रुकुमपूर्व, साउन ३२ गते । गाउँमाथिबाट पहिरो आइरहेकाले सिस्ने गाउँपालिका–५ को थापागाउँ पहिरोको उच्च जोखिममा परेको छ । थापागाउँको माथिबाट भिरकुनाको पहिरोले गाउँ जोखिममा परेपछि सात घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार कोही छिमेकी र कोही आफ्नै अर्काे घरमा सरेका छन् ।
थापागाउँ माथिको भिरकुनाबाट निरन्तर पहिरो झरिरहेकाले गाउँ जोखिममा परेको सिस्ने गाउँपालिका–५ का वडाध्यक्ष विरेन्द्र बस्नेतले जानकारी दिनुभयो । घरमाथिबाट पहिरो आइरहेकाले हाल अति जोखिम परेका सात घर परिवारलाई सुरक्षित घरमा सारिएको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।
दैनिकजसो पानी परेकाले जति बेला पनि पहिरो आउन सक्ने त्रास छ । ढुङ्गा बिनाको माटो भएकाले वर्षा हुँदा माटो उम्लिएर बग्ने गरेको वडाध्यक्ष बस्नेतको भनाइ छ । तत्काललाई आइरहने पहिरोलाई रोकथाम गर्न सक्ने अवस्था नरहेको बस्नेतले बताउनुभयो ।
वर्षा भइरहेको र पहिरो आइरहेकाले स्थानीयलाई सुरक्षित ठाउँमा सार्नु बाहेक अरु तत्काल केही उपाय नरहेको वडाध्यक्षले बताउनुभयो । वर्षा कम हुँदै गयो भने पहिरो नियन्त्रणको काममा लाग्ने बस्नेतले बताउनुभयो । बस्ती नै जोखिममा भएपछि सुरक्षाकर्मी र गाउँपालिकाको प्राविधिक टोलीले निरीक्षण गर्नुभएको छ ।