेष्ठले बताउनुभयो ।


नेपाल भाषा मंका : खलः र ल्याम पुचःको आयोजनामा जनैपुर्णिमाका दिन र भोलिपल्ट दुई दिनसम्म वर्षभरिमा दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा नागानगिनी नाच प्रदर्शन गर्दै बजार परिक्रमा गर्ने गरिन्छ । नेवारी पोसाकमा सजिएका पाका र युवायुवतीहरूले बाजाको तालमा ‘राजमति कुमती’ गीत गाउँछन् र एक जना पुरुष महिलाको भेषमा नागनी र अर्को जना नाग भएर नाच्ने प्रचलन छ ।

बेनीमा पछिल्लो समय नागानगिनी नृत्य पुस्तान्तरण भएको छ । नयाँ पुस्ताले पनि मौलिक कला संस्कृतिको सिको गरेका छन् । नेवार संस्कृतिको पुस्तान्तरणा लागि नेपाल भाषा मंकाःखलले युवालाई तालिम र प्रशिक्षण दिँदै आएको नेपाल भाषा मंकाःखलःका अध्यक्ष श्रेष्ठले बताउनुभयो । मौलिक कला र संस्कृतिको संरक्षणमा बेनीका नेवार समुदायमा जागरण पैदा भएको उहाँको भनाइ छ ।