काठमाडौँ, साउन २८ गते । सङ्घीय अस्पताल र प्रतिष्ठानहरूले अस्पतालमा सेवा सुधारको सुरुवात गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १७ वटा सङ्घीय अस्पताल र प्रतिष्ठानहरूले सेवा सुधारको सुरुवात गरेको जनाएको छ । सेवा सुविधा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न सेवामा सुधारको सुरुवात गरेको सङ्घीय अस्पताल र प्रतिष्ठानले जनाएका छन् ।
सङ्घीय अस्पतालको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ९ बुँदे निर्णय गरी कार्यान्वयनका लागि पत्राचार गर्नुभएको थियो । उक्त निर्णय अनुसार अस्पतालहरूले सेवा सुधारको सुरुवात गरेको विवरण मन्त्रालयमा पठाएका छन् ।
विवरण अनुसार अस्पताल र प्रतिष्ठानहरूले भिड नियन्त्रणका लागि अपनाएका उपायहरूमा विस्तारित स्वास्थ्य सेवाको सुरुवात र व्यवस्थापन, ओपिडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन गरेका छन् ।चिकित्सक राउन्ड तथा बिरामी भर्ना/डिस्चार्जबिचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका थप व्यवस्थित गरेको, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीजस्ता कार्यलाई प्राथमिकता दिएको विवरणमा उल्लेख छ ।
अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था, शौचालयको सरसफाइमा सुधार, सफा पिउने पानीको निःशुल्क व्यवस्था, गुनासो व्यवस्थापनका लागि हेल्पडेस्क र गुनासो बक्सहरू व्यवस्थापन गरिएको अस्पतालहरूको विवरणमा जनाइएको छ ।
औषधीहरूको उपलब्धता सुनिश्चित गर्न र बिमा गरिएको बिरामीहरूको लागि फार्मेसी सेवाहरूलाई व्यवस्थित गरिएको, नेभिगेसन र सूचना प्रणालीहरूको उपयोगले बिरामी र आगन्तुकहरूलाई आफूले सेवा लिने विभागसम्म सहजै पुग्न मद्दत पुर्याएको, सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रणाली व्यवस्थित गरिएको विषय पनि प्रगति विवरणमा उल्लेख छ।अस्पतालहरूले सरसफाइ र सुविधा व्यवस्थापनमा पनि विशेष ध्यान दिन थालिएको उक्त विवरणमा राखिएको छ ।
उक्त विवरण अनुसार सुरक्षित र सफा पिउने पानी, सफा र पहुँचयोग्य शौचालयहरूको व्यवस्था र अस्पताल परिसरको सरसफाइलाई प्राथमिकता दिइएको छ । साथै, बिरामी र आगन्तुकहरूका लागि जाँच र सहायता डेस्कहरूको व्यवस्था गरिएको विषयलाई पनि अस्पतालहरूले जोड दिएका छन्।
स्वास्थ्य मन्त्री पौडेलले आम नागरिकले स्वास्थ्य सेवा लिन जाँदा भोग्नुपरेको समस्याको समाधानबाट नै समाधानको सुरुवात गरौँ भनेर पहिलो दिनदेखि नै त्यसलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नुपरेको, अलमलिनुपरेको र झन्झटिलो भन्ने आमनागरिकको गुनासो सुन्दै आएकोले जिम्मेवारी सम्हालेपछि आम नागरिकले स्वास्थ्य सेवा लिँदा बेहोर्ने समस्या समाधान गर्न यस्तो निर्णय गरेको मन्त्री पौडेलको भनाइ छ ।