• १२ असोज २०८१, शनिबार

असुरक्षित गर्भपतनले स्वास्थ्यमा जोखिम बढ्दै

blog

दाङ, साउन  २१ गते । असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिममा बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दै गएको उनीहरुको भनाइ छ । 

आज दाङको घोराहीमा आयोजित कार्यक्रमका घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडलले असुरक्षित गर्भपतनका कारण कतिपय महिलाको ज्यानै जाने गरेको बताउनुभयो । परिवार नियोजनका साधनका रुपमा गर्भपतनलाई लिन नहुने उहाँको भनाइ थियो । 

यौन सम्पर्कका क्रममा सचेत नहुँदा अनिश्चित गर्भ रहन जाने र गर्भ बसेको थाहा पाएपछि चकटेल खाए झैँ औषधि प्रयोग गर्दा महिलाले ज्यान गुमाउनु परेको बताउनुभयो  ।  यस विषयमा सबैै गम्भीर हुनु आवश्यक रहेको बताउनुभयो । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ प्रशासक शर्मिला शर्माले अनुमति नलिएका क्लिनिकमा गएर अवैध रुपमा गर्भपतन गराउने र अनावश्यक औषधि सेवनले पनि महिलाको ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो । लुकिछिपी औषधि सेवन गर्ने र औषधिले गर्भ गएन भने औजारको प्रयोग गरी गर्भपतन गर्ने गरेको उहाँको भनाइ थियो । उहाँले सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउनुपर्नेमा जोड दिनुभयो । 

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन रीता न्यौपानेले आर्थिक वर्ष २०७८-७९ मा दुई हजार दुई सय ६२, आव २०७९-८० मा दुई हजार एक सय चार र आव २०८०-८१ मा दुई हजार पाँच सय ९३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जिल्लामा  चालु आर्थिक वर्षमा दुई सय ७७ जनाले सुरक्षित गर्भपतन गराएको  उहाँले दिनुभयो । 

औषधिबाट १२ हप्तासम्मको गर्भ सुरक्षित रुपमा गर्भपतन गराउने सुविधा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, दाङका १० वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट दक्ष चिकित्सकको प्रविधि प्रयोगबाट १२ हप्ताभन्दा बढी समयको गर्भपतन गराउने सुविधा रहेको छ ।

यसरी कानुनी रुपमै सुरक्षित गर्भपतन गराउन पाउने व्यवस्थासहित जिल्ला अस्पताल र अन्य अस्पतालमा सुविधा भए पनि जनचेतना अभावका कारण महिलाले असुरक्षित गर्भपतन गर्ने गरेका उहाँको भनाइ छ । 

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले असुरक्षित गर्भपतनकै कारण दाङमा कतिपय महिलाले ज्यान गुमाएको तथ्यहरु सार्वजनिक हुने गरेको बताउनुभयो । सुरक्षित गर्भपतनसम्बन्धी चेतना फैलाउन स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पत्रकार, शिक्षकलगायतमा सहयोग गर्न आग्रह गर्नुभयो । गर्भपतन गराउनुपर्ने बाध्यात्मक परिस्थितिमा अनुमति प्राप्त अस्पताल तथा स्वास्थ्य संस्थामा गएर सेवा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग विषेशज्ञ डा वसन्त लामिछानेले निःशुल्क साथै सुरक्षित गर्भपतन गराउन सकिन्छ भन्ने प्रावधानप्रति बेखबर रहँदा कतिपयले असुरक्षित गर्भपतन गराउन पुग्दा ज्यान गुमाउने गरेको बताउनुभयो । उहाँले सचेतनाकै कमी रहेको बताउनुभयो ।

महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । त्यसैगरी भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहने भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सकिने व्यवस्था छ ।