• १२ असोज २०८१, शनिबार

वराह जयन्ती मनाइयो

blog

वराहक्षेत्र मन्दिरमा वराह भगवानको बिशेष पूजा अर्चना गरिँदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, साउन २३ गते । वराह भगवानको जन्म जयन्ती मनाइएको छ । वराहक्षेत्र १ स्थित कोकाह कौशीकीको सङ्गममा अघिल्लो दिन साँझ महाआरती गरी आज वराह जयन्तीको मङ्गल यात्रा र उत्सव गर्दै भगवान् वराहको जन्म उत्सव मनाइएको हो ।

श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि अर्थात् आजकै दिन भगवान् वराहको उत्पत्ति भएको मानिन्छ । वराह भगवानको उत्पत्ति भएको दिनको अवसरमा वराहक्षेत्र मन्दिरमा प्रातकालीन भगवानको स्नान यात्रा, दुग्ध अभिषेक र विशेष पूजा अर्चना गरी मनाइएको छ । भेला भएका भक्तजनहरूले वराह भगवानको अर्चना गरी भगवानप्रतिको भक्तिभाव दर्साएका छन् । 

नेपालका ऐतिहासिक महत्त्व बोकेको धार्मिक क्षेत्रमध्ये वराहक्षेत्र धाम पनि एक हो । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको बराह भगवान् विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् बराहले जङ्गली जनावरको रूप धारण गरी बँदेलको भेषमा रक्षा गरी संसारभरका प्राणीहरूको रक्षा गरी संसारलाई स्थायित्व दिएको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ । 

मन्दिरमा गीता पाठ, बराह चरित्र पाठ, बराह भगवानको अर्चनासहित विशेष पूजा गरेर भगवान् बराहको जन्म उत्सव मनाइएको छ । प्रेमको प्रतीक समेत मानिने भगवान् वराहको जन्म जयन्तीको दिन ह्श्गवानको नाममा व्रत बस्ने, भगवानको आराधन र अर्चना गरे मनोकामना पुरा हुने जनविश्वास रहिआएको बताइन्छ । 

हिन्दु धर्मावलम्वीहरुले आजको दिन व्रत बसेर भगवान् बराहको पूजा गर्ने प्रचलन रहेको छ । श्रद्धालु भक्तजनहरूले आज व्रत बसेर पूजा गरे आफ्ना मनोकामनाहरू पुरा हुने विश्वासका साथ भक्तजनहरू शरीर शुद्ध गरेर उपवासना बस्ने गरेका छन् । वराह जयन्ती मनाउनलाई स्थानीयमात्र नभई टाढाटाढाबाट पनि भक्तजन आउने गरेका छन् । यसले धार्मिक पर्यटनको उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्ने उत्सवमा सहभागी हुनु भएका इटहरीबासी कृष्णविनोद लम्सालले बताउनुभयो । 

भगवान् विष्णुको १० अवतारमा पहिलो अवतार मत्स्य अर्थात् माछा, दोस्रो अवतार कूर्म अर्थात् कछुवा, तेस्रो अवतार भगवान् वराह, चौथो अवतार नृसिंह, पाँचौँ अवतार वामन, छैटौँ अवतार परशुराम, सातौँ अवतार भगवान् राम, आठौँ अवतार कृष्ण, नवौँ अवतार भगवान् बुद्ध र दशौँ अवतार कल्की रहेको ब्रह्मपुराण, वराह पुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत महिमा गाइएको छ ।  

हिन्दु धर्मका चार प्रमुख धाममध्ये एक धामको रूपमा रहेको वराहक्षेत्र मन्दिर परिसर क्षेत्रमा नौ वटा पुरातात्त्विक मूर्तिहरू रहेका छन् । गुरु वराहको मन्दिभित्र रहेको ठुलो वराहको मूर्ति र लक्ष्मी मन्दिरभित्र रहेको मूर्ति १५ सय वर्ष अगाडिका मूर्ति रहेको संस्कृतिविद् तथा प्राध्यापक डाक्टर सोम खतिवडाले बताउनुभयो । 

वराहक्षेत्रमा वराहको मूर्ति सहित लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र धर्मशालाहरू रहेका छन् । यति पुराना पौराणिक र ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको मन्दिरमा दैनिक दर्शनको लागी त्रितालुहरू आउने गरेको कुमार भट्टराई बताउनु हुन्छ । 

पौराणिक कथाअनुसार भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएको छ । धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको मन्दिरमा नेपाल, भारत, भुटान, बङ्गलादेश लगायत विश्वका विभिन्न देशबाट धार्मिक पर्यटकहरू आउने गरेका स्थानीय जन प्रतिनिधि कुमार भट्टराईले बताउनुभयो ।