• १२ असोज २०८१, शनिबार

अर्धसत्य [कथा]

blog

“तिमी जस्ती छौ, त्यस्तो म छैन, ससाना कुरामा घर छोडेर जान्छु भन्ने ?” 

“तपाईं कस्तो हुनुहुन्छ भन्ने सबै मलाई थाहा भइसक्यो,” नम्रता कराउँदै पल्लो कोठामा गइन् । केही बेरको शान्तिपछि पल्लो कोठाबाट सुँक्क सुँक्कको आवाज आयो । नमनले उनी भएको ठाउँमा गएर फकाउँदै भने, “तिमी पढेलेखेकी र केही बुद्धि पनि भएकी नारी होऊ । रुने काम कमजोर व्यक्तिको हुन्छ, तिमीलाई के कुरामा चित्त बुझेन मलाई भन, म सहयोग गर्छु ।” नम्रतालाई झन् रिस उठ्यो । “हजुरको बानी देखेर म वाक्क भइसकेँ । चिसो तौलिया सोफामाथि राखेको छ । बाहिर लगेर सुकाउने होइन, कपडा जहाँ पायो त्यहीँ फालेको छ । चिया वा पानी खाएको गिलास त्यहीँ छोडेको छ, सन्तान नहुँदा यो हालत छ, भोलि केटाकेटीले बाबुको यही कुरा सिकेर मलाई दुःख दिँदैनन् ? मलाई अब सँगै बस्नु छैन,” नम्रताले अन्तिम अस्त्र प्रहार गरिन् । नमनले एक गिलास चिसो पानी ल्याएर खान दिँदै भने, “शान्त होऊ । रिस नगर । यहाँ जागिर गर्छौ र ? स्वतन्त्र छौ । बिहान बेलुकी पकाएर खाने खुवाउनेबाहेक तिमीले के गरेकी छौ ? मसँग डिभोर्स लिएर माइत बस्दा तिम्रो के हालत हुन्छ सोचेकी छौ ? माइतीले के भन्छन् थाहा छ ? बिहे नगर्दासम्म चेली माइतकी प्यारी हुन्छे । तिम्रो रिस नाकको टुप्पामा छ । त्यसैले छिट्टै रिसाएर जे मनमा आयो, त्यही बोल्छ्यौ । घर छोड्छु, डिभोर्स दिन्छु भन्ने कुरा बिहे भएकी नारीले भन्नै नहुने कुरा हुन् । आज र भोलि शान्त भएर सोच, अहिलेका तिम्रा भनाइ र गराइ दुवै नराम्रा कुरा हुन् । तिम्रा कोही राम्रा मान्छे छन् र तिनले तिम्रो हित चाहन्छन् भने सल्लाह माग । त्यसपछि तिमीलाई जे ठिक लाग्छ त्यही गर,” यति भनेर नमन जुरुक्क उठे । बाहिर जाने कपडा लगाएर निस्किए । 

यी दुई जनाको बिहे भएको दुई/चार महिना मात्र भएको थियो । नमन राजधानीमा जन्मी राम्रो पढेर निजामती सेवामा अधिकृत थिए । स्वस्थ शरीर, हँसिलो अनुहार, पढ्न र गीत गाउन खोज्ने उनको स्वभाव थियो । पटर पटर बोल्ने, दुब्ली, रोगी जस्ती देखिने, पढाइमा कमजोर तर म राम्री छु र सबै कुरा जान्छु भन्ने घमण्ड पालेकी थिइन् नम्रताले । उनलाई मैले धेरै पढेकी छु भन्ने भ्रम पनि थियो । त्यसैले दुवैमा ठ्याक मिल्दैनथ्यो । माइतमा पुलपुल्याएकी हुनाले उनको मिजासिलो बानी पनि थिएन । श्रीमान् गएपछि नम्रताले धेरै बेर घोरिएर सोचिन् । दिदीलाई फोन गरेर सल्लाह मागिन् । उनले “त्यति पढेकी राम्री छौ, छोडिदेऊ त्यो घर । यहीँ आऊ र मसँग बस” भन्दै अरू धेरै कुरा गरिन् ।

केही दिनमा कुरा थामथुम र सामसुम भयो । केही वर्षमा छोरो जन्मियो, त्यसपछि छोरी । अहिले तिनीहरू पाँच र दुई वर्षका छन् । सासूको मुख हेर्न मन नपराउने बुहारी आफ्ना सन्तान सासूकै जिम्मामा छाडेर कार्यालय जान थालिन् । सासूले छोरो पाएर एक्लै हुर्काउँदा कति गाह्रो प¥यो होला भन्ने सोच्न थालेकी थिइन् । आफ्ना  श्रीमान्ले  बिहे भएर सन्तान जन्मेपछि नारीले अर्को बिहे गरेर सुख हुन्छ भन्ने नसोच्न, छोडपत्र दिने कुरा नगर्नू भनेको अर्थ बल्ल बुझ्न थालिन् । उनलाई आफूले भनेका र गरेका कामको पछुतो हुन थालेको थियो । श्रीमान् र सासूहरूसँग मैले माफी माग्नु पर्छ भन्ने सोच्दै थिइन् ।  कार्यालयका साथीहरूले तेरो घरपरिवार कति राम्रो । त्यस्तो त भाग्यले मात्र पाइन्छ भन्दा उनलाई हो जस्तो लाग्न थालेको थियो । त्यसैले अचेल माइततिर पनि घरपरिवार धेरै राम्रा छन्, मैले नबुझेर रहेछ भन्न थालेकी थिइन् ।

