• १२ असोज २०८१, शनिबार

भर्मी कम्पोष्ट मलको माग उच्च

blog

भर्मी कम्पोष्ट मल उत्पादन गरिँदै । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला
उर्लाबारी, साउन २३ गते ।
मोरङको केरावारी –९ स्थित ओसिएस स्मार्ट एग्रो फार्मले मासिक पाँच हजार किलो भर्मी कम्पोष्ट मल उत्पादन गरिरहेको छ । बजारमा माग उच्च भए पनि माग अनुसार उत्पादन गर्न नसकेको सञ्चालक समेत रहनु भएका मोरङका  सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले बताउनुभयो ।

कार्यालय बिदा हुनासाथ आफ्नो फर्ममा पुग्नु हुने सहायक प्रजिअ साहले दुई वर्ष अघि स्थानीय गणेश थापासँग साझेदारीमा एग्रो फार्म सुरु गर्नु भएको हो । साहले भन्नुभयो,  ‘‘७० लाख रुपियाँ कृषि कर्जा लिएर सुरु गरेको फर्मले पहिलो वर्ष नै आशा जगाएको छ ।  ५० हजार केजी भर्मी कम्पोष्ट मल बिक्रीको तयारीमा छौं । कृषकबाट राम्रो माग भएको छ । मासिक पाँच हजार किलो उत्पादन भइरहेको भर्मी कम्पोष्ट बजारमा पाँच किलोलाई १५० रुपियाँमा बिक्री भइरहेको छ । अहिले १५ वटा डुढमध्ये आठ वटामा भर्मी उत्पादन भइरहेको छ ।’’

माग अनुसार उत्पादन गर्न सके सबैभन्दा राम्रो आम्दानी भर्मी मलले दिने फर्मका साझेदार गणेश थापाले बताउनुभयो । थापाले भन्नुभयो, ‘‘भर्मी मल उत्पादनका लागि गोवर मलको अभाव भएको छ । त्यसैले गाईपालन बिस्तार गरेर २० वटासम्म पाल्ने तयारी भइरहेको छ । एउटा ठूलो डुढमा गोबर मल हालेर गड्यौला छोडिदिएपछि गड्यौलाले गोबरलाई खाएर दानादार मलको रुपमा बिष्ट्याउँछन् । त्यही बिष्टालाई भर्मी कम्पोष्ट मल भनिन्छ ।’’

त्यसो त साह र थापाले फर्ममा भर्मी कम्पोष्ट मात्र उत्पादन गर्नुहुुन्न । ३ बिगाहा जग्गा लिजमा लिएर सुरु गरेको फर्ममा हाल मल उत्पादनसँगै आठ सय बिरुवा ड्रयागन फ्रुट, कम्पोष्ट मलका लागि स्थानीय जातका तीन माउ गाई, १९ वटा बोयर बाख्रा, पाँच वटा बँदेल, १०÷१२ वटा खरायो, दुई सय जति हाँस, कुखुरा रहेका छन् । पहिलो लटमा ड्रयागनका २३० बिरुवा रोप्नु भएका साहले यो वर्ष मात्र पाँच लाख रुपियाँको ड्रयागन फल बेच्ने लक्ष्य रहेको बताउनुभयो ।

त्यति मात्र होइन, फर्ममा तरकारी, फूल, अम्वा, एप्पलबयर, अनार, मेवा, अंगुर, कुरिलो, टमाटरको पनि ब्यावसायिक उत्पादन भइरहेको छ ।

व्यापारीलाई बिक्री गर्दाभन्दा आफैं कृषि एम्बुलेन्स प्रयोग गरेर गाउँगाउँ डुलेर बिक्री गर्दा राम्रो आम्दानी हुने साहको बुझाइ छ ।

प्रति बिघा वार्षिक ५५/६० हजार रुपियाँ आम्दानी दिने खेत मासेर साह र गणेश थापाले कृषि फर्म खोलेपछि केरावारी–९ घङ्गरुको पहिचान बदलिएको छ । फर्म खुलेसँगै स्थानीय तीन जनाले पूर्णकालिन रोजगार पाउनु भएको छ भने आवश्यक पर्दा ज्यालादारीमा ६÷७ जनाले रोजगार पाउँछन् ।

फर्ममा शनिबार र बिदाको दिन सहायक प्रजिअ साह पुग्ने गर्नुहुन्छ । साहले भन्नुभयो, ‘‘कृषि क्षेत्रमा सम्भावना देखेर यस क्षेत्रमा प्रवेश गरेको हुँ । अरु बेला श्रीमती र साझेदार साथीले आलोपालो रेखदेख गर्नुहुन्छ ।’’ आफ्नो लगानीको सुरक्षा आफैँले नगरे कसले गर्ने उहाँले प्रचारका लागि भन्दा पनि कृषिमा कम्पोष्ट मलको प्रयोग बढाउने र दुई चार पैसा पनि कमाउने उद्देश्यले लगानी गरेको बताउनुभयो ।

फर्ममा हालसम्म एक करोड लगानी भइसकेको छ । हाल प्राप्त आम्दानी कामदारलाई तलब दिने र बचेको सबै रकम फर्म मै लगानी भइरहेको थापाको भनाइ छ । अबको वर्षदिन भित्र दूध उत्पादन सुरु हुनेछ । त्यसका लागि पूर्वाधार तयार भइरहेको छ । दूध पनि बिक्री गर्ने कम्पोष्ट मलको उत्पादन पनि दोब्बर बढाउने उद्देश्यले गाईपालन बिस्तार गर्न लागिएको थापाले बताउनुभयो ।