• १६ भदौ २०८१, आइतबार

गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण, ११४ जनामा स्क्रबटाइफस

blog

गुणबहादुर रोका     
सुलीकोट, भदौ ४ गते  । 
गोरखामा दुई महिनाको अवधिमा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढ्न थालेकाले असार र साउनमा मात्रै गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार असार १ देखि साउन अन्तिमसम्म जिल्लाको गोरखा नगरपालिकामा १६९ जना, पालुङटार नगरपालिकामा १२३ जना, आरुघाट गाउँपालिकामा १६४ जना, भीमसेन थापा गाउँपालिकामा ४२ जना, सहिद लखन गाउँपालिकामा १३ जना, अजिरकोट गाउँपालिकामा नौ जना, बारपाक सुलिकोट चार जना र गण्डकी गाउँपालिकामा पाँच जनामा डेंगु सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

यसैगरी, दुई महिनामा मात्र गोरखामा ११४ जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको छ । जसमा आरुघाट गाउँपालिकामा ५९ जना, गोरखा नगरपालिकामा ३४ जना, पालुङटार नगरपालिकामा १८ जना र भीमसेन थापा गाउँपालिकामा तीन जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताउनुभयो ।

डेंगु विशेष गरी भदौ र असोजमा यो रोग देखिने भएता पनि अहिले साउन महिनाको सुरुदेखि नै गोरखामा देखिन अत्यधिक मात्रामा देखिन थालेको छ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ । वर्षातको समयमा जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरू, पुरान टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिबिरा आउने, मांसपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राव हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् । डेंगु रोग लाग्नु नदिन लामखुट्टेको टोकाइबाट बच्न जिल्ला स्वास्थ्य कार्यालय गोरखाले अपिल समेत गरेको छ ।

आरुघाट गाउँपालिकामा लार्भा खोज र नष्ट गर अभियान

आरुघाट गाउँपालिकामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा ल्याएको छ । आरुघाट गाउँपालिकामा अत्यधिक मात्रामा डेंगु सङ्क्रमण देखिएपछि शनिबारबाट अभियान सुरु गरी मङ्गलबार आरुघाट बजार क्षेत्रमा सरसफाइ गरिएको स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिका भरिका प्रत्येक वडामा स्वास्थ्यकर्मी, युवा क्लब, आमा समूह, महिला स्वयंसेविका समेतको उपस्थितिमा मोटरसाइकलको ग्यारेजमा राखिएका टायर र खुला भाडामा रहेका पानी फयाकेर सरसफाइमा ध्यान दिँदै सचेतना कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।