एक दिन बिहान सासूआमाले “केही महिना म र ससुरा तीर्थयात्रामा जान्छौँ । घर राम्ररी समालेर बसे” भनिन् । त्यही दिन बेलुका कार्यालय गएका नमन घर आएनन् । कार्यालयमा श्रीमान्लाई कामको धेरै चाप छ भन्ने उनले जानेकी थिइन् । भोलि आउँछन् होला भन्ने सोचिन् । फोन गर्दा मोबाइलले स्विच अफ छ भनेको थियो । अर्को दिन बिहानै सासूससुरा ट्याक्सी बोलाएर गए । उनी हेरेको हे¥यै भइन् । बैठककोठामा आएर सोफामा थ्याच्च बसिन् र घोरिइन् । अब छोरालाई स्कुल कसले पु¥याउने, ल्याउने ? उसलाई खाजा कसले बनाइदिने ? छोरी कसले हेरिदिने ? यी कुराले उनलाई छटपटी हुन थाल्यो । यी सबै काम घरमा सासूससुरा हुँदा सजिलै भएका जस्तो लाग्थ्यो, उनले संयुक्त परिवारको महत्व बुझ्न थाल्दै थिइन् । जस्तो बिउ रोप्यो त्यस्तै फल पाइन्छ भन्दै पहिला सासूले सम्झाएको कुरा उनको घाँटीमा आएर अड्कन्थ्यो । कार्यालयमा कामको चाप थियो । उनलाई के गरूँ के नगरूँ भयो ।

घर आएको केही दिनपछि मेरो व्यवहार देखेर ससूराले “तिमी पढेर पनि किन आफूलाई सुख हुने र घर गर्ने कुरा सोच्दिनौ । नारीले बिहे भएपछि खान, लाउन र बस्न पाइन्छ भने सबै कुरा छोडेर आफ्नो घर गर्नु पर्छ । अरूको कुरा सुन्ने होइन । आफन्त र घरको कुरा नसुन्ने मानिस कि मूर्ख हो, कि आफ्नो कुभलो चाहने मान्छे हो, अरूलाई दुःख दिन खोज्नेले पछि आफैँ दुःख पाउँछ” भनेर सम्झाएका थिए । उनलाई बल्ल म जस्ती नारीलाई घरकाले कसरी सहेका होलान् भन्ने लागेको थियो । मैले यिनीहरूको भलो कहिल्यै चिताइनँ । आफूलाई जे मन लाग्छ, त्यही गरेँ । घरतिरका कसैको सहयोग मागूँ, सबैलाई भन्नु नभन्नु भनेकी छु । माइततिर भनूँ, कसैले मेरो कुरा सुन्दैनन् र मतलबी छ भनेर सहयोग गर्दैनन् । आफ्नाहरूको गति मैले सबै बुझेकी छु । आफ्ना माइतका बालाई श्रीमान् र सासूससुराका धेरै कुरा लगाउँदा पढेलेखेका शिक्षित मानिस त्यस्ता नहोलान् । तैँले बुझिनस् कि भन्दै बुझाएको उनलाई भरखरै जस्तो लाग्न थाल्यो । माइत जाऊँ, दुइटा केटाकेटी र उनीहरूको पढाइ के हुन्छ ? घर बसौँ, घर अँध्यारो लाग्न  थाल्यो । ‘बल्ल प¥यो नीरमाया माकुरी जालैमा’ भनेर सानैमा लोकगीत गाउँदै हिँडियो तर त्यसको अर्थ अहिले बुझ्दा रुन मन लाग्यो ।

नम्रताले ‘कली धपक्कै बली, कर्मको फल देखिन्छ झल्झली’ भन्दै ससुरा गुनगुनाएको सम्झन थालिन् । उनका आँखाबाट आँसुका धारा बग्न थाले । केटाकेटीले देख्लान् भनेर हत्तपत्त चुनरीको सप्कोले आँसु पुछिन् । उनी घर भित्रिएको केही महिनामा ससुराले भनेका थिए, “तिम्रो एकबर्से परीक्षणकाल हो । तिमीले सबैको मन जित्ने प्रयास गर । तिमीलाई यो घरमा केही अप्ठ्यारो हुने छैन । अरूको नसके, श्रीमान्लाई कहिल्यै पिर नपारे । नजानेको कुरा सासूलाई सोधे । उनले सबै सिकाउँछिन् ।” त्यति बेला आफ्नी बुढीलाई मान्न लगाउने । “इस्” मान्दिनँ भनेर म टिमुर्किएँ । म राम्री छु भन्ने मलाई अलिकति मनमा घमण्ड पनि थियो । त्यसैले त सहरबाट गई मलाई मागे भन्ने जस्ता कुरा सोचेँ । ससुराले “रूपकी भएर हुँदैन हुपकी हुनु पर्छ” भन्दा मैले त्यतिखेर ‘हुप भनेको गरेर खाने आत्मबल भएकी’ भन्ने केही बुझेकी नै थिइनँ । 

