• १२ असोज २०८१, शनिबार

पहिरोले कर्णाली राजमार्गको कालीकोट–जुम्लाखण्ड अवरुद्ध

blog

खोला तर्न नसकेर बिचैमा खड्किएको मिनी गाडी । तस्बिर: गोरखापत्र

प्रेमराज सिम्खडा
कालीकोट, साउन २६ गते । 
लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि राजमार्गको कालीकोट खण्ड पूरै अवरुद्ध भएको हो ।

वर्षातले जुम्लाको सिजा क्षेत्र पनि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार अन्तर जिल्लामा पर्ने राजमार्ग पनि अवरुद्ध छ भने कालीकोटको दहीखोलादेखि नाग्मसम्म पूरै सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन केसीले कालीकोट खण्डको विभिन्न ठाउँमा आएको पहिरोका कारणले राजमार्ग पूरै अवरुद्ध भएको जानकारी दिनुभयो ।

सडक विभाग र विभिन्न स्थानीय तहको सहयोगमा बिहानैदेखि प्रहरी पहिरो पन्छाउने काममा जुटेको प्रहरी प्रमुख केसीको भनाइ छ ।

कालीकोटको दहिखोला, गगनेखोला, हुल्म, गल्ली, टाकुल्ला लगायतका ठाउँमा पहिरो खसेको छ । पहिरो पन्छाउने काम जारी रहेपनि कति बेला सडक खुल्छ भनेर यकिन भन्न सक्ने अवस्था आफूलाई पनि नभएको प्रहरीको छ ।

प्रहरी जुम्ला कालीकोट खण्ड विशेष गरेर कालीकोटको पूरै एरियामा सडक अवरुद्ध भएकाले अवस्थाको यकिन गरेर मात्र यात्रा गर्न अपिल गरेको छ ।

वर्षातका कारणले खोलामा आएको बाढीले गर्दा कतिपय यातायातका साधन बिच खोलामै रोकिएका छन् । जुम्लाको हिमागाउँपालिका वडा नं ५ को बाजागडा खोलाको बाढीमा एक (फोर्स) मिनी गाडी अट्काएको छ । हिमा ५ का तारा शाही बोहोराले खोलामा आएको बाढी सबैभन्दा खतरा रहेको बताउनुभयो ।

उहाँले बाजागडा खोलामा पानीको सतह यकिन नगरेर (फोर्स) मिनी गाडी तराउन खोज्दा बिचमै खड्कीएर नजिकै रहेको एक्स्काभेटर साहेतामा गाडीको उद्धार गरिएको बताउनुभयो । वर्षात सुरु भएदेखि कर्णाली राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध हुँदै आएको छ ।