• २४ पुस २०८१, बुधबार

अस्पतालमा शय्या अभाव, त्रिपालमुनि उपचार व्यवस्था

blog

त्रिपालले घेरेर व्यवस्थापन गरिएका अस्पतालका बैकल्पिक बेड । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, साउन ३१ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपालले बेरेर वैकल्पिक शय्या थपिएको छ । 

दिनहुँ बिरामीको चाप बढ्दै जाँदा बेड अभाव भएकाले अस्पताल विकास समितिले वैकल्पिक शय्या व्यवस्थापन गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले १५ शय्याको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नुपरेको जानकारी दिनुभयो । शय्याकै अभाव देखिपछि अस्पताल परिसरमा त्रिपालले बेरेर वैकल्पिक शय्या व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । 

अस्पतालले गाडी पार्किङका लागि ग्रिल र जस्ता पाताको प्रयोगमा निर्माण गरिएको छाप्रोलाई त्रिपालले बेरेर अहिले शय्या राखिएको छ । तत्कालका लागि चारवटा शय्या राखिएको र आवश्यक परेको अवस्थामा केही शय्या अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाइ छ । इमरजेन्सी वार्डसमेत भरिएपछि वैकल्पिक रूपमा शय्याको व्यवस्थापन गरिएको छ ।

हिजोआज अस्पतालको भर्ना कक्ष र आकस्मिक कक्षमा बिरामीको चाप हुने गरेको छ । मनसुनजन्य विपदका घटनाहरु, मौसमी फ्लुलगायतका बिरामीहरू बढिरहेकाले वैकल्पिक शय्या थपिएको अध्यक्ष कुसारीले बताउनुभयो । बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको तर दरबन्दी र क्षमता भने १५ शय्याको हुँदा व्यवस्थापनमा निकै समस्या झेलिरहेको अध्यक्ष कुसारीले उल्लेख गर्नुभयो ।

२०४५ सालमा स्थापित यस अस्पतालको क्षमता तथा जनशक्ति विकास हुन सकिरहेको छैन । छिमेकी जिल्ला सल्यान, जाजरकोट, रुकुमपूर्वको अस्पतालको क्षमता वृद्धि गरिएको तर रुकुमपश्चिमको जिल्ला अस्पताललाई बेवास्ता गरिएको गुनासो छ । सेवा प्रवाहका हिसाबले यो अस्पताल अब्बल छ । 

हाल जिल्ला अस्पतालबाट बाल रोग र महिला तथा स्त्रीरोग गरी दुई वडा विशेषज्ञ सेवा प्रवाह भइरहेको छ । यसअघि हाड जोर्नी र नसासम्बन्धी विशेषज्ञ सेवा सञ्चालन भए पनि जनशक्ति अभावले रोकिएका छन् । रोकिएको विशेषज्ञ सेवा समेत तत्काल सुचारु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । पछिल्ला वर्षमा जिल्ला अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि बिरामीको चाप बढ्दै गएको छ ।