• १२ असोज २०८१, शनिबार

सङ्घीय अस्पतालमा डेङ्गु उपचार निःशुल्क

blog

काठमाडौँ, साउन २५ गते । नेपाल सरकारका सङ्घीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने भएको छ । डेङ्गुको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामीको उपचार निःशुल्क हुने बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले स्वास्थ्यमन्त्रीको निर्देशनमा सङ्घीय अस्पतालमा निःशुल्क डेङ्गुको उपचार गर्ने निर्णय भएको बताउनुभयो । 

प्रवक्ता डा. बुढाथोकीले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग भएको छलफलपश्चात् डेङ्गुको उपचार निःशुल्क गर्ने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार बैठकले आआफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, डेङ्गु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने, बिरामीको उपचार व्यवस्थापन गर्ने पनि निर्णय गरेको जानकारी दिनुभयो । 

महाशाखाका अनुसार गत पुस १५ देखि हालसम्म नेपालका ७३ जिल्लामा दुई हजार ३६५ जना डेङ्गु सङ्क्रमित पुगिसकेका छन् । गत मङ्गलबार तनहुँमा ५० वर्षीय पुरुषको डेङ्गुबाट मृत्यु भएको थियो ।