• ८ मंसिर २०८१, शनिबार

युवा शक्तिको उपयोग

blog

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ ।

विश्वका युवा भविष्यको जिम्मेवार वर्ग हुन् । युवासँग अथाह चुनौतीसँग जुध्न सक्ने असीम बल हुन्छ । उनीहरूको संवेदनशीलता निश्चल र निर्मल हुन्छ । युवा प्रगति, परिवर्तन एवं क्रान्तिका दूत हुन् । त्यसैले त विश्वभरिका युवालाई सही दिशा र एउटा सुन्दर भविष्यको प्रेरणा प्रदान गर्न प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको प्रमुख उद्देश्य विश्वभरिका युवालाई जागृत गर्नु हो । युवा शक्तिको सदुपयोग गरेर विश्वको सुन्दर भविष्यको सङ्कल्प साकार पार्नु हो । 

युवाको अगााडि एउटा सुन्दर देश बनाउन र परिमाणमुखी आकार दिनका लागि उत्कृष्ट विचार र रचनात्मक ऊर्जा छ । युवाको शक्ति पूरै देशका लागि असामान्य धन हो । युवाको अनुहार नै वर्तमान र भविष्यको अनुहार हो तर देशको भविष्यको अनुहार मानिने र परिवर्तनको संवाहक मानिने नेपाली युवाको अवस्था र सहभागिता भने उत्साहजनक छैन । राष्ट्रिय विकासमा युवा सहभागिता न्यून छ । युवावस्था जीवनको त्यो अवधि हो, जुन शक्ति र क्षमतासँगै अगाडि बढ्छन् । 

विडम्बना नेपाली युवाको शक्ति र क्षमता अवसरबाट वञ्चित हुँदा क्षीण भएको छ । युवाको उमेर समूहको आवश्यकतालाई दृष्टिगत गर्न नसक्दा कैयौँ युवाका सपना गर्भमै तुहिएका छन् । युवाले पाउनुपर्ने अधिकारसहित राज्यको सेवा सुविधा प्राप्त नहुँदा युवाका पाइला गैरसामाजिक तथा दुव्र्यसनीमा फसेका छन् । युवाका लागि सरकारले तथा युवासम्बन्धी काम गर्ने सङ्घ संस्थाले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गर्न सकेका छैनन् । 

युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्ने नीति बनाइएको छैन । कतिपय नीति बने पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । शिक्षा आर्जनका क्रममा रहेका, रोजगारी तथा वृत्तिविकासको अवस्थामा रहेका युवाका मुद्दा तथा प्राथमिकतालाई ध्यान दिइएको छैन । युवाको संवेदनशीलता र जीवनयापनका विविध पक्षबारे नजरअन्दाज गरिएको छ । वैदेशिक रोजगारी र अध्ययनका नाममा दैनिक सयौँको सङ्ख्यामा पलायन हुने युवालाई रोक्न सकिएको छैन । युवालाई देशभित्र टिकाउन प्रशस्त मात्रामा युवा आकर्षिक कार्यक्रम तयार गर्न सकिएको छैन । यस सम्बन्धमा न राज्य गम्भीर भएर लागेको छ न त यस सम्बन्धमा सरकारलाई सुनाउन सक्ने गरी कसैले आवाज बुलन्द गर्न सकेको छ । बिदेसिएका सिर्जनशील, प्रतिभावान् र क्षमतावान् युवालाई स्वदेशमै फर्काउन यथेष्ट प्रयास पनि गर्न सकिएको छैन ।  

गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सिप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगाानी र उद्यमशील वातावरणको अभाव, लैङ्गिक, क्षेत्रीय, जातीय असमानता तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएका नकारात्मक प्रभाव नेपाली युवाका समस्या एवं चुनौतीका रूपमा रहेका छन् । 

