• १२ असोज २०८१, शनिबार

नेवाद्वारा खानेपानी पहुँच विस्तार

blog

खानेपानी विस्तार । तस्बिर : रासस

म्याग्दी, साउन २६ गते । म्याग्दीको मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका नौसय ५० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी पहुँच विस्तार गरिएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा), स्थानीय तह र समुदायको लागत साझेदारीमा निर्माण भएका आयोजनाहरूबाट सात हजार सात सय ६२ जनसङ्ख्या लाभान्वित भएका छन् ।

कुल पाँच करोड ९१ लाख ४५ हजार आठ सय २९ को लागतमा खानेपानी आयोजनाहरू निर्माण भएका नेवाको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । नेवाका प्रदेश प्रमुख रमेश दाहालका अनुसार आयोजनाको कार्यक्षेत्रका सबै घरधुरीमा निजी धाराका साथै विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवनमा पनि थप १९ धारा जडान गरिएको छ । 

मालिका गाउँपालिका-२ को ठुलोरुममा दुई सय ७०, कलात भनारीमा ७३ र बिलवाङमा ६४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको मालिका-२ का वडाध्यक्ष उदय बुढाथोकीले जानकारी दिनुभयो । मालिकाकाको बिम डाँडागाउँ, दास, सिरेदी खोप्टी र जनप्रिय माध्यमिक विद्यालयमा निर्माण भएको खानेपानी आयोजनाबाट २३६ धारा जडान भएको छ । धवलागिरि गाउँपालिका-२ को लमसुङ र वडा नम्बर ४ खाम्लामा १०८ घरधुरीमा खानेपानी जडान भएको छ । 

मङ्गला-१ खानीगाउँमा ३७, वडा नम्बर २ खुम्लीया, र्यालेखोर, भाइवाङका १०० र हिदीका ६४ घरमा निजी धारा जडान भएको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले बताउनुभयो । नेवाले दुई करोड ८९ लाख ७० हजार नौ सय ५१ र स्थानीय तहहरूले एक करोड २५ लाख ९३ हजार २३ लगानी गरेका छन् । एक करोड ४८ लाख ६६ हजार चार सय ४० बराबरको श्रमदान गरेका उपभोक्ताहरूले २७ लाख १५ हजार चार सय १५ नगद लगानी गरेका नेवाले जनाएको छ ।

हिदी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले घरघरका धारामा पानी आउन थालेपछि सार्वजनिक धारा, कुवा, पधेरामा धाउँदा हुने समयको बचतको साथै सहज भएको बताउनुभयो । व्यवस्थित रूपमा वितरण भएपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ । पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकता अनुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् । रासस