• १२ असोज २०८१, शनिबार

शिक्षाको ज्योति छर्ने माइला दाइ

blog

इतिहासको दस्ताबेजीकरण वर्तमानका लागि मार्गदर्शन हो । नयाँ पुस्ताका लागि पदचाप पछ्याउने माध्यम हो तर नेपाली समाजका कैयौँ इतिहास अलिखित छन् । खोज, सोच र अन्वेषण नहुँदा कतिपय गर्विला इतिहास त्यसै हराएर गएका छन् । अग्रजहरूले समाजमा गरेका काम, सङ्घर्ष र सफलताका कथाहरू नयाँ पुस्ताले लेख्ने प्रयास नगर्दा इतिहासका डोबहरू मेटिने गरेका छन् । नेपालको समाज, राजनीति, परिवर्तनका कतिपय कालखण्डको दस्ताबेजीकरण नहुँदा, प्रचारप्रसार नहुँदा धेरै सादगी र इमानदार व्यक्तिहरू समाजमा ओझेल परेका छन् । दुर्गम र दूरदराजमा काम गरेका, उच्चकोटिको सोच भएका, बिनास्वार्थ समाज र त्यस समाजका सदस्यहरूलाई योगदान पु¥याएर कीर्तिमान बनाएका युगपुरुषहरूको योगदान विस्मृतिमा पुग्ने अवस्था हुँदा त्यसलाई स्मृतिमा ल्याउँदा त्यो उदाहरणीय र सम्मानयोग्य हुने छ । यहाँ चर्चा गर्न खोजिएको यस्तै एउटा इतिहासको हो । जहाँनियाँ राणा शासनको समयमा समेत दुर्गम पहाडी जिल्ला दोलखामा दीप बनेर समाजलाई उज्यालो दिनुभएका नन्दप्रसाद शिवाकोटीको दस्ताबेजीकरणका रूपमा आएको एक ग्रन्थको चर्चा हो । 

राणा शासनपूर्व र राणा शासनपछिको सङ्क्रमणकाल र पञ्चायती कालको पेचिलो राजनीतिक कालखण्डमा पनि दूरदराजमा बसेर शिक्षा, समाजसेवा र राजनीतिमार्फत परिवर्तनका लागि नन्दप्रसादले खेल्नुभएको भूमिकाका बारेमा ‘कर्मयोगी–नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृतिग्रन्थमा उल्लेख गरिएको छ । पुस्तकमा नन्दप्रसादले भोग्नुभएका जीवन र गर्नुभएका कर्महरूका बारेमा सविस्तार वर्णन गरिएको छ । नन्दप्रसादका समकालीन वा सो इतिहासका साक्षीसमेत रहेका, सङ्गत र सहकार्य गरेका, नजिकबाट चिनेका र बुझेका व्यक्तिहरूले खुलेर लेखेका विचार, स्मरण र अनुभूतिहरू पुस्तकमा तीन खण्डमा विभाजन गरिएको छ । इतिहासप्रति चासो राख्नेहरूले सङ्ग्रह गरेका र टिपोट गरेका कतिपय तथ्य, तथ्याङ्क र प्रसङ्गहरू पुस्तकमा समेटिएको छ । 

राणा शासनकै समय नन्दप्रसादले दोलखामा शिक्षाको ज्योति छर्ने काम गर्नुभएको, आफ्ना अग्रज तथा समकालीनहरूको साथ लिएर २००५ सालमा पाठशाला सुरु गर्दै आजको क्षमावती माध्यमिक विद्यालय खडा गरेर इतिहास रच्नुभएको थियो । शैक्षिक जागरणको मियोका रूपमा उभिएर उहाँले प्रत्येक गाउँमा माध्यमिक विद्यालय र प्रत्येक वडामा प्राथमिक विद्यालय हुनुपर्ने मान्यता राखेर विद्यालय खोल्न गर्नुभएको प्रयासलाई पुस्तकमा समावेश गरिएको छ ।

नेपाली कांग्रेसले राणा शासनविरुद्ध सुरु गरेको सशस्त्र क्रान्तिमा रणनीति एवं व्यवस्थापकीय भूमिका निर्वाह गर्नुभएका, २०१६ सालमा साबिक क्षेत्र नम्बर ११ हालको दोलखाको पार्टी सभापतिको जिम्मेवारी निर्वाह गरिसक्नुभएका, जनतामा राजनीतिक चेतना भर्ने काम गर्नुभएका र शिक्षाको चेतना जागृत गर्दै एकतन्त्रीय पञ्चायत शासनका समयमा विद्यालय शिक्षामा विशेष जोड दिनुभएका नन्दप्रसाद दोलखा मात्र नभई सिङ्गो मुलुकमा शैक्षिक एवं राजनीतिक वृत्तले सम्झिरहने पात्रका रूपमा चित्रित हुनुहुन्छ । उहाँका पारिवारिक पुस्ताले नन्दप्रसाद–जानुका फाउन्डेसन नै खडा गरेर इतिहास जोगाउने प्रयासस्वरूप २१३ पृष्ठमा स्मृति ग्रन्थ प्रकाशन गरेको छ । 

