• ३१ भदौ २०८१, सोमबार

राखेप सदस्य सचिव रहने नरहने काममा भर पर्छ : मन्त्री चौधरी

blog

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी ।

काठमाडौँ, साउन २१ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ पदमा रहिरहने या नरहने उहाँको कामले निर्धारण गर्ने बताउनुभएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले आफूले मन्त्रालयको नेतृत्व गरेको तीन हप्ता मात्र भएकोले खेलकुदका हरेक गतिविधिलाई अनुसन्धान गरिरहेको बताउनुभयो । 

‘‘सरकार परिवर्तन हुनासाथ राखेपको सदस्य सचिव फेर्नुपर्छ भन्ने हुन्न । सदस्य सचिव पदमा रहने वा नरहने भन्ने कुरा उहाँको कामले निर्धारण गर्नेछ । मैले राखेपको कामलाई सूक्ष्म हिसाबले हेरिरहेको छु । अहिले तत्काल कसैको मूल्याङ्कन गरिहाल्ने समय भएको छैन । बिस्तारै हेर्दै जान्छु । खेलकुदमा खेलाडीको हित र भौतिक संरचनाको विकासलाई हितमा राखेर काम गर्ने हो,’’ मन्त्री चौधरीले भन्नुभयो । 

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदको विकासलाई विशेष चासो दिएकोले सोही बमोजिम सबैले काम गर्न आवश्यक रहेको पनि बताउनुभयो । ‘‘खेलकुदमा प्रधानमन्त्रीको आफ्नै प्रतिबद्धता छ । क्रिकेट खेलाडीसँग भर्खर छलफल भएको छ । तीन सय दिनमा कीर्तिपुर क्रिकेट मैदानको फर्ड लाइट सहित निर्माण सक्ने योजना छ । सोही अनुसार काम अगाडि बढाइएको छ । कीर्तिपुर मैदानका लागि त्रिवि र खेलकुदबिचको सम्झौता २०८२ सालसम्म मात्र छ । मैदान निर्माण गर्नुअघि करायौँ खर्च हुनेभएकोले त्रिविसँग नयाँ सम्झौता समेत गर्नुपर्ने आवश्यकता छ । राखेपका सदस्य सचिवलाई सोही अनुसार भनिरहेको छु । सचेत पनि गराई रहेको छु । अब उहाँ कहिलेसम्म सदस्य सचिव बन्ने हो, उहाँको कामले निर्धारण गर्नेछ,’’ मन्त्री चौधरीले भन्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘कीर्तिपुर मैदानको निर्माणका लागि यसअघि चार पटकसम्म टेन्टर खोल्दै र रद्ध गर्दै आएको कुराले भित्र भित्रै केही त्रुटि पक्कै भएको छ । फेरी पनि उही मान्छे टेन्डर हाल्न आउँछन् भन्ने मलाई लागेको छ । मैलै त्यस्ता त्रुटिको पनि खोजी गरिरहेको छु ।’’ 

मन्त्री चौधरीले विगत हेर्दा राखेप र खेलकुदबाट सन्तुष्ट हुन नसकेको पनि बताउनुभयो । ‘‘खेलकुदको ८५ प्रतिशत बजेट राखेपमा जान्छ । म आफै खेलाडीबाट आएको व्यक्ति हुँ । खेलकुद सङ्घमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको नाममा हुने राजनीति, खेलाडीको पलायन, राखेपमा ठुलो धनराशिको बेरुजु, एउटै सङ्घमा चालिस वर्षसम्म रहिरहने पदाधिकारी प्रवृत्ति उदेक लाग्दो छ । कतिपय खेल सङ्घमा त मेरो आफ्नै साथी पनि छन् । सायद विदेश जाने र केही पैसा कमाउने मोहले होला । ओलम्पिक र ठुला खेलकुदमा खेलाडीभन्दा पदाधिकारी जानु अर्को लाजमर्दो छ । म सबै पक्षलाई नियाली रहेको छु,’’ मन्त्री चौधरीले भन्नुभयो । 

उहाँले आफ्नो कार्यकालमा खेलकुदलाई नीति र ऐनले चलाउने तथा भविष्यमा खेलकुद मन्त्रालय रोज्न ठुला नेतालाई इच्छा जाग्ने खालको बताउने पनि बताउनुभयो । मन्त्री चौधरीले कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै गर्न सरकार तत्पर रहेको धारणा समेत राख्नुभयो ।