गोविन्द शर्मा
बाँके, साउन २३ गते । भेरी अस्पताल नेपालगन्जले विपन्न समुदाय, ज्येष्ठ नागरिक र लक्षित वर्गका बिरामीलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा करिब नौ हजार बिरामीले सहुलियत सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालले सामाजिक सेवा इकाईमार्फत मापदण्डमा परेका बिरामीलाई सहुलियत उपलब्ध गराउँदै आएको जनाएको छ । शाखा प्रमुख आशा पन्तका अनुसार गत आवमा ५२६ जना विपन्न व्यक्तिहरूलाई दुई करोड ८० लाख ९७ हजार ७४९ रुपियाँ विपन्न बिरामीलाई सहुलियत दिइएको जानकारी दिनुभयो । सिकलसेल, स्पाइनल, टाउको र मुटुका बिरामीले यसबाट सहयोग पाउने गरेका छन् । २१५ जना मुटुका बिरामीले मात्रै दुई करोड १५ लाखको सहुलियत प्राप्त गरेका छन् ।
यसैगरी सामाजिक सेवा इकाईमार्फत ६ हजार ३४ जनालाई सहुलियत सेवा दिइएको छ । यसरी सेवा लिनेमा तीन हजार २४२ नयाँ बिरामी र दुई हजार ७९२ जनाले दोहोर्याएर सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ । सामाजिक सेवा इकाईमार्फत ९३ लाख ७३ हजार ६९९ रुपियाँ सहुलियत दिइएको छ । ज्येष्ठ नागरिकतर्फ एक हजार ९६ जना नयाँ र एक हजार ३२७ ले दोहोर्याएर गरी दुई हजार ४२३ जनाले सहुलियत सेवा प्राप्त गर्नुभएको छ । जेरियट्रिकतर्फ ३५ लाख ८५ हजार ७०५ रुपियाँको सहुलियत दिइएको छ ।
भेरी अस्पतालमा मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्युरो लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । विभिन्न जटिल खालका शल्यक्रिया समेत यहाँ हुँदै आएको छ ।
यस अस्पतालमा लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तर प्रदेशबाट समेत बिरामीहरू सेवा लिन आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिनुभयो । भेरीमा बढ्दो बिरामीको चाप बढेकाले थप भौतिक पूर्वाधार सहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको अस्पतालले जनाएको छ ।