• ८ मंसिर २०८१, शनिबार

दुई हजार चार सय ९७ पिन्ट रगत वितरण

blog

टीकापुर (कैलाली), भदौ २ गते । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो ।

केन्द्रमा १८ पिन्ट रगत बाँकी रहेको भन्दै २१ पिन्ट अन्य रक्तसञ्चार केन्द्रमा पठाइएको र २३ पिन्ट रगत म्याद गएर खेर गएको रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार वितरण भएको रगतमध्ये दुई हजार एक सय ८७ पिन्ट टीकापुर अस्पतालमा र बाँकी यहाँका निजी अस्पतालमा खपत भएको छ । सबैभन्दा बढी नौ सय २२ पिन्ट ‘बी’ पोजेटिभ र सबैभन्दा कम तीन पिन्ट ‘एबी’ नेगेटिभ रगत वितरण गरिएको छ । 

रेडक्रसले विभिन्न सङ्घसंस्था, विद्यालय, प्रहरी तथा समूहसँग रक्तदान कार्यक्रममार्फत रगत सङ्कलन गरेको विष्टको भनाइ छ । टीकापुर अस्पतालमा दैनिक शल्यक्रिया हुन थालेपछि रगतको माग बढ्दै गएको छ । केन्द्रको तथ्याङ्कअनुसार सङ्कलन भएको रगतमध्ये एक हजार सात सय पिन्ट रगत महिलामा प्रयोग हुने गरेको छ । टीकापुर अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने र सुत्केरी हुने बेला अत्यधिक रक्तस्राव हुँदा रगत आवश्यक पर्ने अस्पतालका स्त्री रोग विशेषज्ञ डा.सञ्जयकुमार दासले बताउनुभयो ।

शल्यक्रिया गर्दा दुई/तीन पिन्टसम्म रगत आवश्यक पर्दछ । टीकापुर अस्पतालमा अहिले स्त्रीरोगबाहेक हाडजोर्नीको पनि शल्यचिकित्सकमार्फत शल्यक्रिया हुने गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा आउने सिकलसेलका बिरामीले मासिक तीन पिन्टसम्म रगत लिने गरेका केन्द्रका कर्मचारी अरुण चौधरीले बताउनुभयो । “रगतको माग बढिरहेको छ, सङ्कलन कम हुँदा समस्या हुन्छ”, उहाँले भन्नुभयो । कैलाली र बर्दियाको करिब ५० प्रतिशत नागरिक टीकापुरको रक्तसञ्चार केन्द्रका भरमा पर्ने उहाँको भनाइ छ ।

“रक्तदान गर्ने वानीको विकास गर्न सचेतना आवश्यक छ, यसमा सबैले सहयोगी भूमिका खेल्नुपर्छ । केन्द्रले हरेक ग्रुपको एक÷दुई पोका रगत भण्डारण गरेर राख्ने गरेको छ”, चौधरीले भन्नुभयो, “रगत लिन आउनेले पनि दिने मान्छे खोज्ने नियम बनाएका छौँ, तर कार्यान्वयन भएको छैन ।” रगतको माग बढ्दै जाने र रक्तदान गर्नेको सङ्ख्या घट्दै जाँदा रगत अभाव हुने रेडक्रस टीकापुर उपशाखाका सभापति विष्टले बताउनुभयो । “वार्षिक दुई हजार पाँच सय बढी पिन्ट रगत वितरण गर्नु सामान्य होइन । सङ्कलनमा नै समस्या छ, रक्तदान गर्न नागरिक मान्नुहुँदैन”, उहाँले भन्नुभयो । 

रगत ‘सेप्रेसन’ मेसिन भएमा सेवाग्राहीलाई उपलब्ध गराउन सहज हुने विष्टको भनाइ छ । “स्थानीयदेखि सङ्घीय सरकारसँग ‘सेप्रेसन’ मेसिनका लागि पहल गरेका छौँ, अहिलेसम्म सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो । सेप्रेसन मेसिन भएमा दुई हजार पाँच सय पिन्ट रगतले यस क्षेत्रको माग धान्ने जनाउँदै विष्टले सेप्रेसन मेसिनमार्फत एक पिन्टबाट चार जनालाई आवश्यक पर्ने रगत उपलब्ध गराउन सकिने उल्लेख गर्नुभयो ।

अहिले टीकापुर र भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाले निः शुल्करुपमा एक व्यक्तिलाई तीन पिन्टसम्म रगत उपलब्ध गराउने गरेका छन् । यसबापत ती पालिकाले रेडक्रसलाई एकमुष्ट रकम भुक्तानी गर्दछन् । यो कार्यक्रम विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सभापति विष्टले जानकारी गराउनुभयो । वि.सं.२०६६ देखि सञ्चालनमा आएको रक्तसञ्चार केन्द्रले स्थापनाकालमा आकस्मिक सेवा दिने गरेको थियो । रेडक्रसले आफ्नै पहलमा केन्द्र सञ्चालन गरी चौबिसै घण्टा सेवा प्रवाह गरिरहेको छ । 

अनुदान नपाउँदा घर निर्माण अधुरै 

विदुर नगरपालिका-८ का रमेश पौडेलको बसोबास गर्दै आएको घर नजिकै निरन्तर बगिरहेको खात्रे खोला (केउरिनी) पहिरोको उच्च जोखिममा छ । सरकारले सुरक्षित स्थानमा नयाँ आवास बनाउन वि.सं.२०७८ चैतमा पहिलो किस्ताबापत ५० हजार दिएसँगै पौडेलले घरको जग हाल्नुभयो । थप रकम नपाउँदा घर निर्माण अधुरै रहेको उहाँले बताउनुभयो ।

“पहिरो अनुगमन गर्न गाउँ आएका सरकारी प्राविधिकले जोखिम भएको ठाउँमा बस्न हुँदैन, सुरक्षित स्थानमा घर बनाउनुहोस् भन्नुभएको छ । सरकारले अनुदान दिने व्यवस्था छ भनेपछि घर बनाउन सुरु गर्‍यौ”, उहाँले भन्नुभयो, “हामीले पनि रकम थप्न सकेनौ । सरकारी अनुदान पनि हालसम्म पाइएन । सुरक्षित ठाउँको घर अधुरै हुँदा जोखिम भनेको स्थानमा नै बसिरहेका छौँ ।”

पौडेल जस्तै विदुर-८ केउरिनी पहिरोबाट विस्थापित भएका दश परिवारले सुरक्षित स्थानमा घर बनाउन अनुदान सहयोग नपाउँदा जोखिमको घरमा बसोबास गर्दै आइरहेका छन् । पहिरो नियन्त्रण गर्न र सुरक्षित स्थानमा घर बनाउन सरकारी सहयोग खोज्दै वडा, पालिका तथा प्रशासनसम्म पुगे पनि आश्वासन मात्र पाएको पहिरो पीडित सङ्गीता तामाङले गुनासो गर्नुभयो । “बालबच्चा जोगाउन कोलनी बजारमा कोठा लिएर राखेका छौँ । आफूहरू भने खेतीपाती र पशुचौपाय कुरेर पहिरोको उच्च जोखिम भएको घरमै बस्दै आएका छौँ”, उहाँले भन्नुभयो । रासस