• ९ मंसिर २०८१, आइतबार

मेला लाग्ने डाँडो बन्यो हरियाली वन

blog

तुलसीपुर समाचारदाता 

तुलसीपुर, साउन २९ गते ।  कुनै समयमा मेला लाग्ने डाँडाका रूपमा परिचित शुभकोटी डाँडामा अहिले भने हरियाली वन भएको छ  । साबिक बिजौरी गाविस–४, मनिकापुरमा रहेको शुभकोटी डाँडामा ३५ वर्षअघि मेला लाग्ने गथ्र्यो । 

तुलसीपुर उपमहानगरपालिका–१८, मनिकापुरका ८४ वर्षीय नदनकुमार अधिकारीले मेला लाग्ने शुभकोटी डाँडामा २०५२ सालमा बिरुवा रोपेर हरियाली बनाएको बताउनुभयो । उहाँले सरकारले खाली क्षेत्रमा वृक्षरोपण अभियान नै थालेपछि गाउँले मिलेर डाँडामा विभिन्न प्रजातिका बिरुवा रोपेको बताउनुभयो । 

८४ वर्षीय अधिकारीले सरकारले वन संरक्षण गर्ने जिम्मा समुदायलाई हस्तान्तरण गरेसँगै समुदाय मिलेर वृक्षरोपण गरिएको बताउनुभयो । सामुदायिक वनका अध्यक्ष हिरालाल पौडेलले वनमा हर्रो, बर्रो, अमला, खयर, आँप, टिक, काइँयो, वर, पिपल, सियौ, मसला प्रजातिका बिरुवा रहेको बताउनुभयो । 

स्थानीय समुदायले शुभकोटी सामुदायिक वन दर्तापछि काठ, दाउरा, घाँस उपभोग गर्दै आएका छन् । उहाँले साढे सात हेक्टर क्षेत्रफलमा रहेको वनमा बर्सेनि वृक्षरोपणसमेत गरिँदै आएको बताउनुभयो ।   

शुभकोटी प्राथमिक विद्यालयका प्रधानाध्यापक झुमाकुमारी वलीले नजिकै रहेको जङ्गलमा बालबालिकाका लागि रमणीय पार्क बनाउन सके पठनपाठनमा सहज हुने बताउनुभयो । उहाँले नजिकै सामुदायिक वन हुँदा विद्यार्थीलाई वनका विषयमा वनमै पुगेर पढाउन सजिलो भएको बताउनुभयो । 

उहाँले स्थानीय पाठ्यक्रममा समेत सामुदायिक वन रहेको र आफ्नो विद्यालयकै छेउमा सामुदायिक वन हुँदा पठनपाठनमा समेत सहज भएको बताउनुभयो ।