• २३ पुस २०८१, मङ्गलबार

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूत एचको शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेट गर्नुहुँदै नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी। तस्बिरः उपराष्ट्रपति कार्यालय

काठमाडौँ, साउन २४ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।

भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरममा सहयोग लगायतका विषयमा छलफल भयो। 

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबिच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताउनुभयो। ‘दुई मुलुकबिच स्थापना भएको संयुक्त आर्थिक आयोग र द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र मार्फत हामीले सम्पर्क र वार्तालाई निरन्तरता दिनु आवश्यक छ’, उहाँले भन्नुभयो, ‘दुई मुलुकबिच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षमा सधैँ गतिशीलता र गुणस्तर बढाएको छ।’ 

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका धेरै क्षेत्रमा दुवै देशले मिलेर काम गर्न सक्छन्। हामीले हाम्रा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ।’

उहाँले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएको उल्लेख गर्दै विदेशी लगानीकर्तालाई सहजीकरण गर्न नेपालले उद्योग विभागमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना समेत गरेको बताउनुभयो। ‘जलविद्युत्, पर्यटन, पूर्वाधार, आइसिटी आदिमा लगानी गर्न पाकिस्तानका लगानीकर्तालाई नेपाल स्वागत गर्दछ’ उहाँले भन्नुभयो, ‘नेपाली विद्यार्थीलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (पीटीएपी) अन्तर्गत वार्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिन्छौँ।’

उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानी पर्यटकको लागि आकर्षक पर्यटकीय उत्पादन र सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै नेपालको प्राकृतिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाले धेरै ठुलो सङ्ख्यामा पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरममा सहयोगको सन्दर्भका उहाँले भन्नुभयो, ‘धेरै विषयमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण छ र हाम्रा चासोहरू बहुपक्षीय मञ्चहरूमा मिल्दाजुल्दा छन्। दुवै देशले संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन र सार्कलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आएका छन्।’

उपराष्ट्रपति यादवले दक्षिण एसियाका जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि सार्क अगाडि बढ्नु पर्ने बताउनुभयो। ‘सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपालले रोकिएको सार्क प्रक्रियालाई पुनः सुचारु गर्न हरसम्भव प्रयास गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘यस सन्दर्भमा सबै सदस्य राष्ट्रको सहयोग अत्यावश्यक छ। हामी सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहन्छौँ।’ उहाँले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी रूपमा उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्दै जलवायु परिवर्तनको प्रतिकूल प्रभावसँग लड्न दुवै देश मिलेर काम गर्नुपर्ने बताउनुभयो। 

पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानबिच घनिष्ठ सम्बन्ध रहेको र दुई मुलुक एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएको उल्लेख गर्दै सार्कमा नेपालको भूमिका सराहनीय रहेको बताउनुभयो। ‘नेपाल र पाकिस्तानबिच धेरै संयुक्त कार्य समूहहरू क्रियाशील रहँदै नेपालको पर्यटन, कृषि र ऊर्जालगायतका क्षेत्रका काम गरिरहेका छन् ’ उहाँले भन्नुभयो, ‘नेपालले हालै आयोजना गरेको लगानी सम्मेलनमा आठ पाकिस्तानी लगानीकर्ता सहभागी भएकोमा एकले नेपाल सरकारसँग लगानी सम्झौता नै गरिसकेको छ।’