पुस्तकको पहिलो लेखस्वरूप कांग्रेसका महामन्त्री गगन थापाको विचार समावेश छ भने दोस्रो लेखका रूपमा ‘बिपीको परीक्षणमा खरो उत्रिएपछि नन्दप्रसादजी जिल्ला सभापति हुनुभयो’ भन्ने शीर्षकमा डा. शशाङ्क कोइरालाको लेख समावेश गरिएको छ । खण्ड ‘क’ भित्र थापा, कोइराला, नेत्रबहादुर बस्नेत, दुर्गाप्रसाद उप्रेती र जितवीर लामाले नन्दप्रसादको राजनीतिक पाटोलाई खोतल्ने प्रयास गर्नुभएको छ । खण्ड ‘ख’ मा व्यक्तित्व र योगदानका विषयमा २८ वटा लेख घतलाग्दो एवं जानकारीमूलक रूपमा प्रस्तुत गरिएको छ । खण्ड ‘ग’ मा तस्बिरहरू र अखबारमा छापिएका केही फिचर समावेश छ । नन्दप्रसादले राजनीतिमार्फत समाज परिवर्तनमा पु¥याउनुभएको योगदानलाई नेत्रबहादुर बस्नेतले ‘विद्यालय बचाउन राजनीतिक सम्झौता’ र दुर्गाप्रसाद उप्रेतीले ‘त्यागी हजुरबा कर्मठ नाति’, जितवीर लामाले ‘गौरवपूर्ण इतिहाससँग साक्षात्कार’, श्यामप्रसाद शिवाकोटीले ‘भाँचिन जान्ने, दोब्रिन नजान्ने पिताजी’, अजयबाबु शिवाकोटीले ‘हजुरबाको पदचाप पछ्याउने जमर्को’, गोपाल थपलियाले ‘आदर्श राजनीतिज्ञ तथा अग्लो शैक्षिक व्यक्तित्व’, मिलन तुलाधरले ‘शिक्षामा राजनीति नमिसाउने नन्दप्रसाद’, विष्णुराज शिवाकोटीले ‘बिपी र जिपीले पत्याएका माइला दाइ’, नेत्रप्रसाद शिवाकोटीले ‘नन्दप्रसाद काकाको घरमा चारतारे फहराएको क्षण’ शीर्षकका लेखहरूमा समेटिएका प्रसङ्गहरूले नेपाली राजनीतिमा त्याग, योगदान र सङ्घर्षको आवश्यकता आजका पुस्तालाई सिकाउने र झकझक्याउने प्रयास गरेको छ । लेखहरूबाट के स्पष्ट हुन्छ भने नन्दप्रसाद शिक्षासेवीका अलावा राजनीतिक व्यक्तित्व, नेपाली कांग्रेसका चर्चित नेता साथै बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेतासँग राम्रो सङ्गत भएका सादगी नेताका रूपमा परिचित हुनुहुन्थ्यो ।

आफ्नो गाउँमा २०११ सालतिर सरकारी अधिकारीहरू आएर भ्रष्टाचारजन्य गतिविधि गरेपछि उहाँले ती कर्मचारीलाई स्थानीयवासीको साथ र समर्थनमा हात बाँधेर प्रशासनलाई बुझाएको तर प्रशासनले स्याबासी दिनुको सट्टा दण्डित गरेको प्रसङ्ग उल्लेख गरिएको छ । नन्दप्रसाद राजनीति, शिक्षा, सुशासनप्रति कति प्रतिबद्ध हुनुहुन्थ्यो भन्ने उल्लिखित प्रसङ्गबाट प्रस्ट हुन्छ । सङ्गृहीत लेखहरूमा २००७ सालअगाडि कांग्रेसको सशस्त्र विद्रोहका बारेमा एवं २०१६ सालपछि नन्दप्रसादले आजीवन पार्टी सभापति भएर नेपाली कांग्रेसको बिरुवा रोपेको प्रसङ्ग निकै गर्विलो लाग्छ । प्रकाशित अन्य लेखहरू पनि ओझिला र जानकारीमूलक भएकाले नयाँ पुस्तालाई निकै उपयोगी लाग्छन् । दिवङ्गत भएको ४५ वर्षपछि उहाँको जीवनका आयामलाई पुस्तकले हरसम्भव समेट्ने प्रयास गरेको देखिन्छ । नन्दप्रसाद–जानुका फाउन्डेसनले प्रकाशन गरेको स्मृतिग्रन्थ पुस्तकलाई सङ्केत कोइराला र अजयबाबु शिवाकोटीले सम्पादन गर्नुभएको छ भने भाषा मेदनीप्रसाद भण्डारीले हेर्नुभएको छ । विशेष गरी फाउन्डेसनको स्थापना गरी आफैँ अध्यक्ष रहेर हजुरबुवाको गर्विलो र प्रशंसनीय इतिहास जोगाउन नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका अजयबाबु शिवाकोटीले प्रशस्त मेहनत गर्नुभएको स्पष्ट देख्न र अनुभूति गर्न पाइन्छ ।

Author

युवराज गौतम