• २० पुस २०८१, शनिबार

पर्सामा ठुलो परिमाणका लागूऔषधसहित कारोबारी धमाधम पक्राउ

blog

वीरगञ्ज (पर्सा), भदौ २ गते । पर्साको ग्रामीण भेगबाट ठुलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ । पर्सा प्रहरीले पछिल्ला दिनमा ठुलो परिमाणको लागुऔषध गाँजा र चरेससहित कारोबारी पक्राउ गरेसँगै सो खुलासा भएको हो । 

जिल्ला प्रहरी कार्यालयले गत साउन ३१ गते चार सय ८९ किलोग्राम लागुऔषध चरेससहित कालिकामाई गाउँपालिका-१ मुडली बस्ने फुलसरिफ मियाँलाई पक्राउ गरेको हो । प्रहरीले मियाँले बाँसघारीमा खाल्डो खनेर लुकाइराखेको एक सय ९२ किलोग्राम चरेस, दुई सय ६७ किलोग्राम लागु औषध गाँजाको धुलो (पोलान्ड) र ३० किलोग्राम गाँजा फेला पारेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोध ढुङ्गेलले विशेष सूचनाका आधारमा पर्साको ग्रामीण क्षेत्रबाट ठुलो परिमाणको लागु औषध चरेस र गाँजासहित पक्राउ गर्दै आइरहेको बताउनुभयो । “हामीले पर्साका ग्रामीण क्षेत्रमा लागुऔषधको तस्करी हुने सम्भावित क्षेत्रमा उच्च निगरानी गर्दै आइरहेकाले पनि ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गर्न सफल भएका हौँ”, उहाँले भन्नुभयो । 

प्रहरीले साउन १७ गते पनि ५० किलोग्राम गाँजासहित ठोरी गाउँपालिका-२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौंलाई पक्राउ गरेको थियो । गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा सो गाँजा भेट्टाएको थियो । प्रहरीका अनुसार आव २०८०/८१ म लागु औषध सम्बन्धित दुई सय चार मुद्दा दर्ता भएका थिए । 

त्यस्तै, आव २०७९/८० मा तीन सय दुई र आव २०७८/७९ मा भने दुई सय ३७ लागुऔषधका मुद्दा दर्ता भएका थिए । प्रहरीले आव २०८०/८१ मा चार सय १० किलोग्राम गाँजा बरामद गरेको थियो । त्यस्तै, आव २०७९/८० मा भने एक हजार एक सय ६५ किलोग्राम र आव २०७८/७९ मा पनि एक हजार तीन सय ५० किलोग्राम लागु औषध बरामद गरेको थियो । चरेस पनि आव २०७८/७९ देखि २०८०/८१ सम्मको अवधिमा क्रमशः २३, एक सय ४३ र ९१ किलोग्राम बरामद गरेको थियो । रासस