• २ माघ २०८१, बुधबार

कालीकोटको पल्टन पूजाका लागि हिँड्यो बडिमालिका

blog

बडिमालिका पुग्नु अघि सुनको गजुरको पूजासहित नुहाउने त्रिवेणी धाम।तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, साउन २९ गते। जिल्ला प्रशासन कार्यालय कालीकोटबाट बिदाइ भएसँगै कालीकोटका पुजारी हरिचन्द धमला सहितको भक्तजनको टोली बडिमालिकातर्फ हिँडेको छ।कालीकोटको सरकारी टोली पनि श्रवण शुक्ल नवमीका दिन बडिमालिका पूजाका लागि जाने गर्छन्।

पुजारी हरिकृण धमालाले आफूसहित सरकारी टोली पूजाका सामाग्री र सुनको गजुर लिएर बडिमालिकातर्फ प्रस्थान गरेको र यो शुभ साइत जहिले पनि श्रावण शुक्ल नवमीको दिन रहेको बताउनुभयो।

यसअघि जुम्लाको सरकारी टोली बडीमालीका माइको पूजाका लागि प्रस्थान गरेको थियो।नागपञ्चमीका जुम्लाको सरकारी टोली चन्दनाथ मन्दिरबाट हर्ष बढाइका साथ बडिमालीका दर्शन र पूजाका लागि प्रस्थान गर्ने गर्छ। यसपालि जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा २१ जनाको सरकारी टोली बडिमालीकातर्फ गएको छ।जुम्लाको तातोपानी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शान्ति सेजुवालले १४ जना महिला र सात जना पुरुष गरेर जम्मा २१ जनाको सरकारी टोली बडिमालीका माईको दर्शन पूजाका लागि बिदाइ भएर गएको बताउनुभयो।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार दिउँसो अर्थात् नागपञ्चमीका दिन बिदाइ गरेको बताउनुभयो ।


उक्त टोलीले बडिमालिका पुग्न १५ दिन लगाउने गरेको छ।त्यसपछि धानको बालासहित अछामको टोली आउँछ भने जुम्लाको टोली नागपञ्चमीका दिन प्रस्थान गर्ने गरेको छ।यसरी अहिले पाँच जिल्लाबाट सरकारी टोली पूजा सामग्री सहित बडिमालिका जाने गरेका छन्।

जनैपूर्णिमाको अघिल्लो दिन श्रावण शुक्ल चतुर्दशीका दिनमा पूजा सकिने गर्दछ।उता डोटीको पेटारो पनि अघिल्लो  सोमबार बिदाइ भएर बडिमालिकातर्फ प्रस्थान गरिसकेको थियो।साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका मन्दिरमा मूल पूजा हुने गर्छ।

बडीमालिकाको मुख्य पूजा चतुर्दशीको दिन बिहानको ११ बजे आसपास सकिने हुँदा सरकारी पेटारे टोलीसहित सम्पूर्ण तीर्थयात्री उक्त दिन बिदाइ हुने गर्दछन्।