• १२ असोज २०८१, शनिबार

केरा पकाउने मेशिनले काम नगर्दा लाखौँको क्षति

blog

लीलाराज खड्का
बिर्तामोड, साउन २६ गते । 
झापाको झापा गाउँपालिका–३ स्थित साधना संस्कृति नमुना कृषि प्रालिको केरा पकाउने मेशिन राइपनीङ चेम्बरले काम नगर्दा यहाँ उत्पादित लाखौँको केरामा क्षति पुगेको छ ।

चेम्बरमा पकाउन हालिएका एक हजार चार सय ३७ घरी केरामा क्षति पुग्दा करिब नौ लाख ३४ हजार ५० रुपियाँ बराबरको क्षति भएको कृषकको भनाइ छ ।

चेम्बरमा विद्युतीय समस्या भएर चेम्बर बन्द हुँदै चल्दै गर्दा केरामा क्षति पुगेको साधना संस्कृति नमुना प्रालिका अध्यक्ष लक्ष्मी तिम्सिनाले बताउनुभयो । तिम्सिनाका  अनुसार केराको काँचो तथा पाकेको घरीमा क्षति पुगेर कामै नलाग्ने भएको छ । करिब २५ लाख खर्चेर राइपनिङ चेम्बर त बनाइयो, तर अहिले नौ लाख बढीको क्षति हुँदा समस्यामा परेको तिम्सिनाको भनाइ छ ।

यस कम्पनीले विगत लामो समयदेखि झापा गाउँपालिकामा केरा खेती गर्दै आएको छ । करिब ३० बिगाहा फैलिएको केरा खेती फैलिएको छ । यहाँ उत्पादित केरा भाटभटेनीका कोशी प्रदेश शाखा, बिर्तामोड, दमक, सुरुङ्गा लगायत क्षेत्रहरूमा बिक्री हुँदै आइरहेको छ भने यस क्षेत्रका कृषकहरू सङ्गठित रूपमा केरा खेती गर्दै आइरहेका थिए ।