• १२ असोज २०८१, शनिबार

काम गुणस्तरहीन भएको भन्दै विभागको ध्यानाकर्षण

blog

दमकको व्यस्त शब्जि बजार नजिकको सडक । तस्बिर : बिष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, साउन २६ गते । 
दमक नगरपालिकाको बजार क्षेत्रभित्रका विभिन्न स्थानहरूमा अण्डरग्राउण्ड ढल निकास आयोजना तथा सडक कालोपत्रे आयोजना सञ्चालनको क्रममा लापरबाही भएको भन्दै दमक नगरपालिकाले पुनः खानेपानी तथा ढल व्यवस्थापन विभागको ध्यानाकर्षण गराएको छ । निर्माणको काम सम्पन्न नहुँदै भत्कन थालेको समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

विभाग र निर्माण व्यवसायी एस.सी./स्वामीनारायण/आशीर्वाद जे.भी. बिच सम्झौता भएर काम अघि बढेकोमा निर्माण सम्झौता अवधि सकिएको लामो समय बित्दा पनि उक्त निर्माण कार्य हालसम्म पनि पूरा हुन नसकी यातायातसहित दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर पुगेको भन्दै नगरपालिकाले ध्यानाकर्षण गराएको हो ।

स्थानीय सरकार आम नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको र जनताको सहज पहुँच हुने भएको हुँदा नगरभित्र पूर्वनिर्मित सडक संरचनालाई भत्काई निर्माण व्यवसायीले सडकको बिच भागमा नै खाल्डाखुल्डी पारेर अलपत्र रूपमा निर्माण कार्यलाई छोडिदिएको नगर प्रमुख रामकुमार थापाले बताउनु भयो ।

यसबाट स्थानीयवासीहरुले खेप्नुपरेको सास्ती एवम् असुविधाका सम्बन्धमा स्थानीय नागरिक, दमक उद्योग वाणिज्य सङ्घ, टोल विकास संस्थाहरू तथा दमक नगरपालिकालाई कार्यक्षेत्र बनाएर विकास निर्माणका कार्य तथा गतिविधि सञ्चालन गर्ने संघसस्थाहरु समेतबाट प्रायः दैनिकजसो यस नगरपालिकामा टोली आएर ध्यानाकर्षण गराउने गरेको थापाले बताउनुभयो ।

कैयौँ पटक सम्बन्धित निर्माण व्यवसायीलाई पत्राचार गरिएको र विभागमा तथा मन्त्रालयमा समेत यसको बोधार्थ गराइएको पनि प्रमुख थापाले जनाउनुभयो । फेरि विभाग र मन्त्रालयलाई लिखित रूपमा नै ध्यानाकर्षण पत्र पठाएका छौ, नगर प्रमुख थापाले जनाउनु भयो ।

पटक–पटकको लिखित पत्राचार, मौखिक जानकारी गराएपश्चात् केही स्थानमा निर्माण कार्य भएकोमा कालोपत्रे गरिएको ठाउँहरू भ्वाङ पर्ने तथा यति छोटो समयमै खाल्डो परिसकेको अवस्था समेत अवगत गराउन चाहन्छौँ, ध्यानाकर्षण पत्रमा भनिएको छ । दमक नगरपालिका, वडा नं. ६ स्थित हनुमान मन्दिर अगाडि उक्त आयोजनाअन्तर्गत गरिएको कालोपत्रे बिचबाटोमै ठुलो भ्वाङ परेको, दमक १ स्थित डी टाउन होटल अगाडिको बाटोमा खाल्डाखुल्डी परिसकेको पनि उल्लेख छ ।

नागरिकहरूको धेरै चाप रहने दमक ६ स्थित सब्जीबजार, व्यापारिक तथा यातायातका दृष्टिकोणले अति महत्त्वपूर्ण दमक ७ स्थित पशुहाटदेखि उत्तरको सडक तथा दमक ८ का विभिन्न सडकहरू साबिकमा कालोपत्रे भएको सडक खनेर पुनः कालोपत्रे नगर्दा वर्षातका समयमा पानी जम्ने समस्या रहेको ध्यानाकर्षणमा उल्लेख छ ।

तत्कालै गुणस्तरीय कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने व्यवस्था मिलाइदिनु हुन साथै नजिकिँदै गरेको चाडपर्वहरूलाई ध्यानमा राखी, नगरवासी तथा उक्त पूर्वाधार प्रयोग गर्ने सम्पूर्ण नागरिकहरूलाई सहजतापूर्वक आवतजावत गरी नियमित दैनिक कार्यसम्पादन गर्न पाउने अधिकारबाट वञ्चित नगर्न विभागको ध्यानाकर्षण गराइएको दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेशराज कार्कीले बताउनुभयो ।