• १६ भदौ २०८१, आइतबार

सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्छ : सांसद सापकोटा

blog

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन २१ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।

सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढङ्गले डेडिकेटेड तथा ट्रङ्क लाइन बक्यौता रकम नतिरेका व्यापारीहरूसँग रहस्यमय ढङ्गले भेट गरेको जिकिर गर्नुहुँदै सो घटनाको छानबिनका लागि सरकारलाई रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभयो ।

सभापति पोखरेलले अघिल्लो सार्वजनिक लेखा समितिले सो बक्यौता रकम असुली गर्नका लागि दिएको निर्देशन विपरीत लागेकाले उनीमाथि कारबाही हुनुपर्ने उहाँको भनाइ थियो ।

‘‘अघिल्लो संसद्को सार्वजनिक लेखा समितिले एउटा उपसमिति गठन गरेर डेडिकेटेड फिडर र ट्रङ्क लाइनका बारेमा छानबिन गर्ने समिति बनाएको थियो । यसले ८ महिना लगाएर एउटा प्रतिवेदन समितिलाई दिएको थियो । यो प्रतिवेदन हामीले सहजै हेर्नसक्छौं । सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिइयोस् ।,’’ सांसद सापकोटाले भन्नुभयो, ‘‘अहिलेको सार्वजनिक लेखा समितिका सभापति रहस्यमय घटनाक्रम अगाडि बढाइराख्नुभएको छ । यसका लागि म सम्माननीय सभामुखमार्फत रुलिङ चाहन्छु । र यसका लागि सिङ्गो संसद्को ध्यानाकर्षण गराउन चाहन्छु ।’’

सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकार नेपाल विद्युत प्राधिकरणको बोर्ड सदस्यको बर्खास्तीसम्म पुग्दा कपिल आचार्य र भक्तबहादुर पुन दुई जनालाई नियम उलङ्घन गरेर सरकारले बर्खास्त गरेको छ । यो घटनाको जोडदार ढङ्गले खण्डन गर्न चाहन्छु । भर्त्सना गर्न चाहन्छु ।’’

सांसद सापकोटाले सरकारले विद्यमान नियम विपरीत प्राधिकरणका बोर्ड सदस्यहरूलाई बर्खास्त गरेको दाबी समेत गर्नुभयो ।