• १२ पुस २०८१, शुक्रबार

डोरीको सहारामा आउजाउ

blog

भालुखाप्चे भिरमा पहिरोले पदमार्ग बगाएपछि डोरी र घाँस समातेर आउजाउ गर्दै स्थानीय । तस्बिर : जयमान बुढामगर 

जयमान बुढामगर

रुकुमपूर्व, साउन २२ गते । सिस्ने गाउँपालिका–१ र २ सँगै पुथाउत्तरगङ्गा गाउँपालिका–७, ८, ९ र १४ का स्थानीय बाह्र दिनदेखि डोरी र घाँसको सहारामा आउजाउ गर्न बाध्य भएका छन् । यही साउन १० गतेका दिन पहिरोले पदमार्ग बगाइदिएपछि यहाँका स्थानीय डोरी र घाँसको सहारामा आउजाउ गर्न बाध्य भएका हुन् । 

पुथाउत्तरगङ्गा–१४ र सिस्ने–२ को सिमाना पर्ने भालुखाप्चे भिरस्थित पदमार्ग पहिरोले बगाएपछि यस्तो अवस्था आएको हो । भालुखाप्चेदेखि सिस्ने–२, तिपतारा गाउँसम्म आउजाउ गर्ने पदमार्ग एउटा मात्र रहेको छ । यहाँ सडक सञ्जालको पहुँच अहिलेसम्म पनि पुगेको छैन । 

भालुखाप्चे भिरदेखि तिपतारा गाउँको दुरी करिब साढे दुई किलोमिटर रहेको छ । यो खण्डको पदमार्गमा तल सानीभेरी नदी र माथि पहराको भिरैभिर भएकाले एउटा मात्र पदमार्ग रहेको छ । उक्त पहराको बिच भागबाट एउटा पदमार्ग निर्माण गरिएको छ । उक्त पदमार्ग पनि अधिकांश ठाउँमा पहरामा फलाम ठोकी काठ बिछ्याएर बनाइएको छ । 

भालुखाप्चे भिरमा पनि फलाम ठोकी काठ बिछ्याएर पदमार्ग बनाइएको थियो । साउन १० गते पहिरोले उक्त पदमार्ग बगाएपछि आउजाउ गर्न अरू वैकल्पिक बाटो नभएको सिस्ने गाउँपालिका–२ का जीवन केसीले बताउनुभयो । पहिरोले बगाएको ठाउँमै पुनः बाटो बनाउन सक्ने अवस्थाको नरहेको केसीले जानकारी दिनुभयो । माथिबाट निरन्तर पहिरो आइरहेकाले उक्त ठाउँमा बाटो निर्माण गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ रहेको छ । 

भालुखाप्चे भिरको सिधै तल सारै अप्ठ्यारो पहराको भिर छ । पदमार्ग बन्द भएदेखि दैनिक उपभोग्य सरसामान ओसारपसारका साथै बिरामी, वृद्धवृद्धा र बालबालिकालाई आउजाउ गराउन ठप्प भएको केसीले बताउनुभयो । केसीले भन्नुभयो, “पदमार्ग पहिरोले बगाएपछि जिल्लाको उत्तरी भेगका जनतालाई आउजाउ बन्द भएको सबैलाई थाहा नै छ तर सरकारी निकायबाट बाटो बनाउनेतर्फ ठोस ध्यान किन पुगेको छैन ।” 

जिल्लाको विपत् व्यवस्थापन समितिमा दक्ष जनशक्तिसहितको संयन्त्र रहेको छ तर उक्त संयन्त्रबाट बाटो निर्माण गर्नेतर्फ किन ध्यान पुगेको छैन सारै दुःखको कुरा रहेको केसीले गुनासो गर्नुभयो । बाटो निर्माण गर्नु पर्छ भन्ने कुरा सबै निकायबाट आडभरोसा त आइरहेको छ तर परिणाम निकाल्ने काममा सरकारको संयन्त्र पछि हटिरहेको केसीको भनाइ रहेको छ । 

सरकारी निकायबाट बाटो निर्माणका लागि तत्काल फिल्डमा नखटिएपछि सिस्ने–२ का स्थानीय बाटो निर्माण काममा लागेका छन् । आइतबारदेखि सिस्ने–२ का स्थानीय बाटो निर्माण कार्यमा लागेको अर्का स्थानीय खड्कबहादुर खड्काले बताउनुभयो । 

जिल्ला सदरमुकाम रुकुमकोट साथै यस आसपासका ठाउँमा आउजाउ गर्ने बाटो नै नभएको खड्काले बताउनुभयो । स्थानीय जनताले आफ्नो ज्यानको बाजी राखेर डोरी र घाँस समातेर भिरको बाटो वारपार गरिराख्नुभएको खड्काले बताउनुभयो । वारपार गर्ने क्रममा डोरी र घाँस चुँडियो भने ज्यान गुम्ने सम्भावना छ । खड्काले भन्नुभयो, “हाम्रो सुरक्षाका लागि हामी आफैँ बाटो निर्माणमा लागेका छौँ ।” पहराको भिरको कारणले बाटो निर्माणमा सारै कठिनाइ भइरहेको खड्काले बताउनुभयो । करिब चार सय मिटर पहराको भिर खनियो भने मात्र बाटो निर्माण हुने उहाँले बताउनुभयो । सारै अप्ठ्यारो भिर रहेकाले बाटो निर्माण पनि डोरीको सहायताले काम गरिरहेका छन् । 

मुख्य पदमार्ग बन्द भएपछि नियमित गर्न पहल भइरहेको सिस्ने गाउँपालिका–२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो । तत्काल र सानो बजेटले उक्त पदमार्ग नियमित गर्ने सम्भावना नरहेको खड्काले बताउनुभयो । बाटो नियमितका लागि प्राविधिक सहयोगको साथमा ठुलो बजेटको आवश्यक रहेको वडाध्यक्ष खड्काले बताउनुभयो । 

पदमार्ग अवरुद्ध भएदेखि ढुवानीका लागि खच्चड आउजाउमा बन्द भएदेखि भोकमरी हुने चिन्ता बढी रहेको वडाध्यक्ष खड्काले बताउनुभयो । नुन, तेल र चामलको अभाव हुने सम्भावना रहेको उहाँले बताउनुभयो । तत्कालै पदमार्ग नियमित गर्न नसकेमा केही दिनमा खाद्यान्न सामान अभाव हुने उहाँले जानकारी दिनुभयो । बाटो नियमितका लागि पालिका हुँदै प्रदेश र सङ्घलाई ध्यानाकर्षण गरिएको खड्काले बताउनुभयो ।  

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जिल्ला विपत् व्यवस्थापन समितिले पहल गरिरहेको बताउनुभयो । त्यस क्षेत्रको भूभाग सारै अप्ठ्यारो रहेकाले बाटो निर्माणका लागि कसरी जाने भन्ने विषयको पहिचान भइरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो । यता सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पदमार्ग नियमित गर्न पहल भइरहेको बताउनुभयो । कडा पहराको भिरैभिर भएकाले कुन उपायमार्फत बाटो खुलाउने बन्नेमा छलफल भइरहेको अध्यक्ष रेग्मीले बताउनुभयो ।