“आमा ! म स्कुल जाने होइन, खै खाना पकाएको ? सरहरूले अब मलाई कुट्छन्” भन्ने छोराको कुराले म झल्याँस्स भएँ । बिस्कुट दुधमा राखेर खान दिँदा छोराले खाएन । “मलाई भात चाहिन्छ” भन्यो । कर गरेपछि थोरै खायो । छोरीलाई के गरूँ भनेर सोचिरहेँ । छोरी रुन थाली । हँसिली फूलको थुँगा जस्ती रुँदा मन खिन्न भयो । उसले पनि माम मागी । कार्यालयमा फोन गरी आज आउन नसक्ने भन्दा अचानक बिदा बस्ने भनेर गाली खाएँ । बाबुआमाले गाली नगरेका छोराछोरी र श्रीमान्ले नसम्झाएकी श्रीमती तह लाग्दैनन् । तिनीहरूलाई अरूले नै झपारेर तह लगाउँछन् भन्ने कता पढेकी थिएँ । झ्वाट्ट सम्झेँ ।

श्रीमान् दुई दिनपछि अँध्यारो मुख बनाउँदै आएर सोफामा बसे । छोराछोरीले न्यास्रो मानेका रहेछन्, पितासँग झुम्मिए । नमन एकछिन उनीहरूसँग खेले । केही बेरपछि प्यास लागेको रहेछ, पानी गिलासमा सारेर खाए । म हुस्सुलाई कार्यालयबाट आउँदा सासूआमाले पानी दिन सिकाएको होस पनि रहेन । उनी मसँग केही बोलेका थिएनन् । भित्रभित्रै गुम्सिएका जस्ता देखिन्थे । पहिला खुसी भएर हँसिलो कुरा गर्ने, काममा सघाउने, मेरो पक्ष लिएर आमा, बा, बहिनीलाई सम्झाउने मान्छे अचेल मसँग मात्र किन रिसाउँछन् ? केही बोल्दैनन् । मैले केही थाहा पाइनँ । मलाई उकुसमुकुस भयो । खाना पकाएपछि छोरालाई “तेरा बालाई खान बोला” भनेँ । उनी आएर जति जे पस्की दिएको थियो, त्यो खाए । जुरुक्क उठे र चुठे । मलाई बोलिरहन पर्ने, उनी नबोलेको हुँदा मेरो पारा तात्यो । म पड्किएँ, “कार्यालयबाट कहाँ गएको हो ? केही खबर छैन । किन चाहियो खबर मन नपर्ने मान्छेको ?” उनले कडा उत्तर दिए । मलाई तिमी मन पर्दैनौ भनेर पहिला धेरै चोटि भनेकी थिएँ । त्यही दोहो¥याए होलान् भनेर म खिस्रिक्क परेँ । मेरो रिस मरेको थिएन । मैले भनेँ, “पहिला तिमीले मलाई सम्झाउँदै भनेको होइन; दोस्रो बिहे गर्ने, छोडपत्र   (डिभोर्स) दिने कुरै नगर । त्यसले सुख पाइन्न । सन्तानले पनि दुःख पाउँछन् ।” यही हो सुख । एक कल गरेर म यति दिनका लागि बाहिर गएँ भने हुँदैन । आफूलाई बुढाबुढी नभएर कस्तो सास्ती भएको छ । “मुख हेर्न नखोज्ने बुढाबुढी किन 

चाहियो ? आनन्द मानेर बस ।” म केही बोल्न सकिनँ, चुप लागेँ । उनी अर्को कोठामा गएर सुते । सुत्न खोजेको मलाई निद्रा लागेन । यसो फेसबुक हेरेको, त्यहाँ मेरो भनाइ भाइरल भएको देखेँ । पहिला नमनले सम्झाएपछि मैले फेसबुकमा ‘म दोस्रो बिहे गर्दिनँ र छोराछोरीलाई पनि बिहे गर्न दिन्नँ’ भनेर लेखेकी थिएँ । त्यही  कुरालाई बङ्ग्याएर कसैले मेरो फोटो राखी ‘...म बिहे गर्दिनँ र मेरा छोराछोरीलाई पनि बिहे गर्न दिन्नँ’ भन्ने अचेलका शिक्षित नारी लेखेर सेयर गरेको रहेछ । मानिसहरूले सबै कुरा नबुझी अर्धसत्यका आधारमा मलाई तथानाम गाली गर्दै भरर्र कमेन्ट गरेको देख्दा म त ‘बाठो खान्छ तीन बल्ड्याङ’ भने झैँ भएँ ।

  

Author

प्राडा कृष्णप्रसाद घिमिरे