पेरिस, साउन २४ गते । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काँस्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्षस्थानमा छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन् ।
दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ काँस्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ काँस्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १७ रजत र २१ काँस्यसहित ५१ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १२ स्वर्ण, १७ रजत र २० काँस्यसहित कुल ४९ पदक जितेको छ ।
पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात काँस्यसहित कुल २७ पदक जितेको छ भने जापान १२ स्वर्ण, छ रजत र १३ काँस्यसहित ३१ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र आठ काँस्यसहित कुल २७ पदक जितेको छ भने नेदरल्यान्ड्स नौ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल २० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी आठ स्वर्ण, पाँच रजत र पाँच काँस्यसहित कुल १८ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ । रासस/एएफपी