युवालाई देशमै टिकाउनका लागि सर्वप्रथम सुशासन हुनु पर्छ । हरेक युवाले आज विश्व बुझेको छ । आफ्नो सिप र क्षमता कहाँ गएर बढाउन सकिन्छ र त्यसलाई कहाँ प्रयोग गर्न सकिन्छ भनेर उसले राम्ररी चाल पनि पाएको छ । आफ्नो सिप र क्षमता बढाउन र त्यस अनुसार आर्जन गर्न जो पनि तयार हुन्छ । यो मानवीय स्वभाव नै हो । विशेष गरी आफ्नो भविष्य सुरक्षित हुन्छ, सुख पाइन्छ भनेपछि युवा पनि त्यो बाटोमा नजाने कुरै हुँदैन । त्यसैले युवालाई आफ्नो क्षमता र सिप बढाउन र त्यसलाई प्रयोग गरेर आफ्नो भविष्य देशमै सुरक्षित हुन्छ भन्ने वातावरण बनाउन राजनीतिक नेतृत्वले सुशासनमा जोड दिनु पर्छ । अनि मात्र युवा देशमै रहन सक्छन् । भ्रष्टाचार, अनियमितता, प्रशासनिक झमेलाले युवालाई देशमा टिकाउन सघाउँदैन । यस पक्षमा राजनीतिक साथै प्रशासनिक नेतृत्वले विशेष भूमिका निर्वाह गर्नु पर्छ ।  

युवा राष्ट्रको महत्वपूर्ण स्रोत भएकाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत जनजीवनका हरेक क्षेत्रमा उनीहरूमा निहित क्षमताको विकास गरी राष्ट्र निर्माणमा अग्रसर गराउन जरुरी छ । युवामा सिर्जनशीलता, वैज्ञानिकता, जिम्मेवारीपूर्ण व्यवहार, उद्यमशीलता, नागरिक सोच र जवाफदेहिताको विकास गरी न्याय र नैतिकतामा आधारित स्वच्छ सामाजिक जीवनको विकास गर्न युवाको अन्तर्निहित क्षमताको विकास गर्न आवश्यक छ । 

युवा प्रतिभा पलायन रोक्न उपयुक्त व्यवस्थापन तथा विश्वव्यापी रूपमै सिर्जना हुने अवसरमा नेपाली युवाको पहुँच सुनिश्चित गर्नु पर्छ । युवाको आधारभूत अधिकारको प्रत्याभूति गर्दै युवा सशक्तीकरणका माध्यमबाट सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गर्न सक्नु पर्छ । सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासका माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूल धारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाको भूमिका र उनीहरूमा अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउने लक्ष्य लिनु पर्छ । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्दै युवाको शारीरिक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त नैतिक, सुसंस्कृत, सिर्जनशील र व्यावसायिक रूपमा दक्ष युवा तयार पार्ने लक्ष्य लिनु पर्छ । युवालाई परिवर्तनको संवाहक र दिगो विकासका उत्प्रेरक शक्तिका रूपमा विकास गर्न राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, लोकतन्त्र र मानव अधिकारका आधारभूत सिद्धान्त एवं मूल्यमान्यता बोध गराउने कार्यक्रम सञ्चालन गर्नु पर्छ ।  

अन्त्यमा युवाको संवेदनशीलतालाई दृष्टिगत गरी जीवनयापनका विविध पक्षबारे मार्गदर्शन गर्नु राज्यको प्रमुख दायित्व हो । युवा राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका संवाहक भएकाले राष्ट्रिय नीतिबाट विशेष रूपमा सम्बोधन गरी राष्ट्र निर्माणमा अग्रसर गराउन अवश्यक छ । युवा शक्ति कुनै पनि देशको त्यो तागत हो, जसले देशको भविष्यलाई बदल्न सक्छन् । युवाको हकहितको संरक्षण र संवर्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवालाई सशक्तीकरण गरी युवा सम्बन्धी विषयको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म आवश्यकता अनुसार उनीहरूलाई संलग्न गराउनु पर्छ । उनीहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा समावेश गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न जरुरी छ । विद्यमान समस्या तथा चुनौती सम्बोधन गर्दै युवा विकासका अवसर तथा सम्भावनाका ढोका खोल्न जरुरी छ ।  

Author

निशा चौधरी