अर्जुन काफ्ले
स्याङ्जा, असार २९ गते । भिरकोट नगरपालिका–२ र ५ जोड्ने आँधीखोला मोटरेबल पुल छ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । तीन वर्षमा काम सक्ने गरी थालिएको पुल सम्झौता गरेको छ वर्षसम्म पनि पूरा नभई अलपत्र छ । पुलको हालसम्म भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ७१ प्रतिशत भएको इन्जिनियर सागर भण्डारीले बताउनुभयो । रायमाझी–दी क्याराभान काठमाडौँले सडक डिभिजन कार्यालय पोखरासँग २०७५ असार २६ गते सम्झौता गरेर काम अगाडि बढाएको थियो । अनुमान लागतमा ३३.२६ प्रतिशत छाडेर निर्माण कम्पनीले १४ करोड २६ लाख ३७ हजार ४२० रुपियाँ सम्झौता गरेको थियो ।
पुल स्याङ्जाको भिरकोटबाट पर्वतको पैयुँ, महाशिला पुग्ने छोटो र मुख्य पुल हो । निर्माण कम्पनीले हालसम्म फाउन्डेसन, स्ट्रक्चरको काम, नदीछेउको तारबार र पर्खाल निर्माण सकेको छ भने पुलको दुई वटा स्पान बनाएको छ । पुलको बिचको स्पान निर्माण गर्न बाँकी छ भने छेउछाउको सहायक बाटो निर्माण गर्न बाँकी छ । सडक डिभिजनले दोस्रो पटक २०८० असार मसान्तसम्म म्याद थप गरे पनि निर्माण कम्पनीले काम नसकेको इन्जिनियर भण्डारीले बताउनुभयो । तेस्रो पटक म्याद थप गरेर काम अगडि बढाइएको भण्डारीले बताउनुभयो ।
सडक डिभिजन कार्यालय पोखराले निर्माण गरेको मोटरेबल पुल १२० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको छ । सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बाँस्तोलाले निर्माण कम्पनीका कारण पुल निर्माण ढिलो भएको उल्लेख गर्दै अब म्याद थप नहुने बताउनुभयो ।
उहाँले चौथो पटक थपेको म्यादमा सम्झौता अनुसारको काम नभएमा सम्झौता रकमको ०.०५ प्रतिशतका दरले दैनिक सात लाख १३ हजार १८७ रुपियाँ हर्जना लिइने बताउनुभयो । पुलको निर्माण समयमै नसकिँदा साबिकको स्वरेक र पर्वतबाट ओहोरदोहोर गर्ने नागरिक वालिङ र बयरघारी बजारमा रहेको पुल प्रयोग गर्नु परेको छ ।
पुल समयमै नबन्दा स्थानीय तथा विद्यार्थी जोखिम मोलेर र समय खर्चेर ओहोरदोहोर गर्न बाध्य छन् । आँधीखोलासहित गण्डकी प्रदेशमै सडक डिभिजन कार्यालयका पाँच पुल निर्माणाधीन छन् ।