• १० पुस २०८१, बुधबार

व्यावसायिक रुपमा उत्पादन गरिएको ड्रागन फ्रुट (फाेटाेफिचर)

blog

हिलिहाङ ७ को बगैचामा फेलेका ड्रागन फ्रुट । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, साउन २३ गते ।
पाँचथरको हिलिहाङ ७ का किसानले लगाएको सिउडी फल पाकेर त्यहाँका बगैचा राताम्य भएका छन् । यो फल ड्रागन फ्रुट नामले चिनिन्छ ।

यहाँका फणिन्द्र रिजाल र ओमनाथ रिजालले लगायतका किसानले तीन वर्ष अघि परीक्षणका लागि लगाइएको ड्रागन फ्रुटको उत्पादन राम्रो भएपछि यसको व्यावसायिक उत्पादन गर्न थालिएको हो । जहाँ एकसय रोपनी जग्गा व्यवस्थापन गरेका छन् ।

घमाइलो, दक्षिण फर्केको जमिन र बलौटे माटोमा रमाउने यो फलको उत्पादन  दक्षिण र मध्य अमेरिकाबाट सुरु भएर नेपाल सम्मविस्तार भएको हो ।

रोपेको १५देखि १८ महिनामा उत्पादन सुरु हुने ड्रागन फ्रुटका विशेषज्ञ पूर्णप्रसाद लुइटेलले जानकारी दिनुभयो ।


एक पटक रोपेका विरुवाले २० देखि २५ वर्ष उत्पादन दिने विशेषज्ञहरु बताँउछन् । यसको उत्पादन जेठदेखि कात्तिकसम्म हुन्छ ।

३४ दिनमा फल टिप्न तयार हुने ड्रागन फ्रुटलाई हिँउदमा पानी लगाउने र वर्खामा एक–दुई पटक गोडेर मल हाल्न बाहेक अरु मेहेनेत गर्नुपर्दैन ।

पाँचथरमा पहिलो पटक उत्पादन सुरु भएको यो फलको मूल्य स्थानीय बजारमा प्रतिकिलो चारसय रुपियाँमा बिक्री भइरहेको उत्पादकहरु बताँउछन् ।

ड्रागन फ्रुट सामान्यतया रातो, सेतो र पहेलो गरी तीन प्रकारका हुन्छन् । यी ड्रागन फ्रुटको बोट एउटै भएपनि फल पाक्न थालेपछि रङ्ग परिवर्तन हुन्छन् ।