• ८ मंसिर २०८१, शनिबार

खजुरा क्यान्सर अस्पतालमा सिटी स्क्यान र मेमोग्राफी उपकरण बन्द

blog

बाँकेको खजुरास्थित सुशिल कोइरालाल क्यान्सर अस्पताल । तस्बिर: सिराज खान

सिराज खान
नेपालगन्ज, साउन २६ गते ।
 बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा सिटी स्क्यान, मेमोग्राफी जस्ता अत्यावश्यक उपकरण चार महिनादेखि बन्द हुँदा बिरामीलाई समस्या भएको छ ।

गत चैत १८ गते अस्पतालको रेडियोलोजी भवनमा आगलागी हुँदा सिटी स्क्यान र मेमोग्राफीको वायरिङ जलेर नष्ट हुनुका साथै अन्य विद्युतीय उपकरणमा ठुलो क्षति भएको थियो । आगलागीबाट भिडियो एक्स-रे र एक्स-रे मेसिनमा समेत क्षति पुगेको थियो ।

मर्मत सम्भार गरेर भिडियो एक्स-रे र एक्स-रे सञ्चालनमा आए पनि विद्युतीय उपकरण जडानमा समय लागेकाले सिटी स्क्यान र मेमोग्राफी भने अझै सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साहले बताउनुभयो ।

उहाँले ती उपकरण सञ्चालन नहुँदा बिरामीलाई समस्या परेको स्विकार्नुहुँदै सबै कुरा आफूले मात्र चाहेर पनि नहुने जिकिर गर्नुभयो ।

क्यान्सर रोग पहिचानका लागि अत्यावश्यक मानिने उपकरणहरू चार महिनादेखि सञ्चालन नहुँदा क्यान्सरको पहिचान र निदान गर्न त्यहाँ पुगेका बिरामीहरूले सास्ती खेप्न बाध्य भएको छन् ।

सिटी स्क्यानदेखि लिएर एक्स-रे लगायतका सेवा लिन बिरामीहरू नेपालगन्ज पुग्नुपर्ने अवस्था रहेको जनाउँदै नेपालगन्जमा दोब्बर बढी मूल्य तिरेर जाँच गराउनु पर्ने बाध्यता रहेको क्यान्सर अस्पतालमा बिरामी लिएर पुग्नु भएका जाजरकोटका गोरख शाहीले बताउनुभयो । उहाँले छिटोभन्दा छिटो सबै उपकरण सञ्चालनमा ल्याउन माग पनि गर्नुभयो ।

सोही प्रकारले बिरामी लिएर बर्दियाबाट आउनु भएका बर्दिया राजापुरका नवीन थारुले महत्त्वपूर्ण जाँचका लागि नेपालगन्ज गएर भतारिनुपर्ने अवस्था देखिएको बताउनुभयो ।

अछामबाट बुवाको उपचारका लागि आउनु भएका उषा शाहीले अस्पतालमा सिटी स्क्यान नहुने भएपछि अति नै महँगोमा नेपालगन्जमा गएर सिटी स्क्यान गराउनु परेको गुनासो सुनाउनुभयो । 

सिटी स्क्यान सञ्चालन हुन नसक्दा अस्पतालमा जडान भई सञ्चालनको तयारीमा रहेको लिन्याक मेसिन समेत सञ्चालनमा आउन सकेको छैन । करिब दुई वर्ष लगाएर जडान सम्पन्न भएको लिन्याक मेसिन सिटी स्क्यान नचल्दा सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ ।

उता, विद्युतीय उपकरण खरिदका लागि विभिन्न लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रक्रिया पूरा गर्न समय लागेको अस्पतालका कार्यकारी निर्देशक डा.साहले बताउनुभयो । उहाँले टिप्पणी उठाउने, निर्णय गर्ने, टेण्डर खोल्ने र सम्झौता प्रक्रिया पूरा गर्दा चार महिना लागेको बताउनुभयो ।

सबै प्रक्रिया पूरा गरेर अहिले अस्पताल प्रशासनले बिरामी जाँच्ने उपकरणहरू पुनः सञ्चालनका लागि ब्याट्री, युपिएसलगायतका आवश्यक विद्युतीय उपकरण खरिद गरेर आइसकेको र जडान कार्य भइरहेको बताउनुभयो ।

विद्युतीय उपकरण जडान भएलगत्तै सिटी स्क्यान र मेमोग्राफी सञ्चालनमा आउने डा. शाहले बताउनुभयो ।

२०७२ सालमा स्थानीयवासीबाट सङ्घीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरे पनि सरकारबाट दरबन्दी स्वीकृत नहुँदा करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट अस्पताल सञ्चालन हुँदै आएको छ ।

अस्पतालमा रेडियोलोजिस्ट नहुँदा अस्पताल प्रशासनले नेपालगन्जको निजी अस्पतालबाट सहयोग मागेर रेडियोलोजी सेवा सुचारु गर्दै आएको थियो ।

बिरामीको चाप र आवश्यकताका आधारमा अस्पताललाई ७० बेडबाट १०० बेड बनाउनु पर्ने, अस्पतालको वार्डहरू सञ्चालन गर्न थप एक भवन तथा चिकित्सक र कर्मचारीको आवासका लागि अर्को भवन अति आवश्यक रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताललाई आवश्यक पर्ने जनशक्तिको दरबन्दी स्वीकृतका लागि २०७२ सालदेखि नै लगातार अस्पताल प्रशासनले माग गर्दै आए पनि मन्त्रालयले बेवास्ता गर्दै आएको